+
+
Shares

मोबाइल फ्याँक्ने हो ? शनिबार टुँडीखेल जानोस्

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते ११:०७
Mobile-Throw
तस्बीर गुगलबाट ।

२३ पुस, काठमाडौं । यदि तपाईसँग चालु अवस्थामा रहेको फाल्टु मोबाइल छ भने शनिबार काठमाडौंको टुँडीखेलमा लगेर फालिदिन सक्नुहुनेछ । सुन्दा अचम्म लाग्ने यस्ताे अभियान नेपालमा पहिलोपटक हुन लागेको हो ।

राजधानीको टुँडीखेलमा पुस २६ गते शनिबार ‘मोबाइल फ्याँक्ने प्रतियोगिता’ हुँदैछ । यस प्रतियोगितामा जसले आफ्नो मोबाइल सबैभन्दा टाढासम्म फ्याँक्न सक्छ, उसले नयाँ स्मार्टफोन प्राप्त गर्नेछ ।

मोबाइल फ्याँक्ने प्रतियोगितामा सहभागी हुनका लागि तपाईले कन्डिसनमा रहेको मोबाइल र ब्याट्री चार्जरसमेत आयोजकलाई बुझाउनुपर्नेछ ।

रोटरी क्लब रुद्रमतीले मोबाइल फ्याँक्ने प्रतियोगिता आयोजना गर्न लागेको हो ।

महिला, पुरुष र १४ वर्ष मुनिको समुहमा प्रतिस्पर्धा हुने यस प्रतियोगितामा प्रत्येक समुहबाट तीन/तीन जनलाई नयाँ मोबाइल उपहारमा प्रदान गर्ने रोटरियन किशोर त्रिपाठीले अनलाइनखबरलाई बताए । प्रतियोगिता बिहान ११ बजेदेखि शुरु हुनेछ ।

तपाईले फ्याँकेको मोबाइल काम नलाग्ने गरी बिग्रन सक्छ । त्यसका लागि आयोजकले मोबाइल नबग्रिने तरिका अपनाउनेछन् । तपाईले पुरानो मोबाइल र चार्जर बुझाएपछि आयोजकले तपाईलाई डमी मोबाइल फ्याँक्न दिनेछन् । यसबाट जो प्रथम, द्वीतीय र तृतीय हुन्छन् तिनलाई असली नयाँ फोन दिइने छ ।

फ्याँकिएका मोबाइल मुगु पुर्‍याइने

दुर्गम क्षेत्रका बासिन्दालाई सूचना प्रविधिको पहुँचमा ल्याउन यो प्रतियोगिता आयोजना गर्न लागेको थापाले अनलाइनखबरसँग भने ।
संकलित मोबाइलहरु आयोजकले मुगुको दुर्गम गाविसमा वितरण गर्ने त्रिपाठीले जानकारी दिए ।

थापाका अनुसार अहिलेसम्म ४० वटा मोबाइल संकलन भएका छन् । रोटरी क्लवमा रहेका २५ जना रोटरियनहरुले २/२ वटाका दरले मोबाइल उपलब्ध गराउन आग्रह गरेको उनले बताए ।

करिव २ सय जनाले प्रतियोगिताकै दिन मोबाइल उपलब्ध गराउने प्रतिवद्धता जाहेर गरेका छन् । ‘हाम्रो लक्ष्य करिव डेढ सय मोबाइल संकलन गर्ने हो, प्रतिवद्धताअनुसार प्राप्त भएमा तीन सय पुग्नेछ’ त्रिपाठीले भने- ‘केही नभएको पनि सयवटा मोबाइल संकलन हुने निश्चित देखिएको छ ।’

त्रिपाठीले पुराना मोबाइल दिएर प्रतियोगितामा सहभागी हुन सर्वसाधारणलाई आग्रह गरेका छन् । ‘घरमा फाल्टु अवस्थामा रहेको मोबाइल दिएर कुनै दुर्गम क्षेत्रका बासिन्दाहरु सूचनाको पहुँचमा आउन सक्छन् भने यस्तो प्रतियोगितामा सहभागिता जनाउन किन आनकानी गर्ने ?’ उनले भने ।

यो प्रतियोगितामा इन्टेक्स मोबाइलले मुख्य प्रायोजन गरेको छ । यदि तपाईसँग मोबाइल छैन भने एक हजार रुपैयाँ तिरेर पनि प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरेको त्रिपाठीले जानकारी दिए ।

‘एक घर, एक महिला, एक मोबाइल’

संकलित मोबाइलमा एक/एकवटा सीम प्रदान गर्ने नेपाल टेलिकमले प्रतिवद्धता जनाएको त्रिपाठीले बताए । मुगु जिल्लाको एउटा गाउँका बासिन्दालाई सीमसहितको मोबाइल प्रदान गरिने उनले बताए । यो प्रतियोगिताको नारा ‘एक घर, एक महिला, एक मोबाइल’ राखिएको छ ।

फिनल्यान्ड लगायतका केही देशमा आयोजना हुने गरेको यस प्रकारको प्रतियोगिताले नेपालीहरुको पनि मन जित्न सफल हुने आयोजकले अपेक्षा लिएको छ । प्रतियोगितामा सहभागी हुनका लागि आयोजकको आधिकारिक फेसबुक पेजको सहयोग लिन सक्ने त्रिपाठीले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?