Comments Add Comment

‘विश्व बैंकलाई उर्जा क्षेत्रमा लगानी गर्ने वातावरण बनेको छ’

Finance-Minister

५ पुस, काठमाडौं । अर्थमन्त्री डा. रामशरण महत र नेपाल भ्रमणमा रहेकी विश्व बैंकअन्तर्गत दक्षिण एसिया हेर्ने उपाध्यक्ष एनेट डिक्सनबीच सोमबार भेटघाट भएको छ ।

सो अवसरमा अर्थमन्त्री महतले नेपालको समग्र आर्थिक अवस्था सन्तोषजनकरुपमा अगाडि बढिरहेको उपाध्यक्ष डिक्सनलाई जानकारी गराए । नेपालको आवश्यकता, योजना र प्राथमिकता अनुसार सहयोग गर्ने बैंकको चार बर्षे रणनीतिका बारेमा सन्तुष्टि व्यक्त गर्दै उनले आगामी दिनमा बैंकलाई उर्जा तथा पूर्वाधार क्षेत्रमा सहयोगको आवश्यकता रहेको बताए ।

नेपालले सन २०२२ सम्ममा विकासशील मुलुकको दाँजोमा पुग्ने संकल्प गरेको उल्लेख गर्दै उनले यसका लागि नेपाललाई पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक भएको जानकारी गराएका छन् । उनको भनाई थियो, नेपालले सामाजिक क्षेत्र र आर्थिक संवेदनशीलताका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेपनि प्रतिव्यक्ति आम्दानीका दृष्टिले अझै धेरै काम गर्नुपर्ने आवश्यकता छ ।

विश्व बैंक समूहले नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने चासो र गम्भीरता देखाएकोमा प्रशंसा गर्दै अर्थमन्त्री महतले हालै भारतसँग भएको विद्युत व्यापार सम्झौता र सार्क सम्मेलनताका भएको प्रसारण लाइन जोड्ने सम्झौताले नेपालमा लगानी गरी उत्पादन हुने बिजुलीको दक्षिण एसियाको बजार सुरक्षित भएको र यसमा मूठी खोलेर लगानी गर्न सकिने वातावरण सिर्जना भएको उल्लेख गरे ।

अर्थमन्त्री डा. महतले नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अगाडि बढिरहेको जानकारी पनि दिएका थिए ।

उपाध्यक्ष डिक्सनले ऋण भुक्तानीसम्वन्धी नेपालको क्षमता बढेको कारणले अनुदान घटेको स्पष्ट पारिन् । उनको भनाई थियो, तर नेपालले विश्व बैंकबाट प्राप्त गर्ने सहुलियतपूर्ण ऋणको आकार बढ्ने भएकोले समग्रमा बढी रकम पाउने र ऋण लिएको मिति तथा भुक्तानी मितिबीचको पैसाको मूल्य हिसाव गर्दा अझ बढी लाभ पुग्नेछ । उपाध्यक्ष डिक्सनले नेपालको आर्थिक सुधार कार्यक्रमबारे पनि जिज्ञासा राखेकी थिइन् ।

सोही अवसरमा अर्थमन्त्रालयका सचिव सुमनप्रसाद शर्माले उर्जाको अभाव नेपालको सबैभन्दा ठूलो समस्या भएको उल्लेख गर्दै यस क्षेत्रमा हुने सहयोग विनियोजनलाई छिटो कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए ।

त्यसैगरी, नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय प्रतिनिधि जोहानेस जुटले नेपालले अहिले प्राप्त गर्ने सहुलियतपूर्ण ऋण अन्तर्गत पनि ५५ प्रतिशतसम्म अनुदानको हिस्सा हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment