Comments Add Comment

पहाड र उपत्यकाभन्दा तराईमा मूल्यवृद्धि धेरै

 khadhyanna1४ माघ काठमाडौं । गत वर्षको तुलनामा यो वर्ष मूल्य वृद्धिदर घटेको छ । तर, यो वर्ष काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा भन्दा तराईमा उपभोग्य वस्तुको मूल्य केही बढी देखिएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार क्षेत्रगत आधारमा विश्लेषण गर्दा यस वर्षको समीक्षा अवधिमा तराई क्षेत्रको मूल्य सूचकाङ्कमा ७.२ प्रतिशतले वृद्धि भएको छ । काठमाडाै उपत्यका र पहाडमा भने मूल्य सूचकाङ्कमा ६.९ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

गत वर्षको सोही अवधिमा मूल्य सूचकाङ्कहरुको वृद्धिदर तराईमा १०.९ प्रतिशत थियो भने काठमाडौं उपत्यकामा १०.७ प्रतिशत र पहाडमा ८.७ प्रतिशत मूल्यवृद्धि भएको थियो ।

यस्तो छ मूल्यवृद्धिको तथ्यांक

चालू आर्थिक वर्षको मंसिर महिनामा वाषिर्क विन्दुगत उपभोक्ता मूल्य वृद्धिदर ७ प्रतिशत भएको नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक स्थितिमा उल्लेख छ । गत वर्षको मंसिर महिनामा मूल्य वृद्धिदर १०.३ प्रतिशत थियो ।

राष्ट्र बैंकका अनुसार मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकाङ्क वृद्धिदर ९.८ प्रतिशत छ । गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकाङ्क ४.८ प्रतिशतले बढेको छ । गत वर्षको यसै अवधिमा यी समूहहरुको मूल्य सूचकाङ्क क्रमश ः १४.५ प्रतिशत र ६.७ प्रतिशतले बढेको थियो ।

मंसिर महिनामा खाद्य तथा पेय पदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये सुर्तीजन्य पदार्थ उपसमूहको मूल्य सूचकाङ्कको वृद्धिदर सबैभन्दा बढी अर्थात २३.५ प्रतिशत रहेको छ । गत वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकाङ्क ९.९ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकका अनुसार गत वर्षको मंसिर महिनामा क्रमशः ९.६ प्रतिशत र ५.४ प्रतिशतले बढेको मदिराजन्य पदार्थ उपसमूह र दाल तथा गेडागुडी उपसमूहको मूल्य सूचकाङ्क यो वर्षको मंसिर महिनामा क्रमशः १९.४ प्रतिशत र १३.७ प्रतिशतले बढेको छ ।

त्यसैगरी, फलफूल उपसमूह र खाद्य तथा खाद्यजन्य पदार्थ उपसमूह दुबैको मूल्य सूचकाङ्कमा १३.३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त उपसमूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः १६.८ प्रतिशत र १२.९ प्रतिशतले वृद्धि भएको थियो । गत वर्षको मङ्सिर महिनामा १.५ प्रतिशतले बढेको घ्यू तथा तेल उपसमूहको मूल्य सूचकाङ्क समीक्षा अवधिमा ०.४ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा गैर-खाद्य तथा सेवा समूहका वस्तुहरुमध्ये लत्ता कपडा तथा जुत्ताचप्पल उपसमूहको मूल्य सूचकाङ्क सबैभन्दा बढी अर्थात ७.६ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा यस उपसमूहको मूल्य सूचकाङ्क ११.७ प्रतिशतले बढेको ।

त्यस्तै, समीक्षा अवधिमा स्वास्थ्य उप-समूह र फर्निसिङ्ग तथा घरायसी उपकरण उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.९ प्रतिशत र ६.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उक्त उपसमूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ५.७ प्रतिशत र ८.४ प्रतिशतले वृद्धि भएको थियो ।

त्यसैगरी, समीक्षा अवधिमा अन्य वस्तु तथा सेवा उप-समूह र मनोरञ्जन तथा संस्कृति उप-समूहको मूल्य सूचकाङ्कमा क्रमशः ६.३ प्रतिशत र ५.७ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा उल्लिखित दुबै उपसमूहहरुको मूल्य सूचकाङ्कमा क्रमशः ८.२ प्रतिशत र ६.० प्रतिशतले वृद्धि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment