+
+
Shares

गभर्नरले भने- बैंकका सञ्चालकलाई नै वित्तीय साक्षरताको खाँचो छ

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २० गते १७:३१

Governer२० माघ काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले बैंक तथा वित्तीय संस्थाका सञ्चालकलाई नै वित्तीय साक्षरता दिनुपर्ने बताएका छन । लहैलहैमा लागेर बैंकमा लगानी गरि सञ्चालक भएकाले सयौ सञ्चालकलाई वित्तीय साक्षरताको खाँचो भएको खतिवडाले बताए ।

कतिपय बैंकका सञ्चालकहरुले सामान्य बैंकिङ र लघुवित्तको बारेमा आफूलाई सोधेको उल्लेख गर्दै खतिवडाले भने- प्रसंगबस बैंक खोल्न पुगेका बैंकका सयौं सञ्चालकहरुलाई नै वित्तीय साक्षरताको आवश्कता छ ।’

आफूले तपाई बैंकको सञ्चालक भएर पनि आधारभूत बैंकिङको बारेमा थाहा छैन ? भनेर प्रश्न गर्दा सञ्चालकहरुले सबै काम प्रमुख कार्यकारी अधिकृतले गरेर बि्रफिङ मात्रै गर्छन, हामीले त बुझ्नै पाएनौ भन्ने उत्तर पाएको गभर्नरले बताए ।

‘सामान्य मानिसलाई चाहिनेभन्दा बैंकका सञ्चालकहरुलाई अलि माथिल्लोस्तरको वित्तीय साक्षरता दिनुपर्ने आवश्कयता महशुस गरेको छु’ उनले भने- ‘त्यस्तो साक्षरतामा राष्ट्र बैंक नै अघि बढ्छ ।’ वित्तीय क्षेत्रमा नयाँ र प्राविधिक शब्दहरुको विकास हुने भएकाले सिक्नका लागि कसैले पनि लाज मान्नु नहुने उनको भनाई थियो ।

मंगलबार राजधानीमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सुरु गरेको वित्तीय साक्षरता अभियानको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन ।

केका लागि वित्तीय साक्षरता ?

Governer2खतिवडाले वित्तीय पहुँच विस्तार गर्न, वित्तीय स्थायित्व कायम गर्न, समावेसी वित्तीय क्षेत्रको विकास गर्न र वित्तीय क्षेत्रलाई प्रविधिमैत्री बनाउन वित्तीय साक्षरताको आवश्कयता रहेको बताए । वित्तीय स्थायित्वबिनाको साक्षरताको कुनै अर्थ नरहेको उनको भनाई थियो ।

‘अवको साक्षरता वित्तीय पहुँच विस्तार गर्नेतर्फ भन्दा पनि वित्तीय स्थायित्व कायम गर्ने, प्रविधिमैत्री र समावेसी वित्तीय क्षेत्रतर्फ पनि जोड दिनुपर्ने हुन्छ’ उनले भने- ‘वित्तीय साक्षरता वित्तीय क्षेत्रको क, ख पढाउने मात्रै हुनुहुँदैन ।’ राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुसँगको सहभागितामूल साक्षरता अभियान सञ्चालन गर्न चाहेको उनले भनाई थियो ।

बीमा र पुँजी बजारको साक्षरता पनि सँगै

गभर्नरले वित्तीय क्षेत्रका अंगकारुपमा रहेका बीमा र पुँजी बजारको साक्षरता अभियान पनि सँगसँगै चलाउनुपर्ने बताए । ‘बैंकिङ क्षेत्रको साक्षरताले मात्रै वित्तीय स्थायित र समावेसीता हुन सक्दैन’ उनले भने -‘बीमा र पुँजी बजारका बारेमा पनि सँगसँगै साक्षरता अभियान सञ्चालन गर्नुहोस ।’ उनले कृषि कर्जा विस्तार गर्न बीमा आवश्यक भएको पनि उल्लेख गरे । त्यसैगरी, उनले रेमिटान्सको बैधानिक र अवैधानिक च्यानलको बारेमा पनि बैंकहरुले गाउँगाउँसम्म पुगेर बुझाउनु पर्ने बताए ।

वाणिज्य बैंक सुधारका तीन उपाय

खतिवडाले सरकारीस्तरमा एउटा बैंक अनिवार्य हुनुपर्छ भन्ने पक्षमा रहेको आफ्नो बिचारमा परिवर्तन भएको बताए । उनले सर्वसाधारणका लागि सेयर निष्कासनमा जान निर्देशन दिए । ‘तपाइहरु प्रक्रिया शुरु गर्नुहोस’ उनले भने ।

सर्वसाधारणको लागि ३० प्रतिशत सेयर जारी गरेमा बैंक बढि जीम्मेवार हुने उनको तर्क छ । ‘बैंकमा सरकार, जनता र निजी क्षेत्रको लगानी भयो भने निर्णयहरु पनि बिवेकपूर्ण हुन्छन’ उनले भने ।

Rastriya Banijya Bankहालसम्म वाणिज्य बैंकका लागि सरकारले साढे चार अर्ब रुपैयाँ लगानी गरिसकेको बताउँदै अब सरकारले कहिल्यै पनि लगानी नगर्ने गभर्नरले बताए । ‘सरकारले शिक्षा, स्वास्थ्यजस्ता जनताका आधारभूत आवश्कयता भएका क्षेत्रमा लगानी नगरी बैंकमा पैसा हालेको छ, यो नै अन्तिम पटक हो’ उनले भने ।

उनले बैंक सुधारको लागि कर्मचारीको व्यवस्थापन र शाखा बिस्तारमा जोड दिनुपर्ने बताए । ‘तपाईहरुले सम्भावना भएका क्षेत्रमा सकेसम्म शाखा पुनस्र्थापना गनुहोस् र अन्य स्थानमा शाखा रहित गरेर असारमसान्तसम्ममा सञ्चालनमा आउनु होस’ खतिवडाले भने । हाल बैंकका १ सय ५९ शाखा सञ्चालनमामा छन ।

बैंकमा रहेका ४/५ सय कर्मचारी कुनै न कुनै युनियनमा लागेको प्रति गभर्नरले रोस प्रकट गरे । युनियनको दबाबका कारण व्यवस्थापनले कर्मचारीलाई आवश्यक परेको स्थानमा खटाउन नसकिरहेको टिप्पणी गरे ।

‘बैंकलाई आर्जन हुने स्थानमा नबस्ने र बैंकले कर्मचारी पाल्न पर्ने स्थानमा धेरै कर्मचारी बस्ने अवस्था अन्त्य गर्नुस्,’ उनले भने ।

बैंकमा ६ सय देखि सात सय कर्मचारी प्रविणता प्रमाणपत्र तह अध्ययन गरेका कर्मचारी रहेको र त्यसमा पनि अधिकांशको अझै आधा जतिको कार्यकाल बाँकी रहेकोले उनीहरुलाई समेत प्रविधिमा आफ्नोस्तर बढाउन उने सुझाव दिए ।
‘अबको केही वर्षमा नेपालमा विदेशी बैंकका शाखाहरु आउँछन’ उनले भने -यो जनशक्तिले ती शाखासँग प्रतिस्पर्धा गर्न सक्दैन ।

गभर्नर खतिवडाले वाणिज्य बैंकलाई भर्खर निको भएर तंगि्रएको बिरामीको संज्ञा दिँदै संबेदनशील भएर अघि बढ्न सुझाव दिए ।

धनुषा, नवलपरासी र कास्कीमा साक्षरता अभियान

Banajyaबैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद शर्माले वित्तीय साक्षरता कार्यक्रम बैंक सुधारका ११ बुँदा अन्र्तगत रहेको जानकारी दिँदै पहिलो चरणको अभियान धनुषा, नवलपरासी र कास्की जिल्लामा सञ्चालन गर्ने बताए ।

शर्माले यसै साता आफ्ना ८० वटा एटिएम काउन्टरहरुमा एटिएम प्रयोग लगायतका बिषयमा साक्षरता कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । एटीएम मेसिन अघि कर्मचारी बसेर ग्राहकलाई चेतना दिने कार्ड सप्ताह मनाउने उनले जानकारी दिए ।

बैंकले ५१ बर्ष प्रवेश गरेको अवसरमा स्वर्ण जयन्ती मनाइरहेको छ । शर्माका अनुसार बैंकले हाल १ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । यस अवधिमा बैंकले ७८ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको वासलात १ खर्ब २९ अर्ब रुपैयाँको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?