Comments Add Comment

एक बर्षमै थपिए २२७ होटल, एकैदिन ३६ हजारलाई सेवा

नविन अर्याल

२९ मंसिर, काठमाडौं । मुलुकको पर्यटन क्षेत्रमा आशाका संकेत देखिन थालेपछि नेपालमा होटलमा लगानी तिब्ररुपमा बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार दशैभर होटल खुल्ने लहर बढेको छ ।

असार मसान्तसम्म मुलुकभर पर्यटक स्तरीय होटल तथा लजको संख्या १७ सय ९२ पुगेको छ । यी होटलले एकै पटकमा ३६ हजार ३ सय ७१ पर्यटकलाई सेवा उपलब्ध गराउन सक्छन् ।

अघिल्लो असारको तुलनामा यस असारमा होटलको संख्या १४.५० प्रतिशत र बेड संख्या १७.७ प्रतिशतले बढेको हो । पछिल्लो समय नयाँ होटल खोल्ने र भएका होटलमा क्षमता विस्तार गर्ने क्रम बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असारसम्मको होटल तथा बेडको तथ्यांकमा देशभरिका आठ वटा शहरको अवस्था देखाइएको छ ।

तथ्यांक अनुसार काठमाडौं र बिराटनगरमा होटलको संख्या बढे पनि जनकपुरमा कुनै पनि होटल र बेड थपिएका छैनन् । वीरगञ्ज, लुम्बिनी, नेपालगञ्ज र धनगढीमा पनि होटल थपिएका छन् । पर्यटकतर्फ भने काठमाडौंमा पर्यटक बढेका छन् भने बिराटनगर क्षेत्रमा घटेका छन् । होटल नथपिए पनि जनकपुरमा पर्यटक बढेका छन् । तथ्यांकमा लुम्बिनीमा पर्यटक घटेको देखाइएको छ ।

काठमाडौं क्षेत्र

Kathmandu-Final-राष्ट्र बैंकका अनुसार काठमाडौं र आसपासका क्षेत्रमा असार मसान्तसम्म ५ सय ४० वटा होटल तथा लज सञ्चालनमा आइसकेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ९.३८ प्रतिशतले बढी हो । यी होटलहरुमा ७ हजार ९ सय १७ बेड छन् ।

गत आर्थिक वर्षमा काठमाडौंमा २ लाख ९० हजार ८ सय ९१ पर्यटक भ्रमणमा आएका छन् । जुन संख्या अघिल्लो वर्षको तुलनामा ११.१५ प्रतिशतले बढी हो । भ्रमणमा आएका पर्यटकमध्ये भारतीय ६६ हजार ९ सय ५ रहेका छन् भने तेस्रो मुलुकका २ लाख २३ हजार ९ सय ८६ रहेका छन् ।

Biratnagar-Finalबिराटनगर क्षेत्र

बिराटनगर र आसपासको क्षेत्रमा असार मसान्तसम्म ९७ वटा होटल तथा लज सञ्चालनमा आएका छन् । गत आर्थिक वर्षमा यस क्षेत्रमा ७ वटा होटल तथा लज बढेका छन् । यी होटलहरुमा १ हजार ८ सय ४९ बेड छन् ।

यस क्षेत्रमा गत आर्थिक वर्ष भ्रमणमा आउने पर्यटक ०.५० प्रतिशतले घटेका छन् । यस अवधिमा ४९ हजार ६ सय ७ पर्यटक विराटनगर क्षेत्रमा पुगेका छन् । जसमध्ये भारतीय ४० हजार ३ सय १३ र तेस्रो मुलुकका ९ हजार ४७ छन् ।

Janakpur-Finalजनकपुर क्षेत्र

असारसम्म जनकपुर क्षेत्रमा ४३ वटा होटल तथा लज सञ्चालनमा आएका छन् । गत आर्थिक वर्षमा यहाँ एउटा होटल पनि थपिएका छैनन् । यहाँ सञ्चालित होटलमा १२ सय ७५ जनाले एकै दिन रात बिताउन सक्छन् ।

होटल तथा लजको संख्या नबढे पनि यस क्षेत्रमा भ्रमणमा आउने पर्यटकको संख्या पनि ६३.६२ प्रतिशतले बढेको छ । गत वर्ष ४८ हजार ४ सय ९५ पर्यटक यस क्षेत्रमा पुगेका छन् । जसमध्ये ४५ हजार ५ सय ९० भारतीय रहेका छन् भने २ हजार ९ सय ५ तेस्रो मुलुकका रहेका छन् ।

Birgunj-Finalवीरगञ्ज क्षेत्र

यस क्षेत्रमा होटलको संख्या ३ सय ४६ पुगेका छन् । जहाँ १० हजार ३ सय ३१ जनाले एकै दिन रात बिताउन सक्छन् । अघिल्लो वर्षको तुलनामा गत वर्ष होटल तथा लजको संख्या १९.३१ र बेड संख्या १८.४१ प्रतिशतले बढेको छ ।

गत वर्षको तुलनामा यहाँ भ्रमणमा जाने पर्यटकको संख्या पनि १४.८८ प्रतिशतले बढेका छन् । १ लाख ७८ हजार ५ सय ७ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा ४७ हजार ९ सय ७ भारतीय र १ लाख ३० हजार ६ सय विदेशी पर्यटक रहेका छन् ।

Pokhara-Finalपोखरा क्षेत्र

गत वर्ष यस क्षेत्रमा होटल तथा लजको संख्या १२.५० प्रतिशतले बढेको छ । असार मसान्तसम्म यहाँ ५ सय १३ होटल तथा लज सञ्चालनमा आएका छन् । जसमा ९ हजार ७ सय ६३ बेडसंख्या रहेका छन् ।

होटल तथा लजको संख्या बढे पनि गत वर्ष यहाँ भ्रमणमा जाने पर्यटक भने ६६.३७ प्रतिशतले घटेका छन् । यस अवधिमा पोखरा क्षेत्रमा १ लाख ७३ हजार २ सय ७ पर्यटक पुगेका छन् ।

पोखरा भ्रमणमा जाने पर्यटकमध्ये भारतीयको संख्या १२० प्रतिशतले बढेको छ भने तेस्रो मुलुकका पर्यटकको संख्या ६६.५१ प्रतिशतले घटेको छ । गत वर्ष पोखरा क्षेत्रमा ४ सय ८ जना भारतीय पर्यटक पुगेका थिए भने १ लाख ७२ हजार ७ सय ९९ तेस्रो मुलुकका पर्यटक पुगेका थिए ।

Lumbini-FInalलुम्बिनी क्षेत्र

यस क्षेत्रमा असार मसान्तसम्म २९ होटल तथा लज सञ्चालनमा आएका छन् जसमा ११ सय ५० बेड छन् । अघिल्लो असारमा यहाँ २२ होटल सञ्चालनमा थिए ।

लुम्बिनी क्षेत्रमा भ्रमणमा जाने पर्यटकको संख्या पनि २७.२९ प्रतिशतले घटेको छ । गत वर्ष यस क्षेत्रमा १ लाख ९ हजार ५ सय ८ पर्यटक पुगेकोमा २ हजार १ सय ३० भारतीय र १ लाख ७ हजार ३ सय ७८ तेस्रो मुलुकका छन् ।

Nepalgunj-Finalनेपालगञ्ज क्षेत्र

यस क्षेत्रमा असार मसान्तसम्म २ सय ३ होटल तथा लज सञ्चालनमा आएका छन् । यी होटल तथा लजमा ३ हजार २ सय ४२ जनाले रात बिताउन सक्छन् ।

गत वर्ष यस क्षेत्रको भ्रमण गर्ने पर्यटकको संख्या पनि २.८३ प्रतिशतले बढेको छ । सो अवधिमा २३ हजार ३ सय ३४ पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा २१ हजार ६ सय ८१ भारतीय र १ हजार ६ सय ५३ तेस्रो मुलुकका रहेका छन् ।

Dhangadhi-Finalधनगढी क्षेत्र

यस क्षेत्रमा असारसम्म २१ होटल सञ्चालनमा रहेका छन् । जहाँ ८ सय ४४ वटा बेड रहेका छन् । गत वर्ष पर्यटकको संख्या भने ५७.८८ प्रतिशतले बढेर १२ हजार ५ सय २ पुगेका छन् ।

जसमध्ये ८ हजार २ सय ३१ भारतीय पर्यटक छन् भने ४ हजार २ सय ७१ तेस्रो मुलुकका पर्यटक छन् ।

पर्यटक र होटलको असन्तुलन

असार मसान्तसम्म मुलुकभर पर्यटक स्तरीय होटल र लजको संख्या १७ सय ९२ पुगेको छ । यी होटल र लजले एकै पटकमा ३६ हजार ३ सय ७१ पर्यटकलाई सेवा उपलब्ध गराउन सक्छन् । अघिल्लो असारको तुलनामा यस असारमा होटलको संख्या १४.५० प्रतिशत र बेड संख्या १७.७ प्रतिशतले बढेको हो । पछिल्लो समय नयाँ होटल खोल्ने र भएका होटलमा क्षमता विस्तार गर्ने क्रम बढ्दो छ । यद्यपि कतिपय सहरमा पर्यटकको आगमन घटेको छ ।

राष्ट्र बैंकले मुलुकलाई काठमाडौं, बिराटनगर, बीरगञ्ज, जनकपुर, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी गरी ६ क्षेत्रमा विभाजन गरेर तथ्यांक संकलन गर्ने गर्छ ।

समग्र देशभरिको तथ्यांकका आधारमा विश्लेषण गर्दा सामान्य पर्यटक स्तरीय होटलदेखि पाँचतारे होटलसम्मले पर्यटनमा सुनौलो भविश्य देख्दै क्षमता विस्तारमा लागेका हुन् । तर, व्यवसायीको अपेक्षा विपरीत नेपाल भित्रने पर्यटकको संख्या भने घट्दो क्रममा रहेको छ ।

कतिपय होटलहरु भने विदेशी पर्यटकभन्दा पनि आन्तरिक पर्यटकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको व्यवसायीहरु बताउँछन् । पछिल्लो समय विदेशीभन्दा स्वदेशी पर्यटकको भर पर्न थालेको होटल ल्याण्डमार्कका सञ्चालक सीएन पाण्डेको भनाइ छ ।

नेपालीहरुको आर्थिक अवस्थामा विस्तारै सुधार हुँदै गएको र पश्चिमाको सिको गर्दै घुमफिर तथा खानपिनमा समय दिन थालेको होटल व्यवसायीको अनुभव छ ।

त्यसो त अन्तर्राष्ट्रिय ख्यातिप्राप्त चेन होटलहरुले आफै मार्केटिङ गरेर पर्यटक भित्राउने लक्ष्यसहित ठूला होटलमा लगानी गर्ने घोषणा समेत गरेका छन् ।

अमेरिकी स्टार उडको अलफ्ट , सेराटन  र मेरियट ब्रान्डले काठमाडौंको ठमेलमा पाँचतारे लक्जरी होटल निर्माण गर्ने तयारी गरेका छन् । त्रिभुवन विमानस्थल वरिपरि पनि होटल निर्माण कार्य बढिरहेको छ । कतिपय सञ्चालनमा रहेका तारे होटलहरुले राजधानी बाहिर होटल विस्तारको घोषणा गरिरहेका छन् ।

पोखरामा मात्रै करिव ३ अर्ब रुपैयाँ लगानीमा  ३० भन्दा बढी स्तरीय होटलहरु सञ्चालनमा आउने तयारीमा छन् । साना होटलको संख्या उति नै मात्रामा रहेको पश्चिमाञ्चल होटल व्यवसायी संघले जनाएको छ ।

त्यसैगरी साैराहा, लुम्विनी, नेपालगञ्ज, बर्दिया, धनगढीलगायत हिमाली जिल्लामा पनि पर्यटकलाई लक्षित गर्दै होटल खोल्ने प्रतिस्पर्धा देखिन्छ ।

अबको केही वर्षमा मुलुकभरका पर्यटकीय गन्तव्यमा होटल खुलिसक्ने पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेको भनाइ छ ।

होटलमा लगानीको अवस्था हेर्दा आगामी दिनमा बेड संख्या बढ्ने देखिन्छ । तर, पर्यटक बढाउनेतर्फ भने त्यति उत्साहजनक काम हुन नसकेको बताउँछन् पाटा अध्यक्ष पाण्डे ।

अघिल्लो असारसम्म मुलुकमा १५ सय ६५ वटा होटलहरु सञ्चालनमा रहेका थिए, जुन होटलमा ३१ हजार १४ जना पर्यटकले रात बिताउन सक्थे ।

एक वर्षकै अन्तरालमा मुलुकभर २ सय २७ वटा होटल तथा लज खुलेका छन् । ती होटल र लजमा ५ हजार ३ सय ५७ बेड क्षमता रहेको छ ।

मुलुकको पर्यटन विकासको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्ड अहिले भ्रष्ट्राचार र बेथितिमा गुज्रिएको व्यवसायी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment