Comments Add Comment

लाइसेन्स ओगट्ने ४२ वायुसेवा कम्पनीको अनुमति खारेज

closed Airliance of nepal-1

२४ पुस, काठमाडौं । वर्षौंदेखि लाइसेन्स होल्ड गरेर बसेका ४२ वटा वायुसेवा कम्पनीको उडान सञ्चालन अनुमति (एओसी) खारेज भएको छ । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति लिएर पनि सेवा सञ्चालन नगरेपछि यी कम्पनीहरुको एओसी खारेज गरिदिएको हो ।

प्राधिकरणले हालसम्म ५९ वटा वायुसेवा कम्पनीलाई एओसी प्रदान गरेको थियो । जसमध्ये ४२ वटा कम्पनीको एओसी पछिल्लो एक वर्षमा खारेज गरेको छ । उड्डयन क्षेत्रको सुधार गर्नका लागि प्राधिकरणले सञ्चालनमा नरहेका कम्पनीको एओसी खारेज गरेको हो ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले २००९ मा गरेको अडिटका क्रममा नेपाली उड्डयन क्षेत्रमा विभिन्न कमी कमजोरीहरु औंल्याएको थियो ।

त्यतिबेला औंल्याइएका कमी कमजोरीलाई कम गर्न प्राधिकरणले तयार पारेको कार्य योजनाको प्रगति मूल्यांकन गर्न आएको आइकाओको ‘भ्यालिडेसन मिसन’ले मूल्यांकनमा समस्या देखिएको भन्दै चासो देखाएको थियो ।

प्राधिकरणले ०६९ कार्तिक १७ गतेदेखि नयाँ एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसिआर) लागू गरेको थियो । त्यसयता नेपाली उड्डयन क्षेत्रको सुधार गर्नका लागि प्राधिकरण कस्सिएर लागेको हो । लाइसेन्स होल्ड गरेर बस्ने कम्पनीमाथि प्राधिकरण कडा रुपमा प्रस्तुत हुन थालेको छ ।

प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमनले १६औं वाषिर्कोत्सवमा उड्डयन क्षेत्रको सुधारका लागि आफूहरु लागिपरेको बताउँदै ४२ वटा कम्पनीको एओसी खारेज गरेको बताएका थिए । उनका अनुसार एओसी खारेज गरिनु सुधारअन्तर्गतको एउटा काम हो ।

एओसी खारेज भएका कम्पनीहरु

प्राधिकरणले एशियन एयरलाइन्स, लुम्विनी एयरवेज, नेपाल एयरवेज, एभरेष्ट एयर, निकोन एयर, मनकामना एयरवेज, कर्णाली एयर सर्भिस, गोर्खा एयरलाइन्स, डाइनेष्टी एभियसन, हिमालय हेलिकप्टर, कस्मिक एयर, अल्पाइन एयरको एओसी खारेज गरेको छ ।

त्यसैगरी, गरुड एयर, निकोन एयर, एयर नेपाल इन्टरनेशनल, यति एयरवेज, गोर्खा एयरलाइन्स, ट्रान्सकन्टिनेन्टल, माउन्टेन एयर, मनाङ एयर, फ्लाइट केयर एभियसन, सांगि्रला एयर, एरोन एयर, स्काई लाइन एयरवेज, अग्नी एयरको एओसी पनि खारेज गरिएको छ ।

त्यस्तै बेस एयर, नेपाल एयरलाइन्स, इम्प्रो एयरवेज, मेरो एयर, हिमचुली हेलिकोप्टर, यति एयरलाइन्स इन्टरनेशनल, मुक्तिनाथ एयरलाइन्स, बुद्ध इन्टरनेशनल, श्री इन्टरनेशनल, स्काईटेक हेलिसफारी, आकाश भैरव एयर, स्वीफ्ट एयर, बीबी एयरवेज, नमस्ते नेप्लिज, ब्लू एयरवेज, फ्लाइङ ड्रागनको एओसी पनि खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

जसमध्ये भगवान बुद्ध (बीबी एयरवेज) अल्पाइन एयर, यती एयर इन्टरनेशनल, एयर सांगि्रला अन्तर्राष्ट्रिय उडान भर्ने कम्पनी हुन् ।
सञ्चालनमा रहेका कम्पनीहरु

प्राधिकरणका अनुसार अहिले नेपाल एयरलाइन्स कर्पोरेसन, बुद्ध एयर, यति एयर डोमेष्टिक, सिता एयर, सिमि्रक एयरलाइन्स -गुन एयरलाइन्स), मकालु एयर, गोमा एयर, तारा एयर, एयर काष्ठमण्डप, एयर डाइनेष्टिक हेलीकप्टर, सिमि्रक एयर, श्री एयरलाइन्स, फिष्टेल एयर, मनाङ एयर, माउन्टेल हेलिकप्टर, मुक्तिनाथ एयरलाइन्स र सौर्य एयरलाइन्स सञ्चालनमा रहेका छन् ।

जसमध्ये नेपाल एयरलाइन्स कर्पोरेशन, बुद्ध एयर, श्री एयरलाइन्सले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुबै उडान भरिरहेका छन् ।

अहिले १७ वटा वायुसेवा कम्पनीहरु सञ्चालनमा रहेका छन् । जसमध्ये नियमित उडानका १० वटा र ७ वटा हेलिकप्टर रहेका छन् । एओसिआर लागू गरेपछि प्राधिकरणले उड्डयन खेलकुदलाई एओसीबाट पृथक गरी एभियसन स्पोर्टस अपरेटर सर्टिफिकेट (एएसओसी) मा रुपान्तरण गरेको छ ।

जसअनुसार प्राधिकरणले हालसम्म २७ वटा उड्डयन खेलकुद कम्पनीलाई एएओसी प्रदान गरिसकेको छ ।  जसमध्ये एउटाको एएसओसी रद्ध भएको र हाल २१ वटा प्याराग्लाइडिङ कम्पनी र ३ वटा अल्ट्रालाइट सञ्चालनमा रहेको महानिर्देशक सुमनले बताएका छन् ।

एओसी खारेज गरिएका कम्पनीहरुले वषौर्ंसम्म जहाज नल्याउने र कम्पनी देखाएर अन्तर्राष्ट्रिय बार्गेनिङ गर्ने गरेको प्राधिकरणको आरोप छ । वायुसेवाको लाइसेन्स होल्ड गरेर बस्ने, तर जहाज ल्याउने अत्तोपत्तो नभएपछि बाध्य भएर एओसी खारेज गर्नुपरेको प्राधिकरणको दाबी छ ।

प्राधिकरणले एउटा वायुसेवाको आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि दुईवटा लाइसेन्स खारेज गरेर एउटै दिएको छ । बुद्ध र श्री एयरलाइन्सको दुईवटा लाइसेन्स हटाएर एउटै लाइसेन्स दिएको प्राधिकरणले बतायो । दुईवटा लाइसेन्सका विषयमा पनि आइकाओले प्रश्न उठाएको थियो ।

बुद्ध एयरले भारतको वाराणसीमा उडान भर्दै आएको छ भने श्री एयरलाइन्सका ३ वटा ठूला हेलिकप्टर संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा छन् ।

युरोपेली युनियनले आइकाओको रिपोर्टलाई आधार बनाएर नेपालको समग्र उड्डयन क्षेत्रलाई कालोसूचीमा राखेपछि प्राधिकरणलाई सुधारका काम अगाडि बढाउन दबाब सिर्जना भएको छ । गत वर्ष कालोसूचीमा राखेको ईयूले यस वर्ष पनि सुधार हुन नसकेको भन्दै कालोसूचीलाई निरन्तरता दिएको छ ।

प्राधिकरणले तोकिएका मापदण्ड पुरा नगरेपछि उडान सञ्चालन भएका केही कम्पनीहरु सूचीबाटै हटेको बताएको छ । वायुसेवा सञ्चालन गर्नका लागि प्राधिकरणले तोकेका मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने उसको भनाइ छ । अझै ६ वटा वायुसेवाको एओसी यस वर्ष पनि खारेजीकै सूचिमा रहेको प्राधिकरणले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment