Comments Add Comment

मैले केटाहरुलाई खुब हेपेँ, प्रेमी पाउन गाह्रो छः इन्दिरा

सुमधुर स्वरसँगै कामुक हाउभाउमा नृत्य प्रस्तुत गर्ने इन्दिरा जोशीलाई धेरैले ‘नेपाली शाकिरा’का रुपमा टिप्पणी गर्छन् । रियालीटी शो नेपाली ताराको पहिलो सेरिजमै ‘टप फाइभ’ मा परेपछि उनले ब्यबसायिक संगीतयात्रा थालेकी हुन् । देशबिदेशका सांगीतिक कार्यक्रममा इन्दिरा यतिबेला सवैभन्दा धेरै माग भएकी गायिका हुन् । बर्षमा धेरै महिना उनले बिदेशमै बिताउने गरेकी छिन् । उनै इन्दिरासँग अनलाइनखबरले गरेको अन्तरंग कुराकानी ।

indira-joshi-hot

तपाई कस्तो परिवारमा हुर्किनु भयो एकल कि संयुक्त ?
न्युक्लियर फेमीली भन्नु पर्ला । हामी ६ दिदीबहिनी र एउटा भाई । मेरो ड्याडी चाँही परिवारको एक्लो छोरा । नवलपरासीको बञ्जरीया भन्ने गाउँमा खेतीपाती परेर बस्थ्यौं । बुबा ११ वर्ष हुँदा हजुरबुबा बित्नु भएको रे, हामीलाई हजुरआमाले हुर्काउनु भयो । परिवारमा नौ जना भए पनि एकल परिवार नै हो ।

तपाई कुन नम्बरकी छोरी ?
म पाँच नम्बरकी ।

दिदी बहिनीविच झगडा कत्तिको पर्थ्यो ?
अलिअलि त पथ्र्यो तर, सिरियस झगडा कहिल्यै भएन । हामी ५ जना निकै मिल्थ्यौ । ड्याडी ममीले हामीलाई छुट्टा छुट्टै बेड राखिदिनु भएको थियो तर, हामी तीनटा बेड जोडेर सुत्थ्र्यो । हाम्रो घरमा आउने पाहुनाहरु पनि अचम्म मान्थे ।

सबै भन्दा छुच्ची को थियो ?
सबैभन्दा बद्मास मै थिएँ । दिदी बहिनीलाई किरा फट्याङ्ग्रा फालिदिने, अरुलाई तर्साउने । सानोमा अति फोहारी थिएँ । धुलोमा धेरै खेल्नुपर्ने, धेरै कुद्नु पर्ने । मैले परिवारका सबैलाई सताएकी छु ।

अब त ठुली हुनुभयो । घरमा बिहेको कुरो त चल्दो हो नि ?
हाम्रोमा त्यस्तो चाँही छैन । छोरी अब २२ पुगी बिहे गर्नुपर्छ भन्नेमा ड्याडी ममी हुनुहुन्न । परिपक्क भएपछि मात्रै बिहे गर्नुपर्छ भन्नेमा हुनुहुन्छ । म त ३५ पछि मात्रै बिहे गर्छु ।

प्रेम बिबाह कि मागी ?
शायद म चाँही प्रेम बिबाह गर्छु होला । तीन जना दिदीहरुको बिबाह भैसक्यो । उहाँहरु सबैको मागी बिबाह नै हो ।

प्रेम बिबाह गर्छुहोला भन्नु भयो । अहिलेसम्म कोही आएको छैन तपाईको जीवनमा ?
कस्तो गार्‍हो छ । यो फिल्डमा लागेको मान्छेलाइ बुझिदिने कुनै पुरुष आएको छैन अहिलेसम्म ।

आउन त अयो होला । तपाईले प्रवेश नदिनु भएको हो कि ?
मन पराउनेहरु हुन्थे । स्कुलमै पनि त्यस्ता धेरै थिए । कति मेरा बेष्ट फ्रेण्डका दाईहरु थिए, जो मलाइ मन पराउँथे । ब्याचलर पढ्दै गर्दा एक जनासँग दुई महिनाजति डेट पनि गएँ । उहाँको परिवारले पनि मलाई मन पराउनु भएको थियो । उहाँको घर पनि गएँ । तर, उहाँ विदेश जानु भयो, अनि हाम्रो प्रेमकथा टुंगियो ।

स्कुलमा हुँदा त प्रेमपत्र आयो होला नि ?
indira joshi 1मैले स्कुल पढ्दासम्म प्रेमपत्रकै चलन थियो । मैले स्कुलमै हुँदा एउटा ग्रुप बनाएकी थिएँ । स्कुलमा म अति छुच्ची थिएँ । मैले एउटा ‘ब्वाइज हेटिङ गु्रप’ नै खोलेकी थिए । म त्यसको हेड थिएँ । त्यसकारण मलाई एउटा पनि चिट्ठी आएन । हामी केटाहरुलाई अति हेप्थ्यौं । सरले मलाई झाँसीकी रानी भन्नुहुन्थ्यो । मेलामा हिंड्दा कुइनाले हिर्काउने केटाहरुलाइ त मैले कुटेको पनि छु । नवलपरासीमा मात्रै हैन काठमाडौ आएपछि पनि कुइनाले हिर्काउनेहरुलाई कुटेकी छु ।

कस्तो स्वभावको श्रीमानको अपेक्षा गर्नु भएको छ । आफुले हेप्न मिल्ने कि तपाईलाइ हेप्ने खालको ?
म त भन्छु कहिल्यै कसैलाई हेप्नु नपरोस् । डोमिनेट गर्ने स्थिती आयो भने त मायाको कमी भैहाल्छ नि । यस्तो होस् कि मैले उसलाई माया दिन सकुँ र उसको माया लिन सकुँ ।

समग्रमा नेपाली पुरुषहरु कस्ता छन् ?
साँच्चो माया गर्नेहरु धेरै छन् । त्यो चाँही महिलाको चरित्रमा पनि भर पर्छ । नेपाली महिलाहरु पुरुषलाई धेरै विश्वास गर्छन् । एउटा पुरुषले राम्रो सहयोग गर्‍यो भने महिलाले धेरै प्रगति गर्छन जस्तो लाग्छ ।

रुप पनि त हेर्नुहुन्छ होला नि ? कस्तो केटाले झट्टै तान्छ ?
इमान्दार भएर भन्नुपर्दा हामी रुपलाइ त ध्यानै दिन्नौं बरु उसको बैंक ब्यालेन्स कति छ त्यसमा ध्यान दिन्छौं । रुपको वारेमा मेरो कुनै चासो छैन । अलिकति अग्लो भैदिए हुन्थ्यो । मैले हिल लगाएर हिंड्दा जोडी राम्रो देखियोस् भन्नका लागि मात्र हो ।

कस्तो परिवारको अपेक्षा गर्नु भएको छ ?
मलाइ चाँही अलि धेरै ब्यक्ति भएको घर मन पर्छ । मेरो बच्चा बच्चीलाई घरमै छाडेर प्रोग्राममा जान पाइयोस् ।

जेठी बुहारी कि कान्छी ?
मैले भनिहाले नि । मलाई ज्वाइन्ट फेमीली मन पर्छ । जेठी कान्छी जुन भएपनि फरक पर्दैन ।

ठुलो घरकी बुहारी बनेर गएपछि त घरको काम सबै जिम्मा लिनुपर्छ नि ?
खाना पकाउन, भाँडा माझ्न म सक्छु । म वर्किङ बुहारी भएकाले भान्साको सबै काम गर्नैपर्छ भनेर दबाब दिनुहुन्न होला मेरो सासु-ससुराले ।

भाँडा माझ्ने र भात पकाउने मध्ये रोज्नु पर्‍यो भने ?
म झाँडा माझ्ने काम नै रोज्छु । मस्काउने टल्काउने काम १० मिनेटमा सकिन्छ । पकाउन अलि धेरै बेर लाग्छ ।

तपाईले पकाउने मिठो परिकार के हो ?
मैले पकाएको चिया एकदमै मिठो हुन्छ । चिया पकाउन त म नम्बर वान नै हो । नुडल्स पनि खुब मिठो बनाउँछु । जाँगर लगाएर पकाएँ भने खाना पनि राम्रै पकाउँछु ।

कुनै दिन दिनभर खेतवारीको काम गर्न पर्ने भयो भने ?
त्यस्तो पर्‍यो भने म शायद बोट बिरुवा गोड्ने काम रोज्छु होला । किनकी मलाइ नेचरसँग काम गर्न मन पर्छ । नवलपरासीमा हुँदा पनि मैले खेतवारीमा काम गरेकी छु ।

स्कुले जीवनको सम्झना आउँछ ?
किन नआउनु । कत्ति रमाईलो हुन्थ्यो कति । साथीहरुलाई थरीथरीका पोष्ट कार्ड बाँडेको अहिले पनि याद आउँछ ।

कुन हिरोको पोष्टकार्ड किन्नु हुन्थ्यो ?
हिरोको त कहिल्यै किनिन । खुब नक्कल पार्नुपर्ने केटी थिएँ । दिब्या भारती असाध्यै राम्री लाग्थ्यो । केटी भएपछि केटीकै दिनुपर्छ भन्ने थियो ।

नक्कल पार्न के-के गर्नुहुन्थ्यो ?
कुरै नगर्नुस् । लिपिष्टक त लाउँदिनथिएँ । गाजल चाँही खुब लगाएँ । त्यो बेला लिक्वीड लाइनर चलेको थियो । ड्याडीले किनेर ल्याइदिनु हुन्थ्यो ।

ऐना अगाडी दिनमा कति पटक उभिनु हुन्थ्यो ?
दिदी बहिनीमा सबैभन्दा काली म थिएँ । म किन काली भएँ भनेर रिस उठ्थ्यो । ममीले भन्नु हुन्थ्यो- तँ बाउतिर गएर काली भएकी । म किन ड्याडीतीर गएकी होला जस्तो लाग्थ्यो ।

आफ्नै नजरमा तपाईका खराव बानी ?
म अति धेरै इमोस्नल छु । छिट्टै विश्वास गरिहाल्छु । पैसा दिनमा निकै अगाडी छु । तर, लिने मामलामा निकै पछाडी छु ।

त्यसो भए त तपाईले उठाउन बाँकी पैसा टन्नै होला नी ?
सबैले इमान्दरीपूर्वक काम लगाएको पैसा दिने हो भने अर्को एउटा गाडी किन्ने पैसा आउँछ ।

त्यसरि काम गराएर पैसा नदिनेहरु बिरुद्ध कानुनी उपचारको बाटो अपनाउनु भएन ?
एक दुई चोटी त मुद्धा पनि हालेँ । तर, नियमित फलो गर्न सकिएन । म मात्रै हैन काम गरेर पैसा नपाउने कलाकार धेरै छन् नेपालमा ।

तपाइको राम्रो बानी चाँहि के हो ?
म एकदमै सहयोगी छु कसैले म सँग सहयोग माग्यो भने नाइनास्ती गर्दिन, सकेको सहयोग गरिहाल्छु । यदि सहयोग गर्न सकिन भने निकै दुःख लाग्छ ।

मन्दिर कत्तिको जानुहुन्छ ?
जान्छु कहिलेकाँही । ब्राम्हण परिवारी छोरी भएकीले पनि धर्मप्रति विश्वास छ । गणेश भगवानको औंठी नै लगाएकी छु । यदि गणेश भगवानको फेशबुक भएको भए कति लाइक गर्थें होला । हरेक पटक स्टेजमा प्रवेश गर्नु अघि गणेश मन्त्र पढ्छु ।

घुम्न जान मन लागेको ठाउँ ?
नेपालमा त्यस्तो धेरै ठाउँ छन् । जहाँ गएर पनि इन्ज्वाइ गर्न सकिन्छ ।

एकदिनका लागि कसैलाइ डेटिङ लिएर जान पर्‍यो भने ?
डेटिङ त हैन । मलाई क्रिकेटर पारश खड्कासँग एउटा म्युजिक भिडियो खेल्न मन छ ।

पारशमा के छ त्यस्तो गुण ?
उहाँमा युवाहरुलाई इन्सपायर गर्ने फिगर छ । उहासंग मेरो भेट पनि भएको छ ।

तपाईलाई प्रभाव पार्ने नेपाली नायक कोही छ ?
सौगात मल्लवाट प्रभावित छु । उहाँलाई ब्यक्तिगत रुपमा पनि चिन्छु । उहाँ एकदमै सामान्य मान्छे । आफ्नो मेहनत र कर्मले यहासम्म आउनु भएको हो । उहाँको प्यासन हरेकले सिक्न लायक छ ।

नेपाली म्युजिक भिडियो भल्गर भयो भन्छन् नि । समग्र नेपाली म्युजिक भिडियो तपाइलाई कस्तो लाग्छ ?
अहिले नै नेपाली म्युजिक भिडियो भल्गर भयो जस्तो मलाई लाग्दैन । हाम्रो पि्रजेन्टेशन नपुगेको मात्रै हो । त्यति धेरै आलोचना गर्नुपर्ने स्थिती आइसकेको छैन ।

मदिरा र सिग्रेट चल्छ कि चल्दैन ?
सिग्रेट त म खानै सक्दिन । ककटेल कहिले काही खान्थें । यही जनवरी एकदेखि त्यो पनि छाडें । मदिराले शरीरका लागि त्यति राम्रो गर्दोरहेनछ ।

शरीर बिगार्‍यो भन्नु भयो । धेरै पिउनुहुन्थ्यो कि क्या हो ?
होइन, होइन । तपाइले मलाई कुनै पनि पार्टीमा रक्सि खाएको भेट्नुहुन्न । जहिले पनि परिवारसँग बसेर खान्थें । सिक्दा चाहिँ मैले साथीहरुसँग सिकेकी हुँ ।

जुत्ता कति जोर छ ?
मेरो खराब बानी जुत्ता धेरै किन्नु पनि हो मसँग ४० जोर जुत्ता छ । सबै भन्दा महंगो नौ हजारमा किनेको छु । कतिपय त सेलमा किनेको पनि छ ।

कपडामा आईरन गर्न आउँछ ?
जुत्तामा पालिस लाउन र कपडामा आइरन गर्न मलाई खुब मज्जा लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment