+
+

माघ २३ भित्र बीमा कम्पनीले ‘कृषि शाखा’ खोल्न कठिन

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते ११:१४

beema२० माघ, काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको निर्देशन अनुसार निर्जीबन बीमाको व्यवसाय गर्दै आएका बीमा कम्पनीले माघ २३ गतेभित्र कृषि बीमाको कारोबार गर्ने छुट्टै शाखा खोलिसक्नुपर्ने भएको छ ।

समितिले गत पुस २४ गते एक महिनाभित्र कृषि शाखा खोल्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो ।

तर, माघ १९ गतेसम्म कुनै पनि कम्पनीले बीमा समितिले भनेजस्तो कृषि शाखा स्थापना गरेका छैनन् ।

के अब तीन दिनमा बीमा समितिले भनेजस्तो कृषि शाखा खोल्न सम्भव छ ? बीमक संघका अध्यक्ष तथा एनएलजी इनस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भन्छन्- ‘केही कम्पनीलाई सम्भव होला, तर अधिकांश कम्पनीलाई सम्भव छैन ।’

कर्मचारी व्यवस्थापन र शाखा खोल्ने ठाउँको पहिचान गर्न कठीन भएकाले बीमा समितिले तोकेको समयभित्र कम्पनीहरुले शाखा स्थापना गर्न नसकेको शाहको भनाइ छ ।

यद्यपि माघ २३ गतेसम्म बीमा कम्पनीहरुले ‘फलानो ठाउँमा’ शाखा खोल्छौं भनेर जानकारी गराउने उनले बताए ।

‘कम्पनीहरुले ठाउँ तोकेर बीमा समितिलाई जानकारी गरान मात्र सम्वभ छ’ शाहले भने- त्यसपश्चात बीमा समितिले बीमा कम्पनीहरुसँग छलफल गरेर स्थान मिलाएर स्वीकृति दिन्छ भन्ने हाम्रो अपेक्षा छ । एनएलजीले भने तोकिएको समयमा नै शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए ।

कृषि बीमा कार्यक्रमलाई प्रवर्द्धन गर्ने उद्देश्यले कृषि बीमा शाखा खोल्न निर्देशन दिएको बीमा समितिका निर्देशक राजुरमण पौडेल बताउँछन् । ‘हामीलाई विश्वास छ कम्पनीहरुले तोकिएको समयमा शाखा स्थापना गर्नेछन’ उनले भने- ‘समस्या आइपरे बीमा समिति त्यसको अन्त्य गर्न तयार छ ।’

नियामक निकायको परिपत्र भएकाले कम्पनीहरुले पालना गर्नेमा पौडेल विश्वस्त छन् ।
प्रत्येक कृषि शाखामा एकजना कृषि प्राविधिक रहनुपर्ने परिपत्रमा उल्लेख छ । परिपत्रसँगै सबै प्रकारका कृषि उत्पादनको बीमा गर्न सजिलो हुने उनको भनाइ थियो ।

‘यसअघि पनि सरकारले कृषि बीमा गर्ने कम्पनीलाई थुप्रै सहुलियत दिइसकेको छ’ पौडेलले भने – तर, अहिलेसम्म कम्पनीहरु कृषि बीमामा जान सकेका छैनन् । यो दुखद कुरा हो ।’

सरकारले चालु आर्थिक वर्षदेखि कृषि बीमा शुल्कको ७५ प्रतिशत अनुदान दिने व्यवस्था गरिसकेको छ । तर, बीमा कम्पनीहरु शहरकेन्द्रित हुँदा कृषि बीमा बढ्न सकिरहेको छैन । कृषि बीमालाई प्रभावकारी बनाउन समितिले कृषि शाखा स्थापना गर्न निर्देशन दिएको हो ।

तर, सो अनुरुपको आवश्यकता तयार हुन नसक्दा अझै पनि कृषि बीमाको प्रभावकारी कार्यान्वयन गर्न भने चुनौति छ ।
समितिले बीमा कम्पनीलाई प्रोत्साहनस्वरुप यस्तो शाखा स्थापना गर्दा लाग्ने खर्चलाई व्यवस्थापन खर्चमा गणना नगर्ने व्यवस्था गरेको छ । यसअघि समितिले ल्याएको ‘बीमकको सुशासनसम्बन्धी निर्देशिका ०६८’ मा कुल बीमा शुल्कको १.५ प्रतिशतभन्दा बढी व्यवस्थापन खर्च गर्न नहुने व्यवस्था गरेको थियो ।

बीमा समितिले तोकेको समय प्रर्याप्त नभएको यूनाइटेड इनस्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बीरबिक्रम रायमाझी बताउँछन् । ‘समितिले दुर्गममा शाखा खोल्न भनेको छ तर सबै कम्पनीहरु एकै क्षेत्रमा गए भने के हुन्छ ?’ उनले भने- समितिले कम्पनीहरुलाई बोलाएर क्षेत्र नतोकेसम्म कम्पनीहरु अन्योलमै छन् । आफूहरुले अन्य बीमा कम्पनीसँग छलफल गरिरहेको रायमाझीले जानकारी दिए ।
त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत भने बीमा समितिको निर्देशन नै भएकाले बीमा कम्पनीहरुले मान्नैपर्ने भएको बताउँछन् । ‘नियामक निकायको निर्देशनलाई हामीले मान्नैपर्छ’ बरालले भने -‘तर, समितिले तोकिएको समयावधिमा खोल्न भने अलि कठिन देखिएको छ ।’ समितिले अझ सहजीकरणको भूमिका खेल्नुपर्ने उनले बताए ।

लुम्बिनी जनरलले दोलखाको जीरी र सिन्धुलीको सीन्धुलीमाडीमा  कृषि शाखा स्थापना गर्ने प्रस्ताव बीमा समितिमा पठाइसकेको उनले जानकारी दिए ।
‘हामीलाई आशा छ चाँडै बीमा समितिले स्वीकृति दिने छ’ उनले भने । सिन्धुलीमाढीमा हालसम्म कुनैपनि बीमा कम्पनीको शाखा छैन ।

समितिले भनेको दुर्गम कहाँ-कहाँ भन्ने नै अलि प्रष्ट नभएको बरालले बताए । एक महिनामै नयाँ शाखाका लागि कर्मचारी खोज्नु, शाखा स्थापना गर्ने ठाउँ खोज्नु र त्यसको व्यवस्थापन गर्नु निकै चुनौतिपूर्ण भएको उनको भनाइ छ ।
‘भनेको समयमा न दक्ष जनशक्ति भेटिन्छन् न त शाखाका लागि उपयुक्त घर नै भेटिन्छ’ उनले भने ।

सञ्चालनमा रहेका १७ निर्जिबन बीमा कम्पनीहरुमध्ये लुम्बिनी, एनएलजी र पि्रमियर इन्स्योरेन्स लगायतले २३ गते अघि नै शाखा खोल्ने तयारी भइरहेको जनाएका छन् । तर, सोमबारसम्म भने उनीहरुले पनि शाखा खोलिसकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?