२६ मंसिर, काठमाडौं । पार्टीको पोलिटब्यूरो तथा स्थायी कमिटी सदस्य चयन समूहका आधारमा नगर्न एमाले अध्यक्ष केपी ओलीलाई उनकै प्यानलबाट जितेका केन्द्रीय सदस्यले सुझाव दिएका छन् ।
केन्द्रीय कमिटीको बैठक चलिरहेका बेला केन्द्रीय सदस्य सूर्य थापाले अध्यक्ष ओलीलाई ६ बुँदे सुझाव दिँदै पोलिटब्यूरो र स्थायी कमिटी सदस्य चयनमा सन्तुलन अपनाउन सुझाव दिएका हुन् ।
‘समाजमा स्थापित, लामो इतिहासको परीक्षणबाट गुज्रिएका, सक्रिय, क्षमतावान र बरिष्ठ कमरेडहरुलाई प्यानलगत भावनाभन्दा माथि उठेर पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्ने अवसरका रुपमा पोलिटब्यूरोमा सहमतिका साथ चयन गरेर अघि बढ्न अध्यक्षले ध्यान दिनुपर्छ,’ थापाले भनेका छन् ।
थापाले पोलिटब्यूरो र स्थायी कमिटीसमेत चुनावको आधारमा गठन गर्नु पार्टीको आन्तरिक एकता, हित र आजको राष्ट्रिय भूमिका तथा नयाँ नेतृत्वबाट गरिएको अपेक्षा विपरीत हुने चेतावनी दिएका छन् ।
ओलीनिकटका केही केन्द्रीय सदस्यहरुले चुनाव गराउन दबाव दिइरहेका बेला थापाको यो चेतावनीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । उनी उपाध्यक्ष बामदेव गौतम निकट मानिन्छन् ।
उनले स्थायी कमिटी गठन गर्न मधेसी तथा उत्पीडित समुदायका नेतालाई समेट्न र २१ जनासम्मको स्थायी कमिटी बनाएर भए पनि आन्तरिक एकताको सन्देश दिन ओलीलाई आग्रह गरेका छन् ।

पार्टीको प्रतिस्पर्धामा हारेका माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे र ओली पक्षका शंकर पोखरेललाई पनि स्थायी कमिटीमा ल्याउन थापाले घुमाउरो शैलीमा सुझाव दिएका छन् ।
थापाले ओलीसँग अध्यक्षमा पराजित नेता माधव नेपाललाई पहिलो बैठकबाटै तेस्रो बरियतामा नल्याएर गल्ती गरेको बताएका छन् । त्यसो गरेको भए बढी सान्दर्भिक र मर्यादित हुने उनले दिएको पत्रमा उल्लेख छ ।
थापाले केन्द्रीय नेताहरुको कार्यबिभाजन गर्दा पनि गुट र प्यानलका आधारमा नगर्न नेतृत्वलाई सुझाव दिएका छन् ।
एमालेको शुक्रबारको केन्द्रीय कमिटी बैठकमा पोलिटब्यूरो सदस्यको निर्वाचन हुने कार्यक्रम छ ।
प्रतिक्रिया 4