Comments Add Comment

मेलम्चीका नाममा आधा काठमाडौं खन्नै बाँकी

पुष्प दुलाल

२१ पुस, काठमाडौं । सडक विस्तारका कारण धुलो र हिलो खाँदै आएका उपत्यकाबासीले अझै दुई वर्ष अझै सास्ती ब्यहोर्नुपर्ने भएको छ । उपत्यकाका ८३ हजार ५ सय ५५ घरमा मेलम्चीको पानी पुर्‍याउन उपत्यकामा अझै ५ सय किलोमिटर सडक भत्काउन बाँकी छ ।

कूल ६ सय २२ किलोमिटर पाइपलाइनमध्ये १ सय २२ किलोमिटर खनिसकेको काठमाडौं उपत्यका खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका आयोजना निर्देशक तेजराज भट्टले अनलाइनखबरलाई जानकारी दिएका छन् ।

Melamchi-pipe-line_960

निर्देशक भट्टका अनुसार मुख्य पाइपलाइनका लागि काठमाडौं र ललितपुरमा ५५ किलोमिटर सडक भत्काइँदैछ । भक्तपुर र कीर्तिपुरमा २२ गरी कुल ७७ किलोमिटर खनिनेछ । जसमध्ये सुन्दरीजलदेखि महांकालसम्म ६ किलोमिटर खनिइसकिएको उनले बताए ।
मेलम्ची आयोजनाले सुन्दरीजलको वाटर ट्रिटमेन्टसम्म ल्याएको पानी उपत्यकाभर वितरणको सञ्जाल विस्तार गर्ने भट्टले बताए । वितरणको व्यवस्थापन भने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेल)ले गर्नेछ ।

जताजता सडक, त्यता त्यता मेलम्ची

जुनजुन क्षेत्रमा सडक निर्माणको काम भइरहेको छ, ती क्षेत्रमा खानेपानीको पाइपलाइन विस्तार कार्यलाई जोड दिइएको भट्टले बताए । ‘बाटो विस्तारकै बेला पाइपलाइन विस्तार गर्ने हो भने कम क्षति हुने भएकाले हामीले यो रणनीति अबलम्बन गरेका हौं’ उनले भने ।
सडक छेउको फुटपाथमुनि खानेपानीको पाइप विस्तार गरिएकाले सडकलाई खासै क्षति नहुने उनको तर्क छ ।

कहाँ भत्काइयो, कहाँ भत्काइँदैछ ?

उपत्यकाका सबै बाक्लो बस्ती रहेका क्षेत्रहरुमा खानेपानीको थोक वितरण र वितरण सञ्जाल सुधारका लागि ६ सय २२ किलोमिटर लामो पाइपलाइन खनिने छ ।

‘रत्नपार्कदेखि सिनामंगलसम्मको पाइपलाइन ९० प्रतिशत काम सम्पन्न भइसकेको छ’ भट्टले भने ।

मानभवन, मैतीदेवी, रातोपुल, घट्टेकुलो, डिल्लीबजार, सेतोपुल पुरानो बानेश्वर, अनामनगर, बबरमहल, सोह्रखुट्टे सानेपा, कुपन्डोल कोटेश्वर नरेफाँट, सुविधानगर, सहयोगीनगर, वनस्थली शोभाभगवती र चमती प्लानिङ क्षेत्रको करिब ८० प्रतिशत काम सकिएको र अब त्यसबाहेकका अन्य क्षेत्रमा पाइपलाइन विस्तार गरिने उनले बताए ।

पाइप विस्तारको पहिलो प्याकेजमा १, २ र ६ डीएनआई पर्छन् । यी तीन क्षेत्रका २७ हजार ३ सय ६३ घरधुरीमा पुर्‍याउनका लागि २ सय १४ किलोमिटर एचडीपीई पाइप बिछ्याइने छ । यसको ठेक्का चीनको हेन्जाओ र नेपालको कालिका कन्ट्रक्सन्सले पाएका छन् ।

Melamchi

पहिलो प्याकेजको डीएनआई-१ अन्तर्गत काठमाडौंको लैनचौर, टंगाल, भगवती, भगवतीबहाल, नक्साल, डिल्लीबजार, सिंहदरबार गेट, माइतीघर, थापाथली, वागमती नदी, टेकु हुँदै विष्णुमती नदी र न्यूरोडमा खनिने निर्देशक भट्टले जानकारी दिए ।

त्यसैगरी डिएनआई २ अन्तर्गत धोबीखोला, गौशाला, भीमसेनगोला, सिंहदरबार, पुतलीसडक, डिल्लीबजार, भाटभेटेनी, हाँडीगाउँ र रातोपुलभित्रका क्षेत्रहरु पर्दछन् ।

डीएनआई-६ अन्तर्गत पुल्चोक, मंगलबजार, ग्वार्को, सातदोबाटो, महालक्ष्मीस्थान, एकान्तकुना र जावलाखेलभित्रका क्षेत्रहरु रहेको निर्देशनालयले जनाएको छ ।

दोस्रो प्याकेज अन्तर्गत चिनियाँ कम्पनी हेन्जाहो र नेपाली कम्पनी शर्मा कन्ट्रक्सन्सले ३, ४, ५ र ७ डीएनआईमा ३५ हजार ७ सय ७४ घरधुरीसम्म पानी वितरण गर्न २ सय ४० किलोमिटर लामो पाइपलाइन बिछ्याइने छ ।

त्यस्तै, डीएनआई-३ मा सेतोपुल, पुरानो बानेश्वर, तिलगंगा, सिनामंगल, तीनकुने, मदन भण्डारीपथ, नयाँ बानेश्वर बिजुलीबजार, धोविखोला क्षेत्र पर्दछ ।

डीएनआर्इ-४ मा अनामनगर, माइतीघर, धोवीखोला, बिजुली बजार, प्रसुतिगृहमार्ग, थापाथली चोक हुँदै माइतीघर क्षेत्रहरु पर्दछन् ।
त्यसैगरी डीएनआई-५ अन्तर्गत कुपन्डोल, युएन पार्क, शंखमूल, मनोहरा खोला, बालकुमारी, चक्रपथ, ग्वार्को, मंगलबजार, पुल्चोक, हिमालय होटल, ज्वागल चोक हुँदै कुपन्डोलभित्रका सम्पूर्ण क्षेत्र पर्दछन् ।

डीएनआई-७ अन्तर्गत बालाजुचोक, सोह्रखुट्टे, लैनचौर, कान्तिपथ, न्यूरोड, हनुमानढोका, विष्णुमती पुल, इन्द्राइणी मन्दिर हुँदै बालाजु चोकभित्रका क्षेत्रमा मेलम्चीको पाइप बिछ्याउने योजना छ ।

तेस्रो, प्याकेजका अन्तर्गत डीएनआई ९, १० र ११ पर्दछन् । यो प्याकेजका ठेकेदार सुमेक र लामा जेभी हुन् । यो प्याकेजमा पाइपलाइनको लम्बाइ १ सय ८६ किलोमिटर रहने छ । २० हजार ४ सय ६८ घरमा धारा जडान गरिने छ ।

डीएनआई-८ अन्तर्गत टेकुदोभान, कुपण्डोल, कामदेवता, पुल्चोक, जावलाखेल, एकान्तकुना, भनीमण्डल, चक्रपथ, सानेपा पुल, बागमती नदी हुँदै टेकुदोभान भित्रका क्षेत्रहरु पर्दछन् ।

त्यसैगरी डीएनआइ-९ अन्तर्गत बागमती नदी, तीनकुने, कोटेश्वर चोक, जडुबुटी, मनोहरा, शंखमूल दोभानभित्रका क्षेत्रहरु पर्छन् । डीएनआई-१० अन्तर्गत वनस्थली चोक, बालाजु चोक, विष्णुमती पुल, डल्लु, भगवान पाउ हुँदै वनस्थली चोकभित्रका क्षेत्रहरु पर्छन् ।
डीएनआई-११ अन्तर्गत वनस्थली चोक कलंकी, सोल्टीमोड, कालीमाटी, टेकुदोभान, बल्खु, रिङरोड हुँदै कलंकीभित्रका क्षेत्रहरु पर्छन् ।

तेजराज भट्ट
तेजराज भट्ट

कहिले झर्छ मेलम्चीको पानी ?

मेलम्ची खानेपानीको पाइपलाइन ०७२ फागुनभित्र निर्माण गरिसक्ने निर्देशक भट्टले बताए । हालसम्म ८ हजार १ सय ७ घरमा धारा जडान भइसकेको भट्टले जानकारी दिए ।

०७३ बैशाख १ गते मेलम्चीको पानी काठमाडौंबासीका धारामा झार्ने शहरी विकास मन्त्रालयको दाबी छ । तर, संसदको विकास समितिले गरेको स्थलगत अध्ययनमा तोकिएको मितिभन्दा ६ महिनापछि मात्रै अायोजना सम्पन्न हुने देखिएको छ ।

मेलम्चीको पानी आइसकेपछि ढल व्यवस्थित गर्न सरकारले फेरि एक पटक करिब दुई सय किलोमिटर सडक किनारा खन्ने छ । शहरी विकास मन्त्रालयले हाल व्यवस्थित ढलसम्बन्धी अध्ययन गरिरहेको छ ।

सोचेअनुसार काम सम्पन्न भए आगामी दुई वर्षभित्र ढल व्यवस्थापनको काम सम्पन्न गर्ने योजना रहेको शहरी विकास मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा हाल दैनिक २२ करोड लिडर पानीको माग छ । तर, बर्षायाममा दैनिक ११ करोड र हिउँदमा दैनिक ९ करोड लिटरमात्रै पानी उत्पादन भइरहेको छ

पानी चुहिए ठेकदार जवाफदेही

प्रत्येक बाटोमा डिजाइनले मागेअनुसार पाइप राखिने आयोजना निर्देशक भट्टले बताए । उनका अनुसार ७ मिटरभन्दा फराकिलो बाटोमा बाटोको दुबैतर्फ पाईप बिछ्याइने छ ।

डीआई पाइपमात्रै भएको बाटोमा अर्को समानान्तर इलेक्ट्रो फ्यूजन प्रविधिबाट प्लाष्टिक पाइप जडान गरिनेछ । ‘प्लाष्टिक पाइपबाट मात्रै प्रत्येक घरमा धारा जोडिने छन्, पानीको चुहावट रोक्न यो प्रविधिको प्रयोग गर्न लागिएको हो,’ उनले भने ।

हालको वितरण प्रणालीमा ४० देखि ४५ प्रतिशत पानी चुहावट हुने गरेको छ । नयाँ वितरण प्रणालीमा चुहावटलाई १५ प्रतिशतमा सीमित राखिने भट्टले बताए ।

‘पाइपलाइन बिछ्याइएको दुई वर्षसम्म १५ प्रतिशतभन्दा बढी चुहावट भयो भने ठेकेदारले बनाउनुपर्ने गरी ठेक्का सम्झौता गरिएको छ’ भट्टले भने -चुहावट ग्यारेन्टीका लागि मात्रै ठेकेदारसँग कूल लागतको १५ प्रतिशत धरौटी राखिएको छ ।

नौवटा पोखरी बनाइँदै

उपत्यकाका विभिन्न ९ ठाउँमा पानी दैनिक ६ करोड ५० लाख लिटर पानी सञ्चित गर्न ठूल्ठूला पोखरीको निर्माण गरिने छ । ती स्थानसम्म पुर्‍याउनका लागि ठूला अत्याधुनिक फलामे डीआई पाइप बिछ्याइने भट्टले बताए ।

उनका अनुसार आरुवारीमा ८५ हजार, महांकालचौरमा ८० हजार, बाँसबारीमा ९५ हजार, महाराजगञ्जमा ८० हजार, खुमलटारमा ९० हजार, बालाजुमा ७० हजार घनमिटर क्षमताका पोखरी निर्माण थालिएको छ ।

त्यस्तै कटुञ्जेमा ६० हजार, टिगनीमा ३० हजार र कीर्तिपुरमा ६० हजार घनमिटर क्षमताका पोखरी निर्माण गर्न एशियाली विकास बैंकसँग सम्झौता हुने भट्टले बताए । ‘ती पोखरीबाट खुद्रा वितरणका लागि आसपासका टोल र घरमा खानेपानीको आपूर्ति हुनेछ ।’ उनले भने ।

राजधानीमा दैनिक ५१ करोड लिटर पानी

मेलम्ची आयोजना पूरा भए उपत्यकाबासीले खानेपानीको कुनै समस्या भोग्नुपर्ने छैन । अहिलेको जनसंख्यालाई आधार मान्दा एकजनाले दैनिक ३ सय लिटर पानी उपयोग गर्न पाउँछन् । ०७३ बैशाख १ गतेदेखि राजधानीमा दैनिक १७ करोड लिटर पानी भित्रिनेछ ।

त्यसको केही समयमै याङ्दी र ल्यार्के खोलाबाट दैनिक १७/१७ करोड लिटरका दरले मेलम्चीकै टनेलबाट उपत्यकामा आपूर्ति गरिने छ । तीनवटै खोलाको पानी जोड्दा काठमाडौंमा दैनिक ५१ करोड लिलटर पानी आपूर्ति हुने भट्टले बताए ।

काठमाडौं उपत्यकामा हाल दैनिक २२ करोड लिडर पानीको माग छ । तर, बर्षायाममा दैनिक ११ करोड र हिउँदमा दैनिक ९ करोड लिटरमात्रै पानी उत्पादन भइरहेको भट्टले जानकारी दिए । ‘मेलम्ची सम्पन्न भएपछि उपत्यकाबासीले कहिल्यै खानेपानीको दुख भोग्नुपर्दैन’ उनले दाबी गरे ।

मेलम्ची खानेपानी आयोजनाको कूल लागत ४६४ मिलियन अमेरिकी डलर हो । जसमध्ये २८ प्रतिशत नेपाल सरकारको र बाँकी एसियाली विकास बैंक (एडीबी)को लगानी छ । एडिबीको लगानीमध्ये ५० प्रतिशत अनुदान र ५० प्रतिशत १ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि ऋण लगानी भएको भट्टले बताए ।

‘एडीबीको लगानी भएकाले उसले तोकेको मापदण्ड अनुसार काम अघि बढिरेको छ, त्यसैले आयोजनाको गुणस्तरमा शंका गर्ने ठाउँ छैन’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment