+
+

सहकारीको दर्ता रोक्न गभर्नरको सुझाव

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २५ गते ११:२६

Governer२५ माघ काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर डा. युवराज खतिवडाले सहकारीहरुको दर्ता प्रक्रिया रोकेर मर्जरमा जानुपर्ने बताएका छन् । उनले नयाँ संस्था दर्ता र मर्जर अभियान एकै समय संचालन गर्दा सफल नहुने भएकोले दर्ता प्रक्रिया रोक्नु पर्ने बताएका हुन् ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा भई रहेको दोस्रो साकोस शिखर गोष्ठीमा बोल्दै यस्तो धारणा राखेका हुन् ।
‘एकातिर दर्ता गरिरहने र अर्कोतिर मर्जरको कुरा गर्दा अभियान सफल हुदैन, राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्था दर्ता बन्द गरेर मर्जरमा गएकोले सफलता हासिल गर्‍यो, सहकारी क्षेत्रमा पनि यसको अनुसरण गर्नुपर्छ,’ गभर्नर डा. खतिवडाले भने । दर्ता खुला राखेर एकीकरणको कुरा गरिरहदा खाल्डो खन्ने र पुर्ने जस्तो काम हुने उनको भनाइ छ ।

१५ प्रतिशत हिस्सा भएको सहकारी क्षेत्र हल्लिदा अर्थतन्त्रमा गम्भिर समस्या पर्ने भएकोले सहकारी अभियन्ताहरु गम्भिर हुनु पर्ने डा खतिवडाको भनाइ छ । सहकारीको नियामक नेपाल राष्ट्र बैंक नभएपनि सहकारीका कारण अर्थतन्त्रमा समस्या आउदा नेपाल राष्ट्र बैंकलाई पनि गम्भिर चुनौति हुने भएकोले सहकारीको नियमनका लागि आफुहरुको ध्यानाकर्षण भएको उनले बताए । खतिवडाले सहकारी क्षेत्रको नियमनका लागि स्थायी र शक्तिशाली निकाय आवश्यक रहेको धारणा समेत राखे ।

सहकारीहरु समुदायमा आधारित हुनुपर्नेमा व्यक्तिकेन्द्रीत हुदै गएकोमा चिन्ता गर्दै खतिवडाले संस्थाहरु एकीकरण मात्रै होइन रुपान्तरणको पनि जरुरी रहेको धारणा राखे । खतिवडाले नयां घोषणा भएका नगरपालिकाहरुको पूर्वाधार विकास नभई सकेकोले गाविससरह नै कर यथावत रहनुपर्ने सुझाव दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अष्ट्रेलियन सहकारीविद वर्थिङटन मार्कले सहकारीको सेेवा विस्तार र प्रभावकारिताका लागि एकीकरण अत्यावश्यक भएको बताए । नेपालको सहकारी अभियानले महत्वपूर्ण योगदान गरिरहेको बताउदै यसको व्यवस्थापनका लागि एकीकरण अभियानमा जान अनिवार्य रहेको उनको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?