१८ माघ, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले बन्द, हड्ताल निरुत्साहित गर्न देशभर सञ्जाल बनाउने भएको छ । बन्दमा हुने भौतिक क्षतिको क्षतिपूर्ति दिन राहत कोष पनि खडा गरिने भएको छ ।
‘पटक-पटक हुने बन्द हड्तालले देशको अर्थतन्त्रमा समस्या ल्याएकाले बन्दको विकल्प खोज्न र बन्दको बेला व्यवसायीलाई हुने भौतिक क्षतिको क्षतिपूर्ति दिने योजना ल्याउँदैछौं,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेले भने ।
राहत कोषमा स्वतःस्फूर्त रकम जम्मा गर्ने व्यवस्था मिलाइने छ । यस्तै उद्योगी, व्यवसायी, बिभिन्न संघसंस्था, मजदुर लगायतको सहभागितामा बन्दविरोधी सञ्जाल बनाइने छ । सञ्जालले बन्द हड्तालको विकल्प खोज्न सहयोग गर्ने महासंघको भनाइ छ ।
बन्द विरोधी सञ्जाल र राहत कोषबारे निर्णय लिन काठमाडौंको टेकुस्थित महासंघको कार्यालयमा आइतबार पदाधिकारी बैठक बस्दै छ ।
राजनीतिक दल, तिनका भ्रातृ संगठन वा समूहले बिभिन्न बहानामा गर्ने बन्दका कारण लगानीको वातावरण बिगारिरहेकाले महासंघ बन्दविरोधी योजना बनाउने निष्कर्षमा पुगेको हो । ‘शान्तिपूर्ण बन्द हड्तालले नेपालमा लगानी गर्न इच्छुक स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित छन्,’ पाण्डेले भने, ‘हाम्रो यो कदमबाट राजनीतिक दलहरुलाई समेत दबाब पुग्ने विश्वास छ ।’
यसअघि महासंघले बन्दको विकल्प खोज्न दलहरुलाई आग्रह गर्दै दबावमूलक कार्यक्रम गर्दै आएको थियो । महासंघकै दबावमा दलहरुले चुनावी घोषणापत्रमा बन्द हड्ताल नगर्ने स्पष्ट उल्लेख गरेका छन् । यद्यपि दलहरुले त्यसको पालना गरेका छैनन् ।
एक दिन मात्र नेपाल बन्द हुँदा देशलाई २ अर्ब भन्दा बढी घाटा हुने गरेको व्यवसायीहरुको तथ्यांक छ ।
प्रतिक्रिया 4