१४ माघ, काठमाडौँ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले संविधान निर्माणका सम्बन्धमा देखिएको गतिरोध वार्ता र संवादको माध्यमबाट अन्त्य गरिने बताएका छन् ।
- जिल्ला पार्टी कार्यालयका सचिवलाई प्रमाणपत्र वितरण गर्दै प्रधानमन्त्री सुशील कोइराला लगायत । तस्वीर : रासस
बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ७५ वटै जिल्लाका नेपाली काँग्रेसका जिल्ला सचिवका लागि आयोजित चियापान कार्यक्रममा उक्त कुरा बताएका हुन् ।
नेपाली काँग्रेसले शासकीय स्वरुप, न्यायप्रणाली जस्ता विवादित विषयमा लचकता अपनाएको भन्दै उनले एनेकपा माओवादी र मधेसवादी दललाई आफ्नो मुद्दाबाटपछि हट्न आग्रह गरे ।
मुलुकमा अमनचयन, शान्ति, स्थायित्व र विकासका लागि लोकतन्त्र अपरिहार्य हुनेमा जोड दिँदै उनले लोकतन्त्र नमान्ने शक्तिलाई पनि लोकतन्त्रको मार्गमा उन्मुख गराउन लागिपरेको बताए ।
आन्दोलनले विकासको सम्भावना गुम्ने भन्दै विपक्षीलाई आन्दोलन छाडेर वार्तामा आउनसमेत प्रधानमन्त्रीले आग्रह गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य धनराज गुरुङ तथा नेपाली काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव ऋषिकेश तिवारीको उपस्थिति थियो ।
कोइरालाले तीन दिनसम्म चलेको जिल्ला सचिवलाई प्रशिक्षण दिने प्रशिक्षकलाई प्रमाणपत्र वितरण पनि गरेका थिए । रासस
प्रतिक्रिया 4