३ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालको बैंकिङ क्षेत्रलाई ‘युनिभर्सल बैंकिङ प्रणाली’मा लैजाने तयारी गरिरहेको छ ।
यस्तो प्रणालीमा लागू भएमा बैंक तथा वित्तीय संस्थाको बर्गिकरण हटाइने छ भने बिकास बैंक र फाइनान्स कम्पनीले पनि आफ्नो नामको पछाडि ‘बैंक’ लेख्न पाउनेछन् ।
‘पूँजीका आधारमा बित्तिय संस्थाको कारोबार क्षेत्र तोकिन्छ’ राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. मिनबहादुर श्रेष्ठले अनलाईनखबरसँग भने-‘तर, सवै वित्तीय संस्थाले बैंक लेख्न पाउँछन् ।’
हाल बैंक तथा वित्तीय संस्था क, ख, ग र घ गरी चार वर्गमा विभाजित छन । जसअनुसार ‘क’लाई वाणिज्य बैंक, ‘ख’लाई विकास बैंक, ‘ग’लाई फाइनान्स कम्पनी र ‘घ’लाई लघुवित्त विकास बैंकमा वर्गिकरण गरिएको छ ।
विकास बैंकहरुको छाता संगठन ‘डेभलपमेन्ट बैंकर्स एसोसिएसन’ र वित्त कम्पनीहरुको छाता संगठन ‘वित्त कम्पनी संघ’ले विद्यमान वर्गिकरणमा असन्तुष्टि जनाउँदै आएका छन । सबै संस्थाले बैंक मात्रै लेख्न पाउनुपर्ने उनीहरुको माग छ ।
राष्ट्र बैंकले वित्तीय क्षेत्र विकास रणनीतिको मस्यौदा तयार गर्न सरोकारवालाहरुसँग छलफल थालेको हो । राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठ मस्यौदा समितिका संयोजक छन् ।
वित्तीय क्षेत्र विकास रणनीति अर्थमन्त्री अध्यक्ष रहेको उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको इकाइ हो । उक्त इकाइको संयोजन राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर गोपालप्रसाद काफ्ले हुन ।
वित्तीय क्षेत्र अन्तर्गत बैंकिङ क्षेत्र, पुँजी बजार, बीमा, सहकारी र गैर बैंकिङ क्षेत्र (नागरीक लगानी कोष, कर्मचारी सञ्चय कोष, कमोडिटि मार्केट र ढुकुटीलगायत) समेटिएको छ ।
रणनीतिको मस्यौदा तयार गर्न विश्व बैंकले पनि सहयोग गरेको छ । विश्व बैंकको तर्फबाट राष्ट्र बैंकका निवर्तमान प्रवक्ता भाष्करमणि ज्ञावाली र लक्ष्मी बैंकका पूर्वसीइओ सुमन जोशी परामर्शदाता छन् ।
यस्तो बन्दै छ रणनीति
रणनीतिको मस्यौदा वित्तीय क्षेत्रले कसरी देशको कूल ग्राहस्थ उत्पादन (जीडीपी)मा बढीभन्दा बढी योगदान दिनसक्न भन्नेमा केन्दि्रत रहने संयोजक श्रेष्ठले बताए ।
विगतमा वित्तिय क्षेत्रको व्यापक विस्तार भए पनि त्यसले जीडीपीमा उल्लेख्य योगदान दिन नसकेको सरकारको निष्कर्ष छ । त्यसैले आगामी दिनमा दिगो विकाससँगै आर्थिक विकासको मूख्य सारथीकारुपमा यो क्षेत्रलाई अघि बढाउने रणनीति तयार गर्न लागिएको हो ।
‘विगतमा वित्तिय क्षेत्रको पर्याप्त विकास हुँदा पनि देशको आर्थिक विकासमा यसको योगदान सन्तोषजनक रहेन’ उनले भने-त्यसैले रणनीति वित्तिय क्षेत्रलाई कसरी आर्थिक विकासमा लगाउने भन्नेमा केन्द्रित रहने छ ।’
आगामी केही हप्तामा रणनीतिको मस्यौदा तयार हुने श्रेष्ठले बताए । पहिलो चरणमा राष्ट्र बैंकका उच्च अधिकारीहरु, पूर्व सञ्चालक, पूर्व गभर्नरहरुसँग छलफल भइसकेको उनले जानकारी दिए ।
‘बैंकरहरुसँग छलफलको तयारी भइरहेको छ’ श्रेष्ठले भने ।
रणनीतिमा आगामी पाँच वर्षमा कति नेपालीलाई बैंकिङ पहुँचभित्र ल्याउने, कुन-कुन क्षेत्रमा लगानी बढाउने, बैंकका प्रतिशाखा र एटिएमले कति ग्राहकलाई सेवा दिनुपर्ने, वित्तिय सेवा विस्तारका लागि के-कस्ता औजारको प्रयोग गर्नेलगायतका रणनीति तय गरिने श्रेष्ठले जानकारी दिए ।
संस्थाहरुको नेटवर्थ बढाउने र संख्या घटाउनेमा पनि रणनीति केन्द्रित रहने छ । हाल ३० वाणिज्य बैंक, ८० विकास बैंक, ५१ वित्त कम्पनी र ३७ वटा लघुवित्त विकास बैंक सञ्चालनमा छन ।
प्रतिक्रिया 4