सुनसरी । कवि विमल गुरुङ स्मृति पुस्तकालय व्यवस्थापन समितिले ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ र जुनु रानाको कृति ‘लाहुरेनी सौन्दर्य’लाई संयुक्तरुपमा प्रदान गर्ने घोषणा गरेको छ ।
पुस्तकालय समितिका अनुसार खड्का र रानाको दुवै कृति निबन्ध संग्रह हुन् । पुरस्कार राशी नगद दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ । कृतिकार खड्का चितवनस्थित एक शैक्षिक संस्थामा प्राध्यापन गर्छन् । उनले यसअघि चार कविता संग्रह, एक आख्यान, एक निबन्ध संग्रह प्रकाशित गरिसकेका छन् । बाग्लुङ घर भएपनि हाल हङकङलाई कर्मथलो बनाएर साहित्य लेखनका सक्रिय रानाले यसअघि कविता संग्रह ‘रातो नदी’ प्रकाशित गरिसकेकी छन् ।
विमल गुरुङ कृति पुरस्कार–२०८२ कालागि स्वदेश र विदेशका लेखक, कवि साहित्यकारहरुले लेखेका नेपाली भषाका ५२ कृति प्राप्त भएका थिए । तिनै कृतिमध्ये यसअघि १० श्रेष्ठ कृति छनौट गरेको थियो ।
पुस्तकालयका अध्यक्ष पूर्णवहादुर गुरुङका अनुसार दुवै कृतिका सर्जकहरुलाई यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५ औं जन्मजयन्ती तथा, ३५ औं राष्ट्रिय कविता महोत्सवको अवसरमा पुरस्कार र ताम्रपत्र प्रदान गरिने छ ।
उक्त अवसरमा पुस्तकालयले यसअघि छनौट गरेका उत्कृष्ट १० कविता मध्येबाट विजेता तीनजनालाई पनि पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताए । कविता महोत्सवमा विमल गुरुङ स्मृति पुस्तकालयले यो वर्षको युवा प्रतिभा सम्मान राष्ट्रिय समाचार समिति (रासस) का सुनसरी प्रतिनिधि संगिता राई (स्वर्णिम) लाई प्रदान गर्ने पनि निर्णय गरेको छ ।
प्रतिक्रिया 4