Comments Add Comment

नेपालको व्यापार घाटा कम गर्न भारतले सहयोग गर्नुपर्छ : अर्थमन्त्री

Mahat

२६ मंसिर, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले भारतसँग नेपालको व्यापार घाटा नयाँ उचाईमा पुगेको उल्लेख गर्दै बढ्दो व्यापारघाटा कम गर्नका लागि भारतको ठूलो सहयोग आवश्यक रहेको बताएका छन् ।

भारतको महाराष्ट्रस्थित सिम्बोसिस इन्टरनेसनल युनिभर्सिटीद्वारा पुनेमा आयोजित इन्डियाज लुक इस्ट, एक्ट इस्ट पोलिसी सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा विशिष्ट वक्ताको रुपमा बोल्दै अर्थमन्त्री महतले सो कुरा बताएका हुन् ।

‘हामीले भारतमा एक रुपैयाँको निर्यात गछौं भने आठ रुपैयाँको आयात गछौं’ महतले भने- ‘भारतसँगको व्यापारघाटा करिब ४ अर्ब डलर अर्थात कुल गार्हस्थ्य उत्पादनको करिब २० प्रतिशत पुगेको छ ।’

अर्थमन्त्री महतले सन् १९९६ मा दुई मुलुकबीच भएको वाणिज्य सन्धिका कारण नेपालको भारतसँगको व्यापार राम्रो रहेको चर्चा गर्दै सन् २००२ मा उक्त सन्धिमा संशोधन गरी रुल्स अफ ओरिजिन र न्युनतम भ्यालु एडसम्वन्धी व्यवस्था थपिएपछि नेपालको भारत निर्यात घटेको र आयात बढेको बताए ।

छिमेकी मुलुक भएका कारण भारत नेपालको स्वाभाविक व्यापार साझेदार भएको चर्चा गर्दै महतले भने- ‘तर, यति ठूलो व्यापारघाटा दिगो बन्न सक्दैन । हामी निर्यातमा विविधिकरण गरी व्यापार घाटालाई घटाउन चाहन्छौं । तर यसमा भारतले सहयोग गर्नुपर्छ ।’

कृषि र उर्जा आर्थिक सम्वन्ध विकासका सन्दर्भमा नेपालका लागि गेम चेन्जर क्षेत्रहरु भएको चर्चा गर्दै अर्थमन्त्री महतले भारत तथा पूर्वी एसियाली मुलुकहरुमा मध्यमवर्गको उदयले नेपालले आफ्नो पर्यटकीय सम्भावनाबाट फाइदा लिन सक्ने बताए ।

गत अगस्टमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणपछि उर्जा विकासको क्षेत्रमा ऐतिहासिक प्रगति हासिल भएको महतले बताएका थिए । उनको भनाई थियो, भारतसँग विद्युत व्यापार सम्झौता सम्पन्न भएको छ भने नौ नौ सय मेगावाट क्षमताका माथिल्लो कणर्ाली र अरुण तेस्रो जस्ता ठूला विद्युत आयोजनाहरुको सञ्चालनका लागि विद्युत आयोजना विकास सम्झौता भएका छन ।

त्यस्तै, ६००० मेगावाट क्षमताको पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको अवरुद्ध भएको काम पनि अहिले अगाडि बढिसकेको छ भने तामाकोशी तेस्रो र माथिल्लो मस्र्याङदी जस्ता दुई ठूला विद्युत आयोजनाहरु पनि अगाडि बढिरहेका छन ।

सोही अवसरमा अर्थमन्त्री महतले विगत सय बर्षमा ८०० मेगावाट विद्युत उत्पादन भएको चर्चा गर्दै आगामी दश बर्षमा दशै गुणाले विद्युत उत्पादन हुने बताए । नेपालमा लगानीको वातावरण राम्रो भएको कारणले विद्युत क्षेत्रमा यी क्रान्तिकारी प्रगतिहरु सम्भव भएको र नेपालको उर्जाले भारतको ठूलो बजार प्राप्त गरेको उनको भनाई थियो ।

भारतले आफ्नो अन्तर्राष्ट्रिय महत्व बढाउन लुक इस्ट नीतिबारे छलफलका श्रृंखलाहरु सञ्चालन गरिरहेको छ र नेपालबाट उच्च महत्वका साथ विशिष्ट वक्ताको रुपमा अर्थमन्त्री डा महतलाई आमन्त्रण गरेको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त अन्तर्राष्ट्रिय सम्मेलनको अर्थमन्त्री महत र भारतका यातायातमन्त्री नितिन गड्करीले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सोही अवसरमा महतले सफलतापूर्वक सम्पन्न सार्कको १८ औं बैठक र अर्को बर्ष हुन लागेको बिमिस्टेकको बैठकले पनि यस क्षेत्रका समस्याहरुको पहिचान गरी समाधानका उपाय निकाल्ने उल्लेख गर्दै यस क्षेत्रको विकासका लागि उर्जा लगायत अन्य क्षेत्रको कनेक्टिभिटी अपरिहार्य भएको पनि बताए ।

कार्यक्रममा भारतका यातायातमन्त्री नितिन गडकरीले भारतले छिमेकसँग राम्रो सम्वन्ध स्थापित गर्न चाहेको बताएका छन् । यस क्षेत्रको विकासको लागि पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड दिँदै उनले सो अवसरमा दिल्ली काठमाडौं बससेवालाई प्रभावकारी बनाउन बढी सुविधाजनक सडक सुधार हुनुपर्ने कुरा बताए ।

दुई दिनसम्म चल्ने सो कार्यक्रममा नेपाल, भारत, बंगलादेश, श्रीलंकाका मन्त्रीहरु तथा अन्य करिब ३५ मुलुकका कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment