२० माघ, काठमाण्डौं । चीनको सिचुवान एयरलाइन्सले काठमाण्डौं उडानको अनुमति पाएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सिचुवानलाई काठमाण्डौं उडानका लागि अनुमति दिएको हो ।
सिचुवानले आफ्नो मुख्य आधार चेङ्दुबाट ल्हासा हुँदै काठमाण्डौंमा दैनिक उडान गर्ने छ । यसअघि फेब्रुअरीबाटै उडान गर्ने तयारी गरेको भएपनि उडान अनुमति पाउन ढिलाइ भएका कारण मार्चबाट काठमाण्डौं उडान सुरु गर्ने सिचुवानको तयारी छ ।
छिमेकी मुलुक चीनबाट काठमाण्डौं उडान गर्ने यो चौथो एयरलाइन्स हो । अहिले चीनबाट एयर चाइना र चाइना इष्टर्न एयरलाइन्सले दैनिक एक-एक उडान गरिरहेका छन् । चाइना साउदर्नले दैनिक दुई उडान गरिरहेको छ ।
पछिल्ला बर्षहरुमा चीनबाट नेपाल आउने पर्यटकको संख्यामा तिब्र बृद्धि भइरहेका कारण चिनियाँ एयरलाइन्सहरु नेपाल आउन उत्साहित देखिएका छन् ।
सन् २०१३ मा झण्डै १ लाख १३ हजार चिनियाँ पर्यटक नेपाल भ्रमणमा आएका थिए । हवाई संजालको विस्तार र सडकमार्गको सुधारसँगै आगामी केही बर्षमै चिनियाँ पर्यटकको संख्या बाषिर्क साढे दुई लाख बढि हुने सरकारी अधिकारीको अनुमान छ ।