Comments Add Comment

माघ ८ : सिंहदरबार कब्जा भएको ऐतिहासिक रात

१ माघ, काठमाडौं । माघ ८ मा संविधान जारी हुन सके नेपालको इतिहासमा यो दिनलाई ऐतिहासिक दिनका रुपमा सम्झन सकिन्थ्यो । तर, केही छैन, संविधान जारी नभए पनि माघ ८ एउटा ऐतिहासिक दिन नै हो । रामप्रसाद राई र डा. केआइ सिंहको नेतृत्वमा सिंहदरबार कब्जाको प्रयास माघ ८ गतेकै रात भएको थियो ।

KI-sing
डा. केआइ सिंह

नेपालको इतिहासमा राजा महाराजाले गरेको ‘कु’ बाहेक जनताको तर्फबाट सिंहदरबार कब्जा गर्ने प्रयास गरिएको पहिलो घटना विसं.२००८ माघ ८ गते रातिको हो । विदेशमा विद्रोहमार्फत् केन्द्रीय सत्ता कब्जाका घटनाहरु हुने गरे पनि नेपालमा चाँहि रामप्रसाद राई र डा. केआइ सिंहबाहेक अरुले यस्तो दुस्साहस गर्न सकेका छैनन् ।

सिंहदरबार कब्जा गरेर मन्त्रीहरुलाई नारायणहिटीतिर खेदिसकेपछि डा. केआइ सिंहले सर्वदलीय सरकार बनाउनुपर्ने माग गरेका थिए । तर, सेनाले २४ घण्टामा सिंहदरबार फिर्ता लियो । केआइ सिंह भाग्न सफल भए भने रामप्रसाद राईसहितका विद्रोहीहरु मारिए ।

यसरी भएको थियो सिंहदरबार कब्जा

दिल्ली सम्झौताको विरोध गर्दै भैरहवामा विद्रोह गरेका डा. केआइ सिंहलाई सरकारले डाका घोषणा गरेर गिरफ्तार गरेको थियो । उनलाई पाल्पाको जेलबाट रातारात काठमाडौंमा ल्याएर थुनिएको थियो । रक्षा दलका रामप्रसाद राई र अग्निप्रसाद खरेलहरु पनि सदर जेलमा थुनामा थिए । यसैवीच २००८ माघ ८ गते थुनामा रहेका रक्षा दलका सिपाहीले विद्रोह गरे ।

रक्षादलका विद्रोही सिपाहीले राति नै बारुदखाना, तोपखाना, बन्दूकखाना, मुलुकीखाना, सिंहदरबार सेक्रेटरियट र अरु प्रमुख स्थानहरु कब्जा गरेर टेलिफोनको तार काटिदिए ।

माघ ९ गते बिहान केआइसिंह नेतृत्वको रक्षा दलका विद्रोही, राष्ट्रिय महासभाका केही सदस्य र कम्युनिष्ट पार्टीका कार्यकर्ताले जीपमा चढेर क्रान्ति र शान्तिको माइकिङ गर्न थाले ।

मन्त्रीहरु भागेर नारायणहिटीमा शरण लिन पुगे । त्यसबेला मात्रिका कोइरालालाई हटाएर त्रिभुवनले आफैं सरकार चलाइरहेका थिए ।

विद्रोहीले सिंहदरबार कब्जा गरेपछि माघ ९ गते बिहान टुँडिखेलमा सेना तैनाथ भए । नारायणहिटीबाट पनि सेना थपियो र सिंहदरबारमाथि धावा बोलियो ।

दिउँसो १२ बजेसम्म शहरका विभिन्न भागमा कब्जा गरी बसेका विद्रोहीहरु पक्राऊ परे ।

करिब तीन घण्टासम्म टुँडीखेल र सिंहदरबारबाट दोहोरो फायरिङ भयो । सिंहदरबारभित्रबाट विद्रोहीले र टुँडीखेलबाट सेनाले फायरिङ गरे । केही सैनिक घाइते भए । एकजना नागरिकको मृत्यु भयो । रक्षादलका ड्राइभरको मृत्यु भयो । अन्ततः विद्रोहीहरु सिंहदरबारको पर्खाल नाघेर भाग्न थाले ।

विद्रोह सुरु हनासाथ आ-आफ्नो घरबाट लुक्दै राजदरबारमा शरण लिन पुगेका थिए ।

माघ ९ गते बिहानै केआइ सिंहलाई भेट्न गणेशमान सिंह र टंकप्रसाद आचार्य सिंहदरबार गए । केआइसिंहले राजालाई हामी रक्तपात चाहँदैनौं, केवल आत्मरक्षा चाहन्छौं र सर्वदलीय सरकार गठन होस् भन्ने माग राख्न चाहन्छौं भन्ने खबर पठाए ।

तर, दरबारबाट यसको उत्तर लिएर आउँदासम्म केआइ सिंहले सिंहदरबार छाडिसकेका थिए । अन्ततः माघ १० गतेसम्म काठमाडौंको स्थिति समान्य बन्यो ।

डा. केआइ सिंह र रामप्रसाद राई अंकित हुलाक टिकट
डा. केआइ सिंह र रामप्रसाद राई अंकित हुलाक टिकट

सिंहदरबार विद्रोहमा सामेल योद्धामध्ये रामप्रसाद राई मारिए । भागेर चीनमा शरण लिइरहेका डा. केआइ सिंहलाई ६ वर्षपछि २०१४ साल साउनमा नेपाल झिकाएर तत्काली राजा महेन्द्रले १० महिना प्रधानमन्त्री बनाए ।

बहादुर योद्धा केआइसिंह नेपाली कांग्रेसले दिल्ली सम्झौता गरी राणाहरुसँग सम्झौता गरेकोमा रुष्ट थिए । राणा शासन ढाल्न भैरहवा मोर्चाको नेतृत्व गरेका सिंहले क्रान्तिका बेला गठन भएको सैन्य शक्ति र क्रान्ति जारी राखेपछि राज्यले उनलाई दमन र गिरफ्तार गरेको थियो । त्यसैले उनले बहादुरीपूर्वक सिंहदरबार कब्जा गरेर जनपक्षीय सर्वदलीय सरकार गठनको माग गरेका थिए । यद्यपि उनी यसमा सफल हुन सकेनन् । पछि प्रधानमन्त्री बनेपछि सिंह संविधानसभा विरोधी बने ।

नेपाल सरकारले डा. केअाइ सिंहलार्इ पोलिटिकल लिडर भन्दै २ रूपैयाँको हुलाक टिकट जारी गरेको छ । त्यस्तै प्रजातान्त्रिक योद्धा रामप्रसाद रार्इको नाममा ७५ पैसाको हुलाक टिकट जारी भएको छ ।

(गृष्मबहादुर देवकोटाद्वारा लिखित ‘नेपालको राजनीतिक दर्पण’को सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment