Comments Add Comment

शितलहरले दलित बस्तीमा ज्यानै जाने त्रास

गौतम श्रेष्ठ
८ पुस, रौतहट । जाडो बढ्दै गएपछि रौतहट लगायत तराईका जिल्लाको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने चिसो हावा र शितलहरका कारण गरिव तथा दलित समुदायको दैनिकी कष्टकर भएको छ । चिसोले बालबालिका र जेष्ठ नागरिक बढि प्रभावित भएका छन् ।

Rautahatचिसोले काम गर्न नसक्ने स्थिति भएपछि दैनिक ज्याला र मजदुरी गरेर जीवन धान्नेहरु चिन्तित भएका छन् । न्यानो कपडा र पर्याप्त आहारको कमीका कारण चिसोबाट मरिने हो की भन्ने चिन्ताले गरीब, दलित बस्तीका स्थानीय त्रशित भएका छन् । रौतहटको अधिकांश मुसहर, चमार र ढाङ्गर बस्ती चिसोले प्रभावित भएका छन् ।

‘जाडो धेरै बढेको छ । आङ ढाक्ने लुगा पनि छैन, यसपटक फेरी कति जना मर्ने हुन्,’ गौर १२ ढाङ्गर टोलकी पार्वती देवीले भनिन्, ‘अहिलेसम्म कसैले केही सहयोग गरेको छैन, ओढ्ने ओछयाउने नहुँदा समस्या छ ।’ उनले आफूहरुलाई न्याना कपडाको व्यवस्था गरिदिन माग गरिन् ।

विकास र आधुनिकता भन्दा निकै टाढा रहेका यी गरिब बस्तीमा कठ्यांग्रिने चिसोबाट बँच्न पात, पतिङ्गर र पराल बालेर आगो ताप्नु बाहेक अरु विकल्प छैन । राति सुत्दा पनि अगेनाको छेउँमा आगो बालेर सुत्ने गरेको स्थानियले बताए ।

गत वर्ष रौतहटमा चिसो कै कारण २३ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क छ । चिसो बढे पनि अहिलेसम्म जिल्ला दैवी प्रकोप उद्धार समिति रौतहटले राहतका काम गरेको छैन ।

समितिका अध्यक्ष समेत रहेका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले राहत स्वरुप केही कम्बलहरु संकलन भएको र रेडक्रस मार्फत लक्षितवर्ग पहिचान गरी केही दिनमै वितरण गर्ने तयारी भइरहेको बताए ।

साथै चोक तथा भिडभाड हुने स्थानमा आगो बालेर ताप्ने व्यवस्था मिलाउन नगरपालिकालाई समेत निर्देशन दिइएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment