७ माघ, काठमाडौं । नामिबियालाई पराजित गर्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वान नजिक पुगेको छ । बुधबार भएको आफ्नो चौथो खेलमा नेपालले घरेलु टोली नामिबियालाई ३ विकेटले पराजित गर्यो ।
जितसँगै नेपालको ६ अंक भएको छ । समान अंक जोडेको नामिबिया रन रेटका आधारमा शीर्ष स्थानमा छ । केन्यासँगको अन्तिम खेलको परिणाम अघि नै नेपाल डिभिजन टूमै रहने पक्का भएको छ । तर, डिभिजन वानमा पुग्न भने अन्तिम खेलमा जित आवश्यक छ ।
अनलाइनखबरसँग कुरा गर्दै प्रशिक्षक पुवुदु दशानायकले नजिताबाट आफू निकै खुसी रहेको बताए । उनले भने-‘हामी अझै रिल्याक्स गर्ने अवस्थामा छैनौं । एक खेल बाँकी छ ।’
नामिबियाले प्रस्तुत गरेको १४३ रनको लक्ष्य नेपालले कप्तान पारस खड्काको अर्धशतकको मदतमा ३७.३ ओभरमा ७ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको सुरुवात भने निकै खराव थियो । ओपनर नरेश बुढायरको ठाउँमा सागर पुन खेलेका थिए । तर, उनी नेपालको स्कोर ८ रन हुँदा व्यक्तिगत ७ रनमा आउट भए । दोस्रो विकेटका रुपमा अर्का ओपनर सुवास खकुरेल व्यत्तिगत ४ रनमा आउट हुँदा नेपालको स्कोर २७ रन थियो ।
तर, कप्तान पारस र उपकप्तान ज्ञानेन्द्र मल्लले नेपालको पारी सम्हाले । उनीहरुले ५८ रनको साझेदारी परे । २४.३ ओभरमा नेपालको स्कोर ८५ रन हुँदा नेपालले तेस्रो विकेटका रुपमा ज्ञानेन्द्र ३१ रनमा गुमायो ।
पारसले विनोद भण्डारीसँग मिलेर नेपाललाई जिततर्फ डोर्याए । कप्तान पारस ६४ रनमा आउट भए, जुन नेपालको चौथो विकेट थियो ।
५६ बलको सामना गरेका पारसले ६ चौका र ३ छक्का हाने । उनले जारी प्रतियोगितामा एकै इनिङमा सर्वाधिक ६ छक्काको कीर्तिमान बनाएका छन् । यससँगै उनको प्रतियोगिताको सर्वाधिक तेस्रो रन १६५ भएको छ । यसअघि क्यानडाविरुद्धको खेलमा पनि उनले ७७ रन बनाएका थिए ।
नेपाली कप्तान पारसले प्रतियोगितामा सर्वाधिक चौका र छक्का हानेका छन् । उनले छ छक्का हानेका छन् भने १८ चौका हानेका छन् ।
पारस आउट भएपछि भने नेपालले १६ रन पुरा गर्न थप तीन विकेट गुमायो । विनोद भण्डारी १८, शरद भेसवाकर ७ र आरिफ शेख १ रनमा आउट भए ।
बसन्त रेग्मी ७ र सोमपाल कामी २ रनमा अविजित रहे । नेपाललाई १ रन चाहिएको अवस्थामा बसन्त रेग्मीले चौका हान्दै नेपाललाई जित दिलाए ।
यसअघि टस हारेर पहिले व्याटिङ गरेको नामिबियाले ४९.१ ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो । उसलाई सस्तैमा समेट्ने क्रममा करण केसीले तीन विकेट लिए भने सोमपाल कामी, बसन्त रेग्मी र शक्ति गौचनले समान २-२ विकेट लिए ।
क्यानडा र नेदरल्याण्ड विजयी
बुधबार भएको अन्य खेलमा क्यानडा र नेदरल्याण्ड विजयी भएका छन् । क्यानडाले युगाण्डालाई १११ रनले पराजित गरेको छ । ६ विकेटको क्षतिमा २९३ रन बनाएको क्यानडाले युगाण्डालाई १८२ रनमा अलआउट गर्यो ।
अर्को खेलमा केन्यालाई ५ विकेटले हरायो । केन्याले ९ विकेट गुमाएर २१२ रन बनायो । जवाफमा नेदरल्याण्डले मात्र ३०.५ ओभरमा ५ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
अन्तिम खेल अघि नामिबिया ६ अंकसहित शीर्ष स्थानमा छ । रन रेटमा आधारमा नेपाल दोस्रो स्थानमा रहृयो । समान ४ अंक जोडे पनि रन रेटका आधारमा क्यानडा तेस्रो र नेदरल्याण्ड चौथो स्थानमा छ ।
केन्या र युगाण्डा भने रेलिगेशन नजिक छन् । दुबैले समान २/२ अंक जोडेका छन्
खेलको लाइभ अपडेट यस्तो थियो