
१३ असोज, काठमाडौं । देशका धेरै ठाउँमा गएरातिदेखि नै पानी परिरहेको छ । गएरातिदेखि बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा मापन भएको छ । यसैगरी कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई ठाउँमा भारी वर्षा भएको छ ।
गत २४ घण्टाको कुरा गर्दा कर्णाली प्रदेशमा पर्ने रुकुम पश्चिमको बाँफीकोटमा सबैभन्दा धेरै १४६.६ मिलिमिटर वर्षा मापन भएको छ ।
गत ६ घण्टायता भने सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको बाह्रबिसेमा मापन भएको छ । त्यहाँ ६ घण्टाको अवधिमा ८२.२ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोककै बाहुनेपाटीमा ४६.४, मानेखर्कमा ३८ र चन्द्रखुमा ३०.८ मिलिमिटर पानी परेको छ ।
यसैगरी दोलखामा ४१.२ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी गत ३ घण्टाको अवधिमा काठमाडौंको कपनमा २६ मिलिमिटर पानी परेको छ । यसैगरी बैतडीको गोकुलेश्वरमा २४ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी काभ्रेको धुलिखेलमा १२ मिलिमिटर वर्षा मापन भएको छ ।
यस वर्ष हिले दशैं हुने प्रक्षेपण
दशैंको तयारीमा जुटेकाहरुले वर्षाका कारण हैरानी व्यहोर्नु परेको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुले आगामी दिनमा पनि पानी पर्ने सम्भावना कायमै रहेको बताएका छन् । त्यसैले यस वर्ष हिले दशैं हुने प्रक्षेपण उनीहरुले गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै अष्टमी, नवमी र दशमीको दिनमा पनि पानी पर्ने जनाएको छ । विभागका अनुसार अष्टमी र नवमीको तुलनामा दशमी अर्थात् दशैंको टीकाको दिनमा धेरै ठाउँमा पानी पर्ने सम्भावना छ ।
प्रतिक्रिया 4