Comments Add Comment

कसरी हुँदैछ संविधानसभाभित्र मुठभेड ?

समाचार टिप्पणी

२१ पुस, काठमाडौं । माघ ८ को डेडलाइन नजिकिँदै गर्दा नेताहरुले संविधानसभाभित्रै रगत बगाउने र मुठभेड गर्ने अभिव्यक्ति दिन थालेका छन् । सहमतिबाट संविधान जारी गर्ने डेडलाइन सकिनै लाग्दा नेताहरु भौतिक भिडन्तको धम्कीमा ओर्लिएका हुन् ।

संविधानसभामा संवाद समितिका सभापति बाबुराम भट्टराईले पेश गरेको प्रतिवेदनमाथिको छलफल सम्भवतः सोमबार सकिनेछ । दलका नेताहरुले सोमवार साँझसम्म सहमति गर्न नसके संविधानसभा अध्यक्ष सुवास नेम्वाङले के गर्लान् ? यो प्रश्न पनि समाधान हुन बाँकी छ ।

BICC-Nepal

नेताहरुले सहमति गर्न नसक्ने हो भने संविधानको मस्यौदा ल्याउने जिम्मेवारी सभाध्यक्ष नेम्वाङले मागेका थिए । तर, एमालेबाहेक अरु दलले उनको माग अस्वीकार गरिसकेको अवस्थ्ाामा अन्यौल झनै बढेको छ ।

दलहरुबीच चमत्कार भएर आजै सहमति कायम भयो भने पनि माघ ८ मा संविधान जारी हुन गाह्रो छ । यद्यपि दलहरुबीच सहमति हुँदा संविधानसभा नियमावलीका धेरै धाराहरु निलम्बन गरी बाधा अड्काउ फुकाएर मस्यौदा आउन सक्छ ।

सत्ताको भागवण्डा

दलहरुबीच अहिले सहमति हुन नसकेको विषय संविधानका अन्तरवस्तु भन्दा पनि सत्ताको बाँडफाँड हो । संविधान जारी गर्नका लागि राष्ट्रिय सहमतिको सरकार, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख जस्ता पदहरुमा सहमति गर्नुपर्ने अवस्थामा दलहरु छन् ।

सभाध्यक्ष नेम्वाङमाथि दबाव

अर्कातिर सभासदहरु यसपटक संविधान दिन नसकेको कलंक बोकेर गाउँ फर्किन चाहँदैनन् । उनीहरुको दबाव सभाध्यक्ष नेम्वाङमाथि तीब्र छ । विशेष गरी कांग्रेस एमालेका सभासदहरुले प्रक्रिया शुरु गर्न नेम्वाङमाथि दबाब दिइरहेका छन् ।

दलहरुबीच सहमति भए पनि प्रक्रियामा जानै पर्ने भएकाले निलम्बन र बाधा अड्काउ सम्बन्धी प्रक्रिया अघि बढाउन कांग्रेस एमालेको दबाव नेम्वाङमाथि छ ।

मुठभेडको रणनीति

तर, एमाओवादी लगायतका अन्य दलले एकपक्षीय ढंगले प्रक्रिया शुरु भए संविधानसभाभित्रै मुठभेड हुने चेतावनी दिएका छन् । कांग्रेस एमालेले पनि मुठभेड हुन सक्ने सम्भावना आँकलन गर्दै त्यसको सामना गर्ने रणनीति बनाइरहेका छन् ।

प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको आइतबारको बैठकमा पनि संविधानसभाभित्र मुठभेडको आँकलन गरेको छ । पहिले संविधानसभाभित्रै मुठभेड गरेर सडकमा आन्दोलन उठाउने एमाओवादी सभासद गणेशमान पुन बताउँछन् ।

एमाले पोलिटब्यूरो सदस्य तथा सभासद शेरधन राई संविधानसभा भित्र र बाहिर दुवैतिर मठभेडको सामना गर्न तयार हुनुपर्ने बताउँछन् । ‘संविधानसभाभित्रै मठभेड हुन सक्छ, तर त्यसको सामना गर्न हामी तयार छौं’ राई भन्छन् ‘माघ ८ मा रित्तो हात फर्किदैनौं’ ।

संविधानसभा अध्यक्ष नेम्वाङलाई कांग्रेस एमालेका सभासदले जस्तोसुकै परिस्थितिको सामना गर्न तयार हुन र माघ ८ लाई त्यतिकै खेर जान नदिन आग्रह गरेका छन् ।

‘माघ ८ को डेडलाइनमा केही नहुनु भनेको सभाध्यक्षको असफलता हुन्छ, उहाँ दोस्रोपटक असफल अध्यक्ष भएको हामी हेर्न चाहान्नौं’ कांग्रेस सभासद रामहरी खतिवडा भन्छन् ‘सहमतिको प्रयास भइरहन्छ, तर संविधानसभाले गर्नुपर्ने प्रक्रिया चाहिँ शुरु गर्नुस् भनेका छौं’ ।

उनीहरुले भने जसरी नेम्वाङले प्रक्रिया शुरु गरे भने एमाओवादी तथा अन्य विपक्षी सभासदहरुले अवरोध सिर्जना गर्ने वा संविधानसभा छाडेर बाहिरिने दुई विकल्प हुन सक्छन् । मुठभेडको मूढमा रहेकाहरुले बहिस्कार गरेर हिँड्ने समभावना छैन ।

यसपटक सभाध्यक्ष नेम्वाङ पनि चूप लागेर दलहरुलाई मात्रै पर्खिने कि आफ्नो अधिकार प्रयोग गर्ने भन्ने दोधारमा हुन सक्छन् । उनले यसबीचमा एमाले नेतृत्वसँग सघन छलफल पनि गरेका छन् ।

एमालेका एक प्रभावशाली नेताका अनुसार नेम्वाङलाई यसपटक दह्रो खुट्टा टेक्न आग्रह गरिएको छ । ‘यो उहाँको राजनीतिक जीवनको पनि निर्णायक घडी भएकाले विगतमा जस्तो मूर्तिवत बस्नुहुन्न’ ती नेताले भने ‘सहमति हुँदै भएन भने मुठभेडको सामना गरेर भने पनि प्रक्रिया अघि बढाउनुपर्छ भनेका छौं’ ।

मुठभेडको तयारी र मुठभेडका सामना गर्ने दुबै प्रचार राजनीतिक स्टन्टमात्र पनि हुन सक्छन् । एकले अर्कोलाई सहमतिका लागि गलाउन पनि मुठभेडको धम्की दिइरहेका छन् ।

तर, माघ ८ का सन्दर्भमा कुनै सहमति भएन, दलहरु अहिलेकै पोजिशनमा रहे भने चाहिँ संविधानसभाभित्र र बाहिर दुबैतिर मुठभेड हुन सक्छ । त्यसैले दलहरु कम्तिमा तत्कालको मुठभेड रोक्न भने पनि उधारो सहमति गरेर जेठ १५ सम्म तन्काउने खेलमा लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment