+
+
Shares

लमजुङमा सबैभन्दा धेरै वर्षा, काभ्रेमा भारी

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १२ गते १९:१२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ र लमजुङमा सबैभन्दा बढी ८७.४ मिलिमिटर वर्षा मापन भएको छ।
  • जल तथा मौसम विज्ञान विभागले आजदेखि देशका धेरै क्षेत्रमा वर्षा हुने र तातो लहर कम हुने जानकारी दिएको छ।
  • भोलि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा मेघगर्जनसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

१२ वैशाख, काठमाडौं । मौसम बदलीसँगै आज देशका विभिन्न जिल्लामा भारी वर्षा भएको छ ।

जल तथा मौसम विज्ञान विभागबाट प्राप्त अभिलेखअनुसार आजको पछिल्लो १२ घण्टाको अवधिमै लमजुङ, रोल्पा, प्यूठान, काभ्रेपलाञ्चोकमा भारी वर्षा मापन भएको छ ।

प्राप्त विवरणमा सबैभन्दा बढी लमजुङमा ८७.४ मिलिमिटर (धेरै भारी नजिक) वर्षा भएको छ भने रोल्पामा ६५.२, प्यूठानमा ७४.६ र काभ्रेमा ६३.६ मिलिमिटर वर्षा (भारी वर्षा) भएको छ ।

यस्तै कास्कीमा ३३, गुल्मीमा ३७ र धनकुटामा ३७ मिलिमिटर वर्षा भएको छ । विभागका मौसमविद् विनु महर्जनले आजदेखि नै देशका धेरै क्षेत्रमा वर्ष हुने भएकाले तातो लहर कम हुने बताए ।

आजदेखि वर्षा बढेको र यो क्रम अझै केही बढ्ने विभागले जनाएको छ ।

हाल नेपालमा पश्चिमी र स्थानीय वायूको आंशिक प्रभाव रहेको विभागले जनाएको छ । विभागका अनुसार भोलि आइतबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने र बाँकी भू–भागमा आंशिक बादल लाग्ने छ ।

यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा मधेस प्रदेशलगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा साथै लुम्बिनी प्रदेशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको जनाइएको छ ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना कायम रहेको विभागले आज साँझ बुलेटिन जारी गरी जानकारी दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?