२१ माघ, काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी ओलीका सन्दर्भमा एमाओवादी नेतृत्व मोर्चाले गरेको निर्णयलाई नग्नताको पराकाष्ठा भनेको छ ।
एमाले सचिव योगेश भट्टराईले प्रचण्ड र उनको नेतृत्वको मोर्चा विक्षिप्त भइसकेकाले यस्ता फत्तुर र लज्जास्पद निर्णय गर्न थालेको प्रतिक्रिया दिए । यसबारेमा पार्टीको अहिले केहीबेरमा स्थायी समिति बैठकमा अनौपचारिक छलफल भए पनि महत्व नदिइने एमाले स्रोतले जनाएको छ ।
बैठकमा बस्नुअघि एमाले सचिव भट्टराईले भने-‘केपी ओलीका बारेमा प्रचण्ड मोर्चाको निर्णय स्वनग्नताको पराकाष्ठा हो, यसमा अरु प्रतिक्रिया चाहिँदैन ।’
स्वनग्नताको अर्थ आफैं नांगिनु हो । प्रचण्ड मोर्चा आफैं नांगिइसकेकाले यस्तो विक्षिप्त अवस्थाको निर्णय आएको एमाले नेताको मूल्यांकन छ ।
एमालेले एक ढिक्का भएर अध्यक्ष ओलीको प्रतिरक्षा गर्ने बताएको छ । विपक्षी मोर्चालाई वार्ताबाटै सहमतिमा ल्याउन पहल गरिने समेत एमालेले जनाएको छ ।
प्रतिक्रिया 4