Comments Add Comment

केपी ओलीलार्इ विद्युतीय चिठी

सम्माननीय भावी प्रधानमन्त्री केपी ओलीज्यु नमस्कार

आज यो परदेशी भूमिबाट तपाईलार्इ केही भन्न मन लाग्यो  । हुन त भोलि फेरि भन्नुहोला, यी ठेट्नाहरु कराउँदै गर्छन्, काम छैन, फेसबुकमा कुर्लन्छन् ।

तपाईं सहरिया सभ्यता सिकेको मान्छेको नजरमा म त असभ्य मान्छे, किनकि म गरिब हुँ, म गाउँबाट परदेशमा श्रम गर्न आएको मान्छे हुँ । मेरा परिवार गाउँमै खेतीपाती गरी जसोतसो जिविका चलाइरहेका छन् । तपार्इको सभ्यता मलार्इ थाहा छैन  । त्यसैले म आफ्नो असभ्य भाषामा केही कुराहरु राख्न चाहन्छु यही पत्रमार्फत ।

KP Oli (2)तपार्इकै भाषामा तपार्इजस्ता समाजका सभ्य अनि हामीजस्ता असभ्य मानिसहरुको देश नेपाल आज फेरि अनिर्णयको बन्दी बनेको कुरा मलार्इ महसुस भएको छ, जुन बनाउनमा तपार्इको पनि ठूलो हात छ  । किनकि तपाईं यो देशको एउटा प्रमुख पार्टीको अध्यक्ष, संसदीय दलको नेता, सरकारको सहयात्री सबै हुनुहुन्छ ।

आज नेपाल गभिर मोडमा गइरहेको छ । देशको अवस्था के हुन्छ, भन्ने थाहा छैन  । एकपटक युद्धको झड्का बेहोरिसकेका जनता फेरि पनि कतै त्योभन्दा भयाबह स्थितिको सामना गर्न पर्ने त हैन भन्ने त्रासमा बाँचिरहेका छन् । जुन स्थिति सिर्जना हुनमा तपार्इमा देखिएको घमन्ड, दम्भ, अहंकार र हेपाहा प्रवृति नै मुख्य हो जस्तो लाग्छ ।

आखिर यो दम्भ अहंकार र घमण्ड केका लागि र किन ? के सधैं उखान टुक्काले मात्र देश हाँक्ने सपना देख्नुभएको हो ? के सधैं अरुलार्इ गाली गर्नु नै तपार्इको विशेषता हो ? आखिर किन स्वीकार्न सक्नुहुन्न अरुको अस्तित्वलार्इ ?

हुन त इतिहास हेर्ने हो भने पनि तपाईं गणतन्त्र र संविधान सभाको बिरोधी हुनुहुन्छ । गणतन्त्रको निम्ति हजारौंको जनसागर रत्नपार्कमा बलिदानी दिन तत्पर हुँदा राजाको पासमा बसेर अट्टहास गर्दै नेपालमा गणतन्त्र आउनु र ठेलागाडामा चढेर अमेरिका जानू एकै हो भनेर ब्यङ्य गर्ने पनि तपार्इ नै हो । तर, तपार्इको ब्यङ्यतालार्इ जनताले असफल पारेरै छाडे । गणतन्त्र ल्याइसकेपछि जसको पछिपछि तपाईं पनि आउन बाध्य हुनुभयो ।

गणतन्त्र नआएको भए तपाईं कता हुनुहुन्थ्यो ? कहाँ हुनुहुन्थ्यो ? सोच्नुभाको छ ? बर्गिय मुक्तिको निम्ति नेपालमा जनयुद्ध हुँदै गर्दा दबाउनका निम्ति तपार्इको पार्टी एमाले र काङ्ग्रेसले तत्कालीन राजासँग मिलेर अनेक प्रयास गरेकै हुन् । प्रचण्ड, बाबुराम लगायतका नेताहरुको टाउकाको मूल्य तोकेकै हो । जुन कुरा सबैलार्इ जगजाहेरै छ ।

जुन र जस्तोसुकै अबरोध गरे पनि आखिर जनयुद्ध सफल भएरै छाड्यो  । त्यही जनयुद्धको आडमा २३८ बर्षे राजतन्त्रको अन्त्य र गणतन्त्र को स्थापना भैछाड्यो र आज तपाइलार्इ गणतन्त्रको नयाँ राजा बन्ने भुत चढेको छ । आज त्यही गणतन्त्र ल्याउन आफ्नो जीवनको बलिदानी दिन तत्पर हजारौं गरिब, निमुखा, महिला, मुश्लिम दलित, जनजाति, सीमान्तकृत र पिछडिएका वर्गलार्इ अधिकार दिन किन आनाकानी गर्दै हुनुहुन्छ ?

अधिकार माग्नेहरु कसरी बिखण्डनकारी भए ? जसले गणतन्त्र र संविधानसभाका जन्मदातालाई बाँदर भन्ने तपार्इको एक्ले ढेडु प्रवृतीलाई के भन्ने ? ठिकै छ, हामी बाँदर भयौं, हामी जङ्गली भयौं, तर किन त्यही बाँदर र जङ्गलीहरुले त्याग, तपस्या र बलिदानी दिएर ल्याएको गणतन्त्रमा नयाँ राजा बनी शासन गर्न खोज्दै हुनुहुन्छ ?

तपार्इको घमण्डले यो देशलार्इ कहाँ पुर्याउला ? के तपाईं यो देशको राजा बन्न चाहेकै हो  ? अनि के सक्नुहोला यो देशको राजा बन्न ? अनि सबैले तपाइलार्इ राजा स्वीकार गर्लान् ? अनि गरेनन् भने के गर्नुहुन्छ कमरेड ? दमन, शोषण लाठीचार्ज ? कतिन्जेल कति जनामाथि गर्नुहुन्छ ? किनकि २३८ बर्षे राजाको दमन त सहेनन् भने तपार्इको शासन कसरी, कसले सहला ? सहँदैनन्  । कदापी सहँदैनन् ।

तपार्इ किन सहमति र सहकार्यलाई तोडेर दम्भ र अहंकारको राजनीति अँगाल्दै संविधानजस्तो चिजलार्इ बहुमतका आधारमा अगाडि बढाउन चाहनुहुन्छ ? कसको निर्देशनमा भैसकेको सहमतिलाई तोड्ने प्रयत्न गरेर जबरजस्ती गर्दै हुनुहुन्छ ? के यो देश के.पी ओलीको मात्र हो ?

तपाईले जनताको अधिकारको कुरा गर्नु देश र जनताप्रतिको माया केबल हात्तिको चपाउने दारा मात्र हुन् जस्तो लाग्छ ।  हुन त सौताको छोराको माया कसलार्इ पो हुन्छ र  ? कतै तपाइलार्इ पनि त्यही भएको त हैन  ? जनतालार्इ अधिकार दिँदा देश टुक्रन्छ भनेर भ्रम फैलाउन कुन नैतिकताले दियो ? त्यसैले कमरेड बेलैमा सोच्नुस  । बिचार गर्नुस्  । क्षणिक आवेग, आक्रोश र पदीय लोलुपताको भुत पालेर यो देश र जनताको अधिकारमाथि धावा बोल्ने प्रयत्न नगर्नुस्  । यो देशलार्इ गम्भीर मोडमा लैजाने दुष्प्रयास नगर्नुस्  ।

सम्बिधानसभा बाहिरका शक्तिलार्इ भित्र ल्याएर मिलाएर अगाडि लानुपर्ने तपार्इजस्तो जिम्वेवार ब्यक्तिले संविधानसभाभित्र भएकालार्इ पनि बाहिर पठाएर एकलौटी शासन गर्न खोज्नु भनेको यो देशलार्इ मुठभेड्तिर धकेल्नु हो । यसैले समयमै सोच्नुहोला  ।

अन्त्यमा, लेख्ने क्रममा केही नमिलेको भए क्षमाप्रार्थी छु ।

नवराज सिम्खडा

(अनलाइनखबरको कमेन्टबक्समा आएको  पाठक प्रतिक्रिया जस्ताको त्यस्तै)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment