मेज, पज्जल वा चक्रव्युह अर्थात् पहेली भन्ने बित्तिकै हामी निकै भुलभुलैया युक्त बाटोको जालो भन्ने बुझ्छौँ । यस्तो चक्रब्युह मार्ग छिचोल्नु चुनौतिपूर्ण हुन्छ । पत्रपत्रिकामा यस्ता पहेलीहरु छिचोलेर बाटो पत्ता लगाउने काम धेरै जनाले गर्नुभएकै छ होला । पत्रिकाको पहेली समेत छिचोल्न हम्मेहम्मे पर्छ कहिलेकाहीँ । तर दुबइमा भने एउटा ५५ तले भवनको पहेली निर्माण गरिएको छ ।
दुबइको केन्द्रस्थित शेख जायद रोडमा अवस्थित यो मेज टावर विश्वकै सबैभन्दा अग्लो पहेली टावर हो जसको निर्माण कार्य सन् २०१२ को जनवरीमै सकिएको थियो ।
यो भवनको तलदेखि माथिसम्म अगाडि र पछाडिको भागमा पहेली जालोयुक्त बाल्कोनीहरु छन् । जसले यो भवन आरोहण गर्नेलाई साँच्चीकै चक्रव्यूहमा फसाउँछन् ।
अल रोस्टामनी ग्रुपले यो मेज टावर निर्माण गरेको हो । यो भवनमा इँटा नभै ढुंगाको प्रयोग गरिएको छ र गाह्रो समेत निकै कलात्मक बनाइएको छ । यो भवनको बाहिरपट्टि ब्राजिलियन भर्ड बाहिया जातको ढुंगा प्रयोग गरिएको छ ।
टावरको सतहलाई अझ प्राकृतिक तथा पहेलीयुक्त बनाउन विशेष प्रविधिको प्रयोग समेत गरिएको छ । गिनिज बुक अफ वल्र्ड रेकर्डस्ले यो मेज टावरलाई विश्वकै सबैभन्दा अग्लो मेज टावरको बनाउने अल रोज्टामनी ग्रुपलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको छ ।
प्रतिक्रिया 4