Comments Add Comment

कांग्रेस-एमालेले नै एकल जातीय प्रदेश बनाउँछन् : प्रचण्ड

Prachanda-650

अरुण बराल/राजकुमार श्रेष्ठ

१३ पुस, काठमाडौं । फेसबुक र टि्वटरमा एमाओवादी अध्यक्ष प्रचण्डको ‘जातीय नीति’बारे निकै कडा आलोचना हुने गरेको छ । आपसमा मिलेर बसेका जातजातिलाई प्रचण्डले फुटाएको, जातीय राज्य बनाउन खोजेको र देशमा विखण्डनको बिऊ रोप्न खोजेको जस्ता आरोपहरु प्रचण्डमाथि लगाइने गरेको छ ।

फेसबुक र टि्वटरमा उठेका यस्ता प्रश्नहरु प्रिन्ट गरेर अनलाइनखबरले लाजिम्पाटमा प्रचण्डलाई सुनाउँदा उनी मुसुक्क हाँसे । जातजातिसम्बन्धी तपाईले गर्न खोजेको के हो ? यो प्रश्नमा प्रचण्डले जातजातिलाई आफूले फुटाउन हैन, मिलाउन र एकतावद्ध बनाउन खोजेको तर्क गरे ।

एमाओवादीले एकल जातीय राज्य नमागेको भन्दै प्रचण्डले बरु कांग्रेस र एमालेले चाँहि एकल जातीय प्रदेश बनाउन लागेको दाबी गरे ।

सम्बन्धित क्षेत्रमा बसोबास गर्ने जनताले मान्छन् भने ६ वटा प्रदेश बनाए पनि आफूहरुलाई आपत्ति नहुने उनले स्पष्ट पारे ।

फेसबुकमा सोधिएका जातीयता र प्रदेशसम्बन्धी सैयौं प्रश्नको एकमुष्ट जवाफ दिँदै प्रचण्डले भने- ‘मैले जातिहरुवीच एकता गराउन खोजेको हुँ, तर, यहाँ त जो चोर उसैको ठूलो स्वर जस्तो भयो । चोरलाई चौतारो, साधुलाई सुली भनेजस्तो भयो नेपालमा ।’

जातजाति र प्रदेशबारे समाजिक सञ्जालमा सोधिएका प्रश्नबारे प्रचण्डको विश्लेषणात्मक जवाफ यस्तो छः

प्रचण्डलाई बदनाम गराउने कोशिस गरिँदैछ

यतिबेला नेपालको राजनीतिमा सबैभन्दा ठूलो भ्रम परेको सबैभन्दा अस्पष्टता भएको प्रश्न जातीय प्रश्न नै हुन गएको छ । एकले अर्कालाई आरोप-प्रत्यारोप गर्ने प्रश्न पनि जातीय प्रश्न नै बनाइएको छ ।

त्यसकारण यो प्रश्नलाई जुन रुपमा प्रचार भएको छ, त्यसबाट अझ जातीय प्रश्न, सांस्कृतिक, भाषिक प्रश्नसँग जोडेर एमाओवादी र त्यसको नेतृत्वको हैसियतले मलाई ‘भल्गराइज्ड’ गर्ने विकृत रुपले देखाउने प्रयत्न पनि सबैभन्दा बढी भएको छ ।

एउटा त नेपालमा लामो समयदेखि शासन गरेको वर्गले यस्तो प्रचार गरेको छ । त्यो वर्गले सचेत रुपले प्रचण्डलाई बदनाम गर्ने सबैभन्दा राम्रो माध्यम यही जातीय प्रश्नमा भनिदिएपछि मानिसहरुको भावना भडि्कन्छ र प्रचण्डलाई कमजोर पार्न सकिन्छ भनेर यो देशका सयौं वर्षदेखि शासन गरेको एउटा अभिजात वर्गले नियोजित प्रचार गरेको छ ।

जनताले उठाएको प्रश्नमा गुनासो छैन

विषय संवेदनशील भएकाले जनतालाई पनि झ्वाट्ट हेर्दा के जात जात बाँड्न खोजेको होला प्रचण्डले भनेर फेरि उनीहरुले गरेको प्रचारले हाम्रै वर्गका आफ्ना दाजुभाइ दिदी बहिनी भनौं न, देशभित्र र बाहिरका मानिसलाई यसले प्रभाव पारेको छ ।

उनीहरुको प्रचार यति व्यापक छ कि उहाँहरुलाई पनि लाग्न थाल्या छ, यो प्रचण्डले त जात-जात जुधाउन खोजेको हो क्यारे भन्ने भ्रम पर्न गएको छ ।

विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीहरुलाई नेपालको माया छ । नेपाल एकताबद्ध होस्, छिटो विकास होस् । नेताहरुमा सद्बुद्धि आओस् रोजगारी त्यही सृजना होस् र नेपाल नै फर्किन पाइयोस् भन्ने छ ।

अझ लाखौंको संख्यामा अरबमा जानेको त त्यही नै हुन्छ । युरोप अमेरिकामा बस्नेहरुलाई पनि त्यो प्रचारबाजी अनुसार यो जातीय विद्वेष नआओस् भन्ने पवित्र भावनाले बडो चिन्ताका साथ यो विषय उठाउने गर्नुहुन्छ । त्यसकारण यो उठेकोमा मेरो कुनै गुनासो छैन ।

तर, मेरो आपत्ति के छ भने प्रतिक्रियावादी वर्ग, जसले सयौं वर्षदेखि यो देशमा शासन गर्‍यो । नेपाललाई हरिकंगाल बन्ने ठाउँमा पुर्‍यायो र आफू अर्बपति खर्बपति बने र तिनका दिल्लीदेखि बैंगलोरसम्म र लण्डनदेखि क्यानडासम्म महलहरु छन्, उनका छोराछोरी विदेशमा नै पढ्छन् र विदेश नै बस्छन्, ती मानिसहरुले प्रचण्ड र माओवादीलाई बदनाम गर्न जसरी जातीय प्रश्न विकृत बनाएर प्रचार गरेका छन्, त्यहाँ मेरो घोर आपत्ति छ भन्ने हो ।

मैले गर्न खोजेको के हो ?

कुरा के हो त मैले गर्न खोजेको भन्दा जात-जातको बीचमा विभेद पार्ने होइन, भइराखेको विभेदको अन्त्य हो । पहिलो कुरा, मैले वर्गीय प्रश्न छोडेर जातीयमा जान खोजेको होइन, सांसरभरि मार्क्सवादले भनेको र विज्ञानले पुष्टि पनि गरेको, समाजको विज्ञानले पुष्टि गरेको जातीय प्रश्न अन्ततः वर्गीय प्रश्नको एउटा रुप हो ।

प्रचण्डहरुको लाइनले गर्दा यहाँ साम्प्रदायिक हुन्छ, जाति जाति लडाइ गर्छन् भनेर प्रचार गरिएको छ, यति झुटो कुरा भनिएको छ, यो बेइमानीपूर्ण र पाखण्डीहरुको भनाइ हो भन्छु म

संसारको कोही पनि कम्युनिष्टलाई सोध्यो भने उसले भन्ने के हुन्छ भन्दा जहाँ जुन देशमा बहुभाषा, बहुसंस्कृति हुन्छ, त्यो देशमा जातीय उत्पीडनका विरुद्ध आन्दोलनको प्रश्न भनेको सामन्तवाद र साम्राज्यवादका विरुद्ध जनवादी अधिकार स्थापित गर्ने पूँजीवादी क्रान्तिको प्रश्न हो त्यो । एउटा वर्ग संघर्षको रुप हो त्यो, अरु केही होइन ।

त्यसकारण टाठाबाठा, हिजोदेखि शासनमा बसेको सानो अभिजात वर्गले एउटा भाषा विशेषलाई एउटा जाति विशेषलाई काखी च्यापेको हुन्छ र अरुमाथि कुनै न कुनै रुपले विभेद गर्ने, अपमान गर्ने, शोषण गर्दै आएको छ, हजारौं वर्षदेखि । त्यसकारण सामन्तवादका विरुद्ध पूँजीवादमा जानका लागि सामन्ती शोषणबाट मुक्ति भएर पूँजीको विकास गर्ने अथवा देशलाई धनी बनाउन जात जातबीचको विभेद मेट्नपर्छ । उत्पीडक जातिले उत्पीडित जातिमाथि गरेको उत्पीडन अन्त्य हुनुपर्छ ।

लेनिनले पटक-पटक के भन्नु भो भने पूँजीवादी क्रान्तिको सुसंगत नारा हो यो । पूँजीवादी नारा हो । यो कुनै कम्युनिष्ट नारा होइन । जातीय मुक्ति हुनुपर्छ, कुनै जातिविशेषको राज्य हुने र अरु जातिमाथि भेदभाव हुने स्थिति अन्त्य हुनुपर्छ र जातिलाई अधिकार प्राप्त हुनुपर्छ, समानता हुनुपर्छ भनेको कम्युनिष्ट नारा होइन, पूँजीवादी नारा हो यो ।

मैले जातीय प्रश्न उठाउँदा एउटै जातिको राज्य हुनुपर्छ कहिल्यै भनेको छैन । जाति जातिबीचमा विभेद झगडा पार्ने कहिल्यै गरेको छैन । मैले जनयुद्धको नेतृत्व गर्दा बाहुन, क्षेत्री, राई लिम्बु, मगर, मधेसी, नेवार, दलित, महिलाको बीचमा त्यति राम्रो एकता थियो, त्यो नेपाली जनताको बीचमा महान एकताको प्रक्रिया सुरु भएको थियो । सबै श्रमजिवी एक भइयो । असाध्यै राम्रो एकताको पैदा गरेको हो मैले । त्यहाँ बाहुनेले हेप्यो भन्ने पनि हुँदैन थियो, दलित भनेर हृयुमिलिएसन हुनु परेन । सबै समान । त्यसकारण मेरो उद्देश्य त वर्गीय उत्पीडन, टाठाबाठा धनीहरुले श्रमजीवी जनतालाई गरेको शोषण उत्पीडन अन्त्य होस् भन्ने हो ।

नेपालमा राजतन्त्र रहँदासम्म राजावादी अथवा समान्तवादीहरुले अरु जाति, भाषालाई कुनै न कुनै रुपले अपमान त गरेकै हो । त्यसमा कसैले होइन भन्न सक्दैन । त्यो अपमानको अन्त्य खोजेको हो हामीले ।

अहिले तिनै वर्गका मान्छेहरुले अहिले प्रचण्डहरुले अथवा माओवादीले जातीय विद्वेष ल्याउन खोज्यो भनेर विकृत पारेको मात्र हो, हामीले त्यस्तो कहिल्यै गरेका छैनौं ।

मैले खस आर्यको पक्षमा बोलेको कसैले सुन्नुभएन

मैले जनजाति, मधेसी, महिला, दलित सबैले पहिचान अधिकार पाउनुपर्छ भनेको कुरा त समाजिक सञ्जालमा आउने सबैले देख्नुभो, सुन्नुभो, प्रचण्डले यसो गरेको छ भनेर । बाहुन क्षेत्रीलाई के गर्न खोजेको भन्ने पनि लाग्यो ।

तर, प्रचण्डले संविधानसभामा ब्राहृमण क्षेत्री अथवा आर्य मूलका जातिहरुका लागि पनि पहिचान चाहिन्छ, उनीहरुको अलगै संस्कृतिको संरक्षण चाहिन्छ भनेर खस आर्यको अलग्गै पहिचान चाहिन्छ भनेर लडेको उहाँहरुले देख्नुभएको छैन । उहाँहरुसम्म प्रचार पुगेको छैन । मैले र हाम्रो पार्टीले पुर्‍याउन सकेको छैन ।

एकथरि पहिलेदेखि नै शासनमा बसेका जालीफटाहा बाहुनक्षेत्री भन्छु म, तिनीहरुले यो कुरो पुग्नै दिँदैनन् । प्रचण्डले लास्टसम्म लडेर खसआर्यका लागि पनि संविधानमा व्यवस्था हुने भयो नि भन्ने सन्देश पुगेको भए उनीहरुले के बुझ्थे भने प्रचण्डले नै नेपालमा सबैखालको जातीय भेदभाव अन्त्य गर्न खोजेको रहेछ, अरुले चाहिँ प्रचण्डलाई गाली गरेर यो शोषण उत्पीडिन कायमै राख्न खोजेका रहेछन् भन्ने बुझिदिए सत्य कुरा त्यही हुन्थ्यो । एउटा ठूलो तागत पनि हुन्थ्यो । तर, दुर्भाग्य भइदियो ।

मैले जातीय र राष्ट्रिय एकता बनाउन खोजेको हो

मैले वर्गीय उत्पीडनको अन्त्यको सन्दर्भमा नै जातीय उत्पीडन अन्त्य हुनुपर्छ भनेको मात्र हो । त्यो जातीय समानताको निम्ति भनेको हो । राष्ट्रिय एकताका निम्ति भनेको हो ।

दह्रो राष्ट्र बनाउने हो भने नेपालमा कुनै एक जातिको मात्र हुनु हुँदैन भनेको हो । यो मान्यता भन्ने बुझेर हेर्‍यो भने मलाई लाग्छ, प्रचण्डप्रति सबै जातजातिका नागरिकले प्रचण्डको कुरो ठीक रहेछ भनेर बुझ्थे ।

तर, यसलाई विकृति ढंगले प्रचार गरेपछि भाँड्न खोजेको हो क्यारे भन्ने परेको छ । किनभने मैले भनेको कुरा बुझ्न अलि मेहनत गर्नुपर्छ । अध्ययन गर्नुपर्छ । इतिहास, भाषा, संस्कृतिको अध्ययन गर्नुपर्छ । मानिसहरुलाई यो अध्ययन गरेर के रहेछ कुरो भनेर बुझ्ने फुर्सद छैन । झट्ट प्रचण्डले त जात-जातमा लडाइँ गराउने भो नि भनिदिएपछि मान्छेहरुलाई ए हो क्या रे भनेर कागले कान लग्यो भन्दा कान समाएर हेर्ने भन्दा पनि कागतिर दौडिने हतारो भो । कुरो त्यो होइन ।

हामीले उठाइराखेको कुरा नै बास्तवमा समानता ल्याउन, पूँजीको विकास गर्न र समाजवादतर्फ लैजान उठाइएको ऐतिहासिक प्रश्न हो भन्न चाहन्छु यो दोस्रो भागमा ।

हामीले एकल जातीय राज्य भनेकै छैन

अर्को एउटा पनि भन्नु छ मलाई । नेपालमा अहिले एकल जातीय राज्य भनेको छैन । हामीले भन्दै नभनेको कुरा भन्यो कि भन्यो भन्यो कि भन्यो भनेर यति धेरै प्रचार गरियो । उही हिटलरको गोयवल्सले जस्तै यहाँका जालीफटाहरुले प्रचण्डले एकल जातीय राज्य भन्यो भन्या छ, भन्या छ । न हामीले कहीँ दास्ताबेजमा भन्या छ, न कुनै भाषणमा ।

Prachanda  650

मैले बोल्दा पनि न बाबुरामजी वा अर्कोले बोल्दा पनि भनेका छौं कि हामीले एकल राज्य भनेको होइन, जातीय उत्पीडनको अन्त्य भनेको हो । समानता पो भनेको हो ।

ऐतिहासिक थातथलोमा पहिचान भयो भने त्यो जातिले आफूलाई पनि गौरवान्वित महसुस गरोस् । यो देश मेरो पनि हो । हामी सबैको साझा फूलवारी हो भन्ने महसुस गरुन् पो भनेको हो हामीले ।

नेपालको स्थिति अरु देशको जस्तो छैन । संघीयतामा हामी जाँदैछौं । तर, नेपालमा कुनै पनि प्रदेश, अझ पहाडको हकमा कुरा गर्ने हो भने कुनै पनि प्रदेश कुनै पनि जाति विशेष अथवा राष्ट्रियताको बहुमत छैन । जति प्रदेश बनाए पनि बहुजातीय हुन्छन् । कसैको पनि बहुमत हुँदैन ।

मिलेर बस्नु पर्ने बाध्यता त हामीलाई इतिहासले हाम्रो भूगोलले परम्पराले बनाएकै छ । हामीले मिलेरै बस्छौं पनि । तर, जहाँ क्लस्टर मिलेको, इतिहासको सयौं वर्षदेखि एक ठाउँमा बसोबास गर्दै आएको, त्यहाँको भाषा, संस्कृति, आर्थिक स्थिति र जीवनचर्याको एउटा मान्यता छ र उनीहरुले पहिचान खोजेका छन् भने त्यो दिँदा के बिग्रन्छ त ? हामीले भनेको त्यो मात्र हो ।

हामीले जातिलाई मात्र दिउँ पनि भनेका छैनौं । त्यसमा भूगोल, प्रकृति के के जोड्न पर्छ, त्यो जोड्न पनि हामी तयार छौं भनिरहेका छौं ।

अधिकार दिँदा साम्प्रदायिक दंगा हुँदैन

नेपालमा संघीयता हुँदा पनि कुनै पनि प्रदेश एउटै जातिको नहुने भएका हुनाले यहाँ साम्प्रदायिक दंगा हुन्छ भन्ने मलाई विल्कुल विश्वास छैन । प्रचण्डहरुको लाइनले गर्दा यहाँ साम्प्रदायिक हुन्छ, जाति जाति लडाइ गर्छन् भनेर प्रचार गरिएको छ, यति झुटो कुरा भनिएको छ, यो बेइमानीपूर्ण र पाखण्डीहरुको भनाइ हो भन्छु म ।

अधिकार दिएन भने बरु लडाइँ हुन्छ । सबैलाई समानता, सबैलाई पहिचान, समावेशी समानुपातिक प्रतिनिधित्व भयो भने मिलेर बस्छन् । मिलेर बस्न जानेकै छन् जनताले । हामी आपसमा मिल्नुपर्छ है भनेर जनताले बुझेका छन् । नबुझ्ने नेताहरु र ठूला बुद्धिजीवीहरुलाई बुझ्न गाह्रो भएको छ ।

तर, एउटाले अधिकार पाएको जस्तो, अर्कोले नपाएको जस्तो भयो भने जनताले मान्दैनन् । यो प्रचण्ड-बाबुरामले जबर्जस्ती माने भनेर हुने कुरा होइन । किन राजतन्त्र फालियो ? राजाले किन सकेन त कन्ट्रोल गर्न ? किन जनता राजाविरुद्ध जान पर्‍यो ? किनभने राजाले एउटा भाषा, संस्कृतिलाई काखी च्याप्ने, एउटा धर्मलाई मात्र हेर्दा अरु जाति, भाषा, धर्मका मानिसले सहज महसुस गरेनन् र विद्रोह भयो ।

हाम्रो लाइनबाट राष्ट्रिय एकता हुन्छ

कांग्रेस र एमाले एकल जातीय प्रदेश बनाउनेमा गएका हुन्, माओवादी होइन । यसलाई जनताले बुझ्न जरुरी छ

अब हाम्रो लाइनबाट जाँदा एकता हुन्छ । नयाँ राष्ट्रिय एकता हुन्छ । मजबुत राष्ट्र बन्छ र जातीय सद्भाव कायम हुन्छ । त्यसकारण असमानताको अन्त्य गर्नु भनेको न्याय र समानता स्थापित गर्ने भनेकोहो । त्यसकारण म सबै यो एउटा वर्गले भ्रम छरेको छ, तपाईहरु त्यही कुराको पछि नलागिदिन अनुरोध गर्छु ।

ऐतिहासिक रुपले सत्य कुरा त्यही हो । त्यसकारण धेरै नबुझी गाली गर्ने साथीहरुलाई पनि म अनुरोध गर्न चाहन्छु कि एकचोटि ठण्डा दिमागले सोच्नुस्, हामीले भन्न के खोज्यौं, गर्न के खोज्यौं । हाम्रो सपना के हुन् ? मैले जे अहिले भनेँ, यसमा विचार गर्नुस् ।

जनताले मान्छन् भने ६ प्रदेशमा आपत्ति छैन

संघीयतामा संख्या मुख्य कुरा होइन । संघीयतामा संख्या भन्दा उत्पीडन असमानताको अन्त्य मुख्य कुरा हो । जुन जातिले आफू समान अधिकारबाट बन्चित भएको ठानेको छ, उसलाई म पनि यो देशको नागरिकको हैसियतले मेरो पनि उत्तिकै अधिकार र स्वतन्त्रता छ भन्ने महसुस गराउने हो ।

त्यसरी हेर्दा हामीले के भनेका छौं भने नेपालमा प्रदेश बनाउँदा एउटा त क्राइटेरिया हुनुपर्‍यो । त्यो भनेको एक प्रतिशतभन्दा बढी जनसंख्या भएको, ऐतिहासिक रुपले एउटा निश्चित भूभागमा बस्दै आएको जाति समुदायलाई आधार बनाएर प्रदेशहरु निर्माण गर्दा हुन्छ ।

प्रदेशको कुरा गर्दा पहिला १० हुन्छ । त्यसलाई घटाउन सकिन्छ र ९ मा ल्याउन सकिन्छ । एउटै जाति समुदाय, संस्कृति भएको सेती-महाकाली र भेरी कर्णालीलाई एउटै ठाउँमा राख्न सकिन्छ । त्यो गर्‍यो भने ९ मा जान सकिन्छ ।
सिद्धान्तका आधारमा बनेका ९ मध्ये नेवा र ताम्सालिङ, तमुवान र मगरात तथा लिम्बुवान र किराँतलाई गाभ्न असम्भव छैन । त्यो गर्दा नेपालमा ६ प्रदेश हुन्छ । कुरा बुझ्नु भो त ।

6 pradesh
शर्तसहित ६ प्रदेश मान्न एमाओवादी तयार (नक्शासहित)

तर, हामीले अहिले पार्टीको तर्फबाट पोजिसनका रुपमा राखेको छैन । पोजिसनका रुपमा १० प्रदेशलाई आधार बनाएर जानु व्यवहारिक छ भन्ने नै छ ।

मैले भन्ने गरेको छु कि यदि लिम्बुवान र किरातले मिलेर लिम्बुवान-किरात-कोसी प्रदेश बनाएर हामी बस्न तयार छौं भनेर उनीहरु सहमत हुने भने मात्र यो विकल्प हुने हो । तत् तत् क्षेत्रका जनता, बुद्धिजीवी, संघ संस्थासँग छलफल गरेर सहमति बन्दा जनतालाई अधिकार दिएर बनाउँदा हामीलाई आपत्ति हुँदैन ।

ताम्सालिङ-नेवा-बाग्मती प्रदेश भन्दा ताम्सालिङको जनतासँग पनि र नेवा जनतासँग पनि सल्लाह गर्नुपर्‍यो । उनीहरुको स्वीकृति हुँदा हामीलाई आपत्ति छैन ।

कांग्रेस एमालेले एकल जातीय प्रदेश बनाउन खोज्दैछन्

कांग्रेस र एमालेले जुन प्रस्ताव ल्याएका छन्, यो न हाँसको चाल न कौवाको चाल छ । भन्दा बाहिर कस्तो चित्र भने जातीय राज्य बनाउन नखोजेको जस्तो, थोरै बनाउन खोजेको जस्तो भनेका छन् । तर, साँचो कुरा उनीहरुले नै एकल जातीय बनाउन खोजेका छन् ।

कांग्रेस र एमालेको प्रस्ताव अनुसार त मधेसीको समर्थनमा मात्र पनि मुख्यमन्त्री हुन सक्ने भो । पहाडेको पहाडेको मात्र मुख्यमन्त्री हुने भो । त्यसले विखण्डनतिर लैजान्छ

अहिले जे चल्दै आएको छ, त्यसलाई नै चलाउने भनेको एकल जातीय राज्य हो ।

अझ उनीहरुले सप्तरीदेखि पर्सासम्म मधेसी समुदायको अत्याधिक बाहूल्य भएकोलाई अलग प्रदेश बनाएर छोडिदिने भनेका छन् । यो भनेको नै कांग्रेस र एमाले एकल जातीय प्रदेश बनाउनेमा गएका हुन्, माओवादी होइन । यसलाई जनताले बुझ्न जरुरी छ ।

मैले किन त्यसो गरेको, चुरेको केही भाग र झापा, मोरङ, सुनसरीको केही भाग मिलाएर मधेसी र पहाडी मिलेर बस्ने प्रदेशको पो बनाउनुपर्छ भनेको छु ।

मधेसीको मात्र प्रदेश बनाउने, पहाडीलाई छिर्नै नदिने जुन सोच कांग्रेस र एमालेले ल्याए, त्यो सोच नै एकल जातीय सोच हो । राष्ट्रलाई विखण्डन गर्ने आधार बनाइदिने सोच पनि हो । नेशनल इन्टिग्रेसन (राष्ट्रिय एकता) नगर्ने सोच पनि हो । यो कुरा जनतामा जति जानु पर्ने हो, त्यति गएको छैन । अनि पहाडी, मधेसी, जनजाति सबै मिलेको प्रदेश बनाउँ भन्ने हामीचाहिँ जातीय द्वेष फैलाउने रे, उनीहरुचाहिँ एउटा जातिको अलगै प्रदेश बनाएर तिमी जता जान मन लाग्छ, जाउ भन्या जस्तो गरेर छाडिदिने चाँहि कसरी राष्ट्रिय एकताको पक्षमा भए ?

मधेसमा मधेसीको मात्र र पहाडमा शासक वर्गको मात्र हैकम रहने गरी प्रदेश बनाउने भन्ने जो आएको छ, यो हेर्दा कांग्रेस र एमाले नै एकल जातीय राज्यको पक्षमा छन्, हामी होइन । हामी बहुजातीय प्रदेश बनोस् र त्यही अनुसार सद्भाव र राष्ट्रिय एकता बानेस् भन्नेमा छौं ।

कांग्रेस एमालेलाई यस्तो अधिकार कहाँबाट आयो ?

मधेसमा तपाई साफ हेर्न सक्नुहुन्छ । पहाडमा सबै मिलेको बनाउनु पर्ने, मधेसमा किन नपर्ने ? मधेसी जनताले मधेसीको मात्र प्रदेश होस् भन्ने चाहेका छैनन् । मधेसी जनता पनि पहाडका जनतासँग मिलेर प्रदेश बनाउन चाहन्छन् । अनि जनताको भावना विपरीत जान कांग्रेस र एमालेलाई कहाँबाट अधिकार आयो ?

कांग्रेस र एमालेसहितका दलले सम्वाद समितिमा बुझाएको प्रस्ताव
कांग्रेस र एमालेसहितका दलले सम्वाद समितिमा बुझाएको प्रस्ताव

मधेसमा मात्र झण्डै ८६/८८ प्रतिशत भएको प्रदेश बनाइदिने । के मधेसी माग हो यो ? मधेसी खुसी छन् त भन्दा छैनन् । त्यसकारण बेइमानी त त्यहाँ भएको छ ।

विखण्डनकारी सोच त कांग्रेस र एमालेभित्र छ भनेर बुझ्नु पर्‍यो । झापा, मोरङ र सुनसरीलाई मधेसमा नमिसाउँदा बरु विखण्डनकारी प्रवृत्ति हावी हुन्छ । मिसाउँदा त झन अलग्गिने वातावरण नै बन्दैन । कुनै एउटा पक्षको मात्र बहुमत हुँदैन । मधेसी मुख्यमन्त्री हुनुपर्‍यो भने पहाडिया भोटको समर्थन लिर्नै पर्ने हुन्छ । पहाडीलाई मधेसीको समर्थन चाहिन्छ । त्यो अवस्थामा मधेसी र पहाडीको राष्ट्रिय एकता हुन्छ र विखण्डन हुँदैन ।

कांग्रेस र एमालेको प्रस्ताव अनुसार त मधेसीको समर्थनमा मात्र पनि मुख्यमन्त्री हुन सक्ने भो । पहाडेको पहाडेको मात्र मुख्यमन्त्री हुने भो । त्यसले विखण्डनतिर लैजान्छ ।

तराई भनेको मधेसीको मात्र भनेर किन बुझ्ने ? नेपाल सार्वभौम देशका हिसावमा हिमाल, पहाड, तराई जहाँ भए पनि नेपाल नै हो भनेर बुझ्नुपर्‍यो । हामी सबै नेपाली हौं भनेर बुझ्नुपर्‍यो ।

यहाँ त जो चोर उसैको ठूलो स्वर भो । जसले जातीय विखण्डन, जातीय विद्वेष गर्ने, एकल जातीय बनाउन खोज्ने, त्यही चाँहि चर्को स्वर गर्छ । साधुलाई सुली, चोरलाई चौतारो होला जस्तो भो नेपालमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment