Comments Add Comment

फिरिङ्गीले लेखेको इतिहास र पृथ्वीनारायण शाह

Badribishal pokhrelप्रा.डा.बद्रीविशाल पोखरेल

पृथ्वीनारायण शाहको नायकत्वमा भएको नेपाल एकीकरणका विषयमा अतिवादी र अन्धवादी मूल्याङ्कन गरिएको पाइन्छ । क्रिश्चियन पादरीलाई नेपालबाट कुटनैतिक तरिकाले निष्कासन गरिदिएको झोंकमा पृथ्वीनारायण शाह र उनले गरेको एकीकरणका समयमा नभएका ज्यादतीको पनि चर्चा गरिएको देखिन्छ ।

एकीकरणका समयमा सयभन्दा बढी स्थानमा लडाइँ भएको पाइन्छ तर अन्त कतै नभएको निर्मम सामूहिक अङ्गभङ्ग कीर्तिपुर एकीकरणमा भएको अतिवादी व्याख्या गरिएको इतिहासविद्को भनाइ रहेको छ ।

विशेष गरेर अङ्ग्रेज लेखकले परस्पर बाझिने असत्य अतथ्य मूल्याङ्कन गरेका छन् । पादरी जोसेप्पीले लण्डनबाट प्रकाशित हुने कृतिमा कीर्तिपूरमा एकीकरणका क्रममा बाँसुरी बजाउने बाहेक सब जनताको नाक मुख काटेर भीषण नरसंहार गरेको चर्चा गरेको पाइन्छ । उनले त कीर्तिपुरलाई शाहले नकटापुर नाम राखेको कुरा समेत बताएका छन् ।

कप्तान कर्कपेटि्रकले लडाइँमा समातिएका पुरुष जति सबैको नाक काटिदिएको उल्लेख गरेका छन् कुनै एक व्यक्तिले अङ्ग्रेजी रेजिमेन्ट हग्सनलाई लेखेको पत्रमा कीर्तिपुरका पराधीन जनताको बाह्र धार्नी भन्दा बढी नाक काटेको रिपोर्ट दिएको देखिन्छ ।

खरिदार बुद्धिमान सिंहले १७ धार्नी एक सेर नाक काटेको बताएका छन् । तर, शत्रु भए पनि वीरको कदर गर्ने स्वभावका शाहले चौकोटका वीर महेन्द्र रायका परिवारलाई भत्ता दिएको देखिन्छ । तर, एकीकरण महाअभियानका विरोधीलाई शाहले निर्ममतापूर्वक दमन गरेको पाइन्छ ।

ललिताबल्लभको लेख अनुसार आत्मसमर्पण गरेपछि पनि कीर्तिपुरे सिपाहीले गोर्खाली लडाकालाई झुक्याएर मारेको हुँदा ती काँतरलाई मार्नु उचित नठानी तिनलाई निरुत्साहित पार्न त्यसबेला पोइल जाने नारीका नाक काटेझैँ गरी नाकका टुप्पाका नथुनी काटेर कुरुप गराएको कुराको अतिवादी व्याख्या कर्कप्याटि्रकले गरेको बताइन्छ । यस्ता नकटाको संख्या १५, २० जनता भन्दा धेरै नभएको उल्लेख गरिएको छ ।

इतिहासविद् ज्ञानमणि नेपालले पनि ललिताबल्लभको तात्कालिक लेखाइअनुसार केही व्यक्तिलाई नाक काटेर बिरुप बनाइएको कुरामा सहमति जनाएका छन् । तर जोसेप्पी जस्ता केही अतिवादीले भने अतिशयोक्तिपूर्वक कीर्तिपुर युद्धको चर्चा गरेको र पृथ्वीनारायणको दुर्नाम गर्ने दुस्साहस गरेको इतिहासकार बताउँछन् । एक त छापाको अक्षरको प्रभाव त्यसमाथि पनि फिरङ्गीले लेखेको इतिहास भनेपछि नेपाल एकीकरणका विरोधी भावनालाई भड्काउन त्यसले ठूलै मलजल गरेको अनुभव हुन्छ ।

वैचारिक विकासको पृष्ठभूमि

पृथ्वीनारायण शाहको उच्च तथा उदात्त मनोरचनामा घरायसी शिक्षादीक्षा, बानी व्यहोराको गहिरो प्रभाव देखिन्छ । उमेरसितै शाहले सामाजिकीकरणका क्रममा प्राप्त अभ्यास र अनुभवबाट शाहको मनोविज्ञानमा गहिरो प्रभाव पारेको देखिन्छ । त्यसमा पनि चुम्बकीय क्षमताको मस्तिष्क भएका शाहले समग्र नेपाल मात्र होइन, छिमेकी भारतस्थित बेलायती उपनिवेशका नीति र नियतलाई पनि गहिरो गरी अध्ययन गरेको देखिन्छ ।

पृथ्वीनारायण शाहको लालन-पालन नरभूपाल शाहको प्रत्यक्ष निर्देशनमा जेठी आमा चन्द्र प्रभावतीबाट भएको पाइन्छ । पाँच वर्षको उमेरमा अक्षरारम्भ गराइएका शाहले आठ नौ वर्षमा घोडचढी अभ्यास गरेको देखिन्छ । उनले ब्रतबन्ध गरेपछि वेद, सप्तशती आदि श्तोत्र पाठ, शुक्रनीति, कामन्दकीय नीति, रामायण, महाभारत, सामान्य व्यावहारिक गणित पढेका थिए ।

उनले उमेरअनुसारको शस्त्रविद्याको शिक्षा ग्रहण गरे । शास्त्र विद्यामा दत्तचित्त रहने शाह शस्त्र विद्यामा पनि सानैदेखि रुचि राख्थे । उनले दरौँदी नदीमा पौडी खेल्ने अभ्यास पनि गरेका थिए । ग्ाोरखा दरबारमा बिहान बेलुका नियमितरुपमा पुराण पाठ भइरहन्थे । प्रति वर्ष चौमासा पुराण पनि लगाइन्थे । यिनमा रामायण, महाभारत, भागवत आदि अठार पुराण पाठ गरिन्थे ।

व्याकरण, ज्योतिष, वेद, रुद्री, गीता, चाणक्यनीति, पञ्चतन्त्र, हितोपदेश र सप्तसती आदि पढ्ने काम राजा प्रजा र भाइभारदारले गर्थे । नीतिशास्त्रमा उल्लेख गरिएका राजा वा शाषकले नगरी नहुने ५ कर्तव्य वा ५ यज्ञ लाई पृथ्वीनारायणले पालना गरेको उनको व्यवहारबाट थाहा पाइन्छ ।

पृथ्वीनारायण शाहको मानसिक विकासमा सनातन/हिन्दू धार्मिक संास्कृतिक औपचारिक वा अनौपचारिक शिक्षाको प्रभाव परेको देखिन्छ । कौटिल्यको अर्थशास्त्र, मनुस्मृति, याज्ञवल्क्य स्मृति राजधर्म जस्ता कृतिको प्रभाव परेको पनि पाइन्छ । यसैको प्रभावका कारण शाहमा आवश्यक धार्मिक, सांस्कृतिक, भाषिक लचिलोपन व्यावहारमा नै देखिन्छ ।

यही उदार, सहिष्णु सांस्कृतिक प्रभावस्वरुप नेपालका सबै जात, जाति, धर्म र सम्प्रदायका प्रचलन परम्परा रीत, भाषा भेषहरूलाई यथायोग्य स्थान, मान र सम्मान शाहले व्यवहारमा नै देखाएका हुन् ।

उनले काशी भारत पुगेर त्यहाँको राजनैतिक वस्तुस्थितिको अध्ययनका साथै शस्त्र संग्रहसमेत गर्न पुगेका हुन् । पृथ्वीनारायण शाहको मनोरचनामा राजमाता चन्द्रप्रभावतीको व्यक्तित्वको दूरगामी प्रभाव देखिन्छ ।

दक्षिणतिरबाट तीर्थाटन गर्न आउने सनातनी विद्वान् सन्त,महन्त र अनुभवी व्यक्तिहरू गोरखा राज्यको नेतृत्वमा हिमाली सनातनी हिन्दू अधिराज्य संगठित तथा विस्तारित हुने आशा र भरोसा राख्थे । विद्वानहरूका यस्ता उत्साहप्रद विचारबाट समेत शाह प्रोत्साहित हुन्थे ।
माताकै प्रेरणाले पृथ्वीनारायण उपत्यकाको वास्तविक राजनीतिक गम्भीर ज्ञान लिन मित बाबाको राज्य भक्तपुर गएका थिए । उनकै प्रेरणाले बाबुका पालामा क्षणिक आवेशमा भएका काम कार्यवाही सच्याउन लगाएकी थिइन् । उनकै प्रेरणा र प्रोत्साहनमा शाहमा महान् शक्तिशाली राष्ट्रनिर्माण गर्ने भावना जागृत भएको विज्ञ बताउँछन् ।

हरेस नखाने, धैर्यशील रहने, लक्ष्यमा अडिग रहने आदि क्षमताका विकासमा पनि माताले महत्वपूर्ण सरसल्लाह दिएको देखिन्छ । सफल, आदर्श र कुटनैतिक क्षमतायुक्त राजाका विशेषताका बारेमा पनि माताले महत्वपूर्ण अर्तीबुद्धि प्रदान गरेको देखिन्छ ।

अन्तर्देशीय परिस्थितिका बारेमा जानकार भएपछि छोराको नेतृत्वमा दक्षिण छिमेकीको आक्रमण र अतिक्रमणबाट यो हिमाली भूखण्डलाई बचाउन सकिएला भन्ने कुरामा राजमाता आश्ाावादी थिइन् । र, शाहले नेपालको एकीकरण गर्ने आवश्यक सैद्धान्तिक जुक्तिबुद्धि पाएको इतिहासविद् बताउँछन् ।

वस्तुगत परिस्थिति

पृथ्वीनारयण शाहका पालामा बाइसे चौबिसे राज्य रजोटाका बीचमा बारबार झैझगडा हुँदा जनताको दैनिक जीवन अत्यन्त कष्टपूर्ण भइरहेको थियो । यो आम हिमाली भूखण्डका जनसमुदायले भोगेको साझा समस्या देखिन्छ ।

यस्तो कष्ट भोगिरहेका जनताले विभाजित राज्यरजौटाका कारण उत्पन्न समस्याको प्रत्यक्ष अनु भवजन्य शिक्षाबाट पाएको सन्देश हो । यस्ता अनेक टुक्रामा विभाजित राज्यमा केही सीमित शाषक र तिनका वारपरका व्यक्तिहरू खुसहालमा रहे पनि आम जनता अत्यन्त कष्ट र कहरका स्थितिमा थिए ।

त्यसबेला एकअर्का राज्यमा आउजाउ, भेटघाट, बरव्यवहार, बन्दव्यापार जस्ता विषयमा साह्रै संकट भोगिरहेको स्थिति देखिन्छ । एकअर्का राज्य रजौटाका जनता, व्यापारी कुटिने, पिटिने, लुटिने र मारिन पनि सक्थे । बिहे गर्दा लावालस्कर सहित जन्तीका साथ विवाहमा जाने परम्परा गरगहना आदि धन र जिउ जोगाउने नियतले सुरु भएको मोदनाथ प्रश्रति बताउँछन् ।

यस्तो झगडा परस्परका दाजुभाइका बीचमा जीवन समाप्त पार्ने तहसम्मको हुन्थ्यो । चेपेनदीमा गरिएको शान्ति र सहमतिको सम्झौता विपरीत एकअर्कालाई झुक्याएर शाह घरानाहरू एकआपसमा सशस्त्र भिडन्तको कुराले त्यतिबेलाको भयावह स्थितिलाई स्पष्ट पार्छ । यस कुराको स्पष्टता कालु पाँडे र गङगाधर पन्तलाई लेखेको पत्रमा गरेको देखिन्छ ।

न्यून चेतनाको त्यो समयमा एकअर्का राज्यमा आउजाउ गरेको भेटिए लुटिने र कुटिने टड्कारो समस्याले आम हिमाली जनता साह्रै पिरोलिएका थिए । यस स्थितिका कारण आम जनता परस्परमा शान्ति, समुन्नतिसहितको एकीकृत राज्यको पक्षमा मानसिक तथा भौतिक रूपमा रहेको वास्तविकता देखिन्छ ।

आम जनताको यसखालको साझा मनोविज्ञानले नेपाल एककिरणलाई बल पुर्‍याएको स्पष्ट हुन्छ ।

.सं.१७९१ मा मकवानपुरबाट फर्किर्ँदा चन्द्रगिरी डाँडाबाट उपत्यकालाई हेरेर नेपाल कुन हो भनी सोध्दा तीन सहर देखेर त्यहाँको पनि राजा हुन पाए हुन्थ्यो भावना जागृत भएको देखिन्छ । सुरुमा विशाल राज्यको राजा हुने इच्छा भए पनि पछि इष्टइन्डिया कम्पनी सरकार भारतको अतिक्रमण आक्रमणबाट जोगाउन विशाल नेपालको निर्माण गर्न चाहेको देखिन्छ ।

द्वन्द्ववादी मूल्यांकन

निर्भीकतापूर्वक सत्यतथ्य प्रकाशन नगर्दा पनि अन्तर्कि्रया हुन पाउँदैन । मैदान खाली भएपछि धुलोमैलोले पर्याप्त खेल्ने मौका पाउने नै भयो । तर यस्तो नकारात्मकता यतिमा मात्र सीमित छैन, आफूलाई द्वन्द्ववादी भनाउने व्यक्ति र समूहमा यस विषयमा अतिवाद हाबी भएको पाइन्छ । तर, पुष्पलालले यो अभियान र अभियन्तालाई सकारात्मक कोणबाट मूल्याङ्कन गरेका छन् ।

साहित्यकार हृदयचन्द्रसिंह प्रधानले शाहलाई महान् सपूत बताएका छन् । चीनको एकीकरण गर्ने सामन्तवादकालीन शीहहृवाङ जस्ता सम्राट्को उच्च मूल्याङ्कन गरी तिनको संरक्षण गर्नुपर्ने कुरा माओले समेत जोड दिएको देखिन्छ ।

पृथ्वीनारायण शाहले मूलत गोरखाका राजा भएकाले नेतृत्व गर्ने औसर पाएका हुन् । अवसर पाए पनि अयोग्यता नदेखाउने पनि इतिहासमा पाइन्छन् । यसमा व्यक्तिको लालन पालन, रेखदेख,उचित शिक्षा र संस्कार तथा उसको ग्रहणशीलतामा निर्भर हुन्छ ।

व्यक्तित्व निर्माणका अवसरलाई सदुपयोग गरेर जनभावनाको आकांक्षा अनुरूप उच्च उदात्त तथा राजकीय कुशल नेतृत्वले पृथ्वीनारायण शाह अभियन्ता बनेका हुन् ।

उनको महानतम योगदान र भूमिकालाई राजा वा राजतन्त्रसित मात्र जोड्ने कि एकीकरणमा महान् त्याग, समर्पण र बलिदानलाई समेत सँगसँगै स्मरण गर्ने भन्ने विषय पनि उठ्ने गरेका छन् ।

त्यसैले पृथ्वी जयन्ती मात्र भन्दा नायकसित केन्दि्रत विषय बन्छ । तर, एकीकरण दिवस भन्दा समग्र महानतम अभियान केन्द्रमा आउँछ । त्यसैले नेपाल एकीकरणको प्रारम्भ वा कीर्र्तिपुर विजयको दिनलाई मुख्य आधार मानेर नेपाल एकीकरण दिवस/पृथ्वी जयन्ती मनाउनु सान्दर्भिक हुन्छ । त्यही दिन सार्वजनिक बिदा गर्दा पनि हुन्छ ।

युग पुरुषले युगको नेतृत्व लिनुपर्छ । समाज र राष्ट्रका अगुवाले सधैँ भिडका पछाडि दौडनु पनि हुँदैन । तीतो सत्य बेलामा बोल्नसक्नुपर्छ ।
संसारकै सामरिक दृष्टिले अत्यन्त संवेदनशील यस मुलुकलाई अचानो बनाउन सक्ने नियत विभिन्न घटना र परिघटनाबाट अवगत हुन थालेको छ । तसर्थ यदाकदा ग्यालिलिओ, ब्रूनो, आदिजस्तै भएर नेपाल नेपालीको अस्तित्वको रक्षाका लागि राष्ट्रिय उचाइमा रहेर निस्पक्ष विचार प्रवाह गर्नुपर्छ ।

थोरैले धेरैलाई प्रभावित तथा परिचालित गर्ने क्षमताका प्राज्ञिक व्यक्तित्व नै कुहिराको काग हुने हो भने र तत्काल हुने आलोचनाबाट डराउने हो भने कुनै पनि देश अधोगतितिर लाग्यो भन्ने ठाने हुन्छ । बेलाको बोली र मौकाको काम मात्र कामयाबी हुन्छ । नत्र दायाँ वा देब्रे अतिवादले राष्ट्रिय आस्थाको झण्डा, गौरवशाली गाथा, गान, मान र नाम बदनाम गरिदिन सक्छ । तर, इतिहासलाई समग्रतामा निषेध गर्ने र समग्रतामा व्यक्तिपरक चर्चामा मात्र सीमित गरिनु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment