+
+
Shares

खाना पकाउने ग्यास सकियो ? केही दिन पर्खनोस् !

अनलाइनखबर अनलाइनखबर
२०७१ पुष २३ गते १७:४७

२३ पुस, काठमाडौं । के तपाईको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव छ ? पर्खनोस् ग्यासको अभाव पूर्ति गर्न आयल निगमलाई अझै केही दिन लाग्ने भएको छ ।

Gass-line-at-Pokhara

  • पोखराको गैरापाटनमा खाना पकाउने ग्यासको लागि लाम लागेका उपभोक्ताहरु । तस्वीर : पवित्रा कँडेल

खाना पकाउने एलपी ग्यासको चरम अभाव बेहोरिरहेका उपभोक्ताहरु समस्या केही दिनभित्रै समाधान हुने नेपाल आयल निगमले जनाएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी निगमले एलपी ग्यासको चरम अभाव हटाउन अपूर्ति बढाइएको बताएको छ ।

डिसेम्बर महिनाको तुलनामा जनवरीमा ६ हजार १ सय १४ मेट्रिक टन थप ग्यास आयात गर्न लागेको निगमको भनाइ छ ।
जाडो मौसममा ग्यासको खपत बढेको र पैसावालले धेरैवटा सिलिन्डर किनेर घरमा लुकाएकाले बजारमा अभाव खड्किएको निगमका अधिकारीले स्वीकार गरेका छन् ।

‘बजारमा ग्यासको अभावलाई दृष्टिगत गरी इन्डियन आयल कर्पोरेशनसँग जनवरी महिनामा अतिरिक्त ग्यास माग गरेका छौं’ निगमका कार्यकारी निर्देशक डा. चण्डिका भट्टले भने- ‘अबको केही दिनमा बजारमा ग्यासको अभाव समाप्त हुने छ ।’

भारतबाट कम ग्यास भित्रिएको र माघ ८ मा बन्दहडताल हुन सक्ने हल्लाले पनि ग्यासको खपत बढाएको कतिपयको तर्क छ ।

निगमका कार्यकारी निर्देशक भट्टले केही दिनमा बजारमा ग्यासको सहज आपूर्ति हुने बताए पनि कति दिनपछि अभाव कम हुन्छ भनेर जवाफ दिन सकेनन् ।

निर्देशक भट्टले हरेक उपभोक्ताको भान्छामा एउटा-एउटा सिलिन्डर पुग्ने गरी बजारमा ग्यास पठाइसकेको दाबी गरे ।

अघिल्लो डिसेम्बरको तुलनामा यस डिसेम्बरमा ८ सय ८९ मेट्रिक टक कम ग्यास आयात हुँदैमा बजारमा चरम अभाव देखिनुलाई शंकाको दृष्टिले हेर्छन् राष्ट्रिय उपभोक्ता महासंघका अध्यक्ष प्रेमलाल महर्जन ।

निगमको निरीहपनको फाइदा उठाउँदै ग्यास उद्योगीहरुले कीर्ते डिलर खडा गरेर बजारमा ग्यास पठाउँदा चरम अभाव देखिएको ग्यास बिक्रेता महासंघका पूर्वअध्यक्ष ज्ञानेश्वर अर्यालले बताए ।

अर्यालले भने कीर्ते डिलरमार्फत ग्यास बजारमा जाँदा सर्वसाधारण उपभोक्ताको भान्छासम्म ग्यास पुग्न नसकेको बताए ।

निगमका अनुसार भारतका विभिन्न रिफाईनरीबाट विगत ६ दिनमा ग्यासको आपूर्ति तथा लोडिङ करिव ४ हजार २ सय ८७ मेट्रिक टन अर्थात ३ लाख १ हजार ९ सय १ सिलिन्डर ग्यास बजारमा आइसकेको छ । यसले पनि ग्यासको अभाव कम गर्ने भट्टको दाबी छ ।

निगमले बजारमा ग्यासमा भएको कालोबजारीलाई मध्यनजर गर्दै अनुगमनलाई तिब्रता दिएको बताए पनि दोषी भने अझै फेला पार्न सकेको छैन ।

अहिलेसम्म कति जनालाई कारबाहीको दायरामा ल्याउनुभयो भन्ने पत्रकारको प्रश्नमा निगमका कार्यकारी निर्देशक भट्ट नाजवाफ भए ।

भट्टले बजारमा ग्यासको आपू्र्ति सहज हुन थालिसकेको दाबी गरे पनि अहिलेसम्म सर्वसाधारण उपभोक्ताले ग्यास  पाउन सकेका छैनन् । अन्य मौसममा भन्दा जाडो मौसममा ग्यासको माग बढी हुने हुँदा अभाव चर्किदै गएको हो ।

पैसावालाहरुले घरमा ८/१० वटासम्म ग्यास राखिदिँदा पनि ग्यासको सहज आपूर्ति गर्न नसकेको कार्यकारी निर्देशक भट्टले बताए । बजारमा पुर्‍याएको ग्यास पैसावालहरुले केही रकम बढी तिरेर होल्ड गरिदिएपछि अभाव ज्यूँका त्यूँ देखिएको हो ।

माग बढी, आपूर्ति कम

अहिले नेपाली बजारमा औषत मासिक २२ हजार ३ सय मेटि्रक टन ग्यास खपत हुँदै आएको छ । डिसेम्बर महिनामा १८ हजार ८ सय ८६ मेटि्रक टनमात्र ग्यास आयात भएको निगमले बतायो । अघिल्लो डिसेम्बरमा १९ हजार ७ सय ७५ मेटि्रक टन ग्यास आयात भएको थियो ।

थप गरिएको पेट्रोलियम आपूर्ति अवस्था

पेट्रोलियम डिसेम्बर-२०१४ जनवरी- २०१५ वृद्धि
पेट्रोल २२,९४१ के.एल २५,००० के.एल २,०५९ के.एल
डिजेल ८०,६८० के.एल ९२,००० के.एल ११,३२० के.एल
मट्टतिेल १,४७६ के.एल १,४७६ के.एल
एल.पी. ग्यास १८,८८६ मे.टन २५,०० मे.टन ६,११४ मे.टन

निगमले ग्याँसमात्र नभई बजारमा अभाव देखिएको पेट्रोल र डिजेलको आपूर्ति समेत जनवरी महिनामा बढाएको छ । निगमका अनुसार गत डिसेम्बरमा २२ हजार ९ सय ४१ किलोलिटर पेट्रोल आयात गरिएकोमा जनवरी महिनामा २५ हजार किलोलिटर आयात गरिँदै छ ।

त्यसैगरी, गत डिसेम्बरमा ८० हजार ६ सय ८० किलोलिटर डिजेल आयात गरिएकोमा जनवरीमा ९२ हजार किलोलिटर डिजेल आयात गर्ने निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको स्टक वृद्धि तथा बिक्री वितरण सहज तुल्याउन निगमले बैकल्पिक व्यवस्था समेत गरेको छ । जसअनुसार भारतको रक्सौल डिपोबाट दिइरहेको पेट्रोलियम पदार्थको परिमाण हालको बजार माग भन्दा कम भएकाले बरौनी रिफाइनरीमा दैनिक थप १५ टैंकर (कुल ५० वटा टैंकर) परिचालन गरी करिव ३ लाख लिटर आयात गर्ने व्यवस्था मिलाइएको निगमका अधिकारीले बताए ।

भारतको बतालपुरबाट दैनिक करिव २० वटा टैंकर परिचालन गरी दैनिक रुपमा पेट्रोल र डिजेल गरी करिव ४ लाख लिटर थप आयात गरिरहेको निगमले जनाएको छ ।

बिराटनगरको पेट्रोलियम पदार्थको मौज्दात राम्रो भएकाले त्यस क्षेत्रमा चल्ने टैंकरहरु बरौन-अमलेखगञ्ज रुटमा परिचालन गरी दैनिक करिव ६ लाख लिटर थप पेट्रोलियम आयात गर्ने व्यवस्था बुधबारदेखि मिलाएको बताइएको छ ।

४७२ करोड ऋण तिरियो

निगमले कर्मचारी संचय कोषको ऋण रकम एक अर्ब ५० करोड रुपैयाँ र इन्डियन आयल कर्पोरेशनको पहिले देखिको बक्यौता रकम ३ अर्ब २२ करोड रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।

निगमले असोज १३ गतदेखि स्वचालित मूल्य प्रणाली लागू गरी हालसम्म ७ पटक मूल्य समायोजन गरी पेट्रोलमा २१ रुपैयाँ ५० पैसा र डिजेल/मट्टीतेलमा १५/१५ रुपैयाँ तथा हवाइ इन्धन आन्तरिकतर्फ १० रुपैयाँ घटाइसकेको छ ।

तेलको मूल्य ५० डलरमा झर्‍यो

यसैबीच अमेरिकामा तेलको मूल्य प्रतिव्यारेल ५० डलर भन्दा तल झरेको छ । यो पाँच वर्ष यताकै कम मूल्य हो । तेलको मूल्य अझै घट्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेपछि नेपालमा पनि घट्ने सम्भावना बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?