रोल्पा । सिनेमा हल विहिन पश्चिम नेपालको जिल्ला रोल्पालीले खुल्लामञ्चमा नेपाली चलचित्र ‘झोला’ हेरेका छन् । रोल्पामा जारी ‘अन्तराष्ट्रिय चलचित्र कार्यशाला २०१५’ को दोश्रो दिन खुल्लामञ्चमा झोला प्रदर्शन गरिएको थियो ।
साँझ ढल्केसँगै प्रोजेक्टरमार्फत पर्दामा देखाईएको चलचित्र हेर्न ठूलो संख्यामा रोल्पालीहरु उपस्थित थिए । चलचित्र हेर्ने धेरै महिलाहरुको आँखा रसाएको थियो ।
श्रीमानको निधन भएमा जिउँदै चितामा जलेर सति जानुपर्ने महिलाको कथामा चलचित्र बनाएकोमा निर्देशक यादवकुमार भट्टराई र निर्माता राज तिमिल्सेनाको स्थानिय दर्शकले खुलेर तारिफ गरे ।
फिल्म हेर्न जम्मा भएका तीन सय बढी दर्शकले रोल्पामा सिनेमा हल बनाउन पहल कदमी गरिदिन झोला निर्देशक भट्टराइसंग आग्रह गरे । निर्देशक भट्टराईले नेपाली चलचित्रको बजार विस्तारको क्रम बढ्दै गर्दा ‘झोला’प्रति रोल्पालीले देखाएको चाख काठमाडौंका दर्शकको भन्दा कम नभएको बताए ।
नौ दिनसम्म चल्ने कार्यशालामा हरेक दिन साँझ स्थानिय दर्शकलाई नेपाली चलचित्र देखाउने आयोजक संस्थाको योजना छ । सार्वजनिक प्रदर्शनको क्रममा दर्शकको मन जितेको यो चलचित्र अहिले विदेशका विभिन्न सहरमा प्रदर्शनको क्रममा रहेको छ भने निर्माण संस्थाले यो चलचित्र पुनः प्रदर्शन गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया 4