Comments Add Comment

टाटाले हरेक वर्ष दुईवटा नयाँ मोडलका कार नेपाली बजारमा आउँदैछ

-जोन्नी ओमेन, प्रमुख, अन्तराष्ट्रिय ब्यापार, प्यासेन्जर कार भिडिजन, टाटा मोटर्स

जोन्नी ओमेन, भारतको अग्रणी मोटर उत्पादक कम्पनी टाटा मोटरका अन्तराष्ट्रिय ब्यापार प्रमुख हुन् । टाटाको अन्तराष्ट्रिय कार ब्यापारको नेतृत्व गरिरहेका जोन्नी यसै साता काठमाण्डौ आएका थिए आफ्नो नयाँ उत्पादन सार्वजनिक गर्न । बर्षकै उत्कृष्ट कम्प्याक्ट सेडानको उपाधि जित्न सफल जेस्ट कार सार्वजनिक गर्न आएका जोन्नीसँग अनलाइनखबरले टाटा मोटरको प्यासेन्जर कारको ब्यापार र रणनीतिमा केन्द्रित भएर गरेको कुराकानीको संक्षेप-

Tata Moter's manager from INDIA_650

तपाई यसपटक नेपाल भ्रमणमा आउनुको सन्दर्भ के हो ?

– लगभग तीन बर्षपछि म नेपाल आएँ एउटा बिशेष अवसरमा । हामीले भर्खरैमात्र हाम्रो नयाँ उत्पादन ‘जेस्ट’ कार सार्वजनिक गर्‍यौं । हामीलाई विश्वास छ, जेस्ट कारमा यी सवै बिशेषता समावेश छन्, जसले हामीलाई नेपाली बजारमा अझैं उचाइमा पुग्न सहयोग गर्ने छ ।

टाटा मोटरका अघिल्ला मोडलहरुभन्दा जेस्ट सेडान के सन्दर्भमा फरक छ ?

– हामीले दुई वर्ष अगाडि निकै स्पष्ट मार्गचित्रसहित नयाँ अभियान सुरुवात गरेका थियौं, जसलाई हामी ‘होराइजन नेक्स्ट’ भन्छौं । त्यो अभियानअन्तर्गत उत्पादित पहिलो कार भएकाले यसमा निकै धेरै सुविधाहरु ल्याइएका छन्, जुन यही श्रेणीका अरु कुनै पनि कारमा पाउनुहुन्न । हामीले पहिलेका टाटा कारमा के थिए भन्ने तरिकाले सामान्य थपथाप मात्र पारेका छैनौं, पुरै बिश्वका कारमा के-के सुविधा छन्, त्यसलाई ध्यानमा राखेर नयाँ सुरुवातसहित थुप्रै सुविधाहरु एकैसाथ आएका छन् ।

तपाईंलाई अचम्म लाग्ला टाटा जेस्टमा पुरै २९ वटा नयाँ फिचरहरु थपिएका छन, जुन यो श्रेणीका अन्य कारमा पाउनुहुन्न । जस्तैः मल्टी ड्राइभ मोड, इन्फोटेन्मेन्ट सिस्टम लगायतका जेस्टमा उपलब्ध फिचरहरु निकै महंगा लक्जरी कारमा मात्र थिए अहिलेसम्म ।

टाटा मोटर कमर्सियल भेहिकलमा त नेपालमा मार्केट लिडर नै हो । तर, प्यासेन्जर भेहिकलमा त्यति आक्रामक देखिन्न । अहिले टाटाको प्यासेन्जर भेहिकलको अवस्था के छ नेपालमा ?

– टाटा मोटर सिप्रदी ट्रेडिङसँगको साझेदारीमा करिव ३० वर्षदेखि नेपाली बजारमा छ । प्यासेन्जर कार सेगमेन्टमा पनि हामी करिव १५ वर्षदेखि नेपाली बजारमा छौं । कमर्सियल भेहिकल सेक्सनमा हामी नम्बर वन् पोजिसनमा छौं भने प्यासेन्जर कारमा टप थ्रीमा छौं । १५ बर्षको छोटो अवधिमा पनि हामी उत्कृष्ट तीनमा पर्नु उत्साहप्रद सूचक नै हो ।

जेस्टको सार्वजनिकसँगै हाम्रो होराइजन नेक्स्ट अभियान अन्र्तगत उत्पादित नयाँ कारहरु एकपछि अर्को गर्दै नेपाली बजारमा लन्च हुनेछन् । जसको सहयोगमा हामी नम्बर तीनबाट फड्को मार्ने विश्वास लिएका छौं । हामीले हरेक वर्ष दुई नयाँ मोडलका कार नेपाली बजारमा लन्च गर्ने योजना बनाइरहेका छौं । हरेक मोडल फरक-फरक ग्राहकको श्रेणीलाई लक्षित गरी ल्याउने भएकाले प्रत्येकपटक नेपाली बजारमा हाम्रो मार्केट सेयर बृद्धि हुँदै जानेछ ।

टाटाको प्यासेन्जर भेहिकलका लागि नेपालमा सर्भिस सेन्टर र सोरुमको सञ्जाल विस्तार गर्दैहुनुहुन्छ कि ?

– निश्चितरुपमा । अहिले हामीसँग प्यासेन्जर कारका लागि १८ वटा सोरुम र २१ वटा सर्भिस सेन्टरको सञ्जाल छ । हामीले यसलाई बढाएर झण्डै ३० वटा सोरुम पुर्‍याउँदै छौं । यहाँ बिर्सन नहुने कुरा के हो भने अहिले कै नेटवर्क पनि कमजोर छैन, पुरै नेपालभर आफ्नो बलियो उपस्थिति जनाइरहेका छौं । तर, जसरी टाटाले आक्रामकरुपमा नयाँ नयाँ प्यासेन्जर कार लन्च गर्दै छ, त्यही अनुसार नयाँनयाँ मार्केट सेगमेन्टमा पुग्न हामीले सञ्जाल विस्तार गर्दै छौं ।

खासगरी उपभोक्ताहरुले टाटा मोटर्सको डिजाइनमा अपेक्षित सुधार हुन नसकेको र इञ्जिनको आवाज पनि ठूलो हुने गरेको गुनासो गरेको पाइन्छ । के नयाँ मोडलहरुमा यस्ता गुनासोमाथि सम्बोधन भएको छ ?

– म यतिमात्रै भन्छु, तपाईंले हाम्रो पछिल्लो उत्पादन जेस्ट एकपटक ट्राई गरी हेर्नुस् । चर्को आवाज वा डिजाइनमा कमजोर भन्ने कुरा ग्राहकको बनिबनाउ दृष्टिकोण मात्र पनि हुनसक्छ, जुन हल्लामा आधारित पनि हुन्छ । नेपाली उपभोक्ताको माया नपाएको भए हामी पक्कै पनि उत्कृष्ट तीनमा पर्ने थिएनौं । मैले पहिले नै भनिसकेँ कि जेस्ट लगायतका होराइजन नेक्स्ट अभियान अन्र्तगत उत्पादित सबै कार पुरानोको सामान्य सुधारमात्र हैन, अहिलेका कार उपभोक्तालाई केन्द्रबिन्दुमा राखेर पुरै नयाँ सुरुवात गरिएको हो ।

नयाँनयाँ उत्पादन बजारमा ल्याउने कुरामा टाटा मोटर त्यति आक्रामक देखिन्न । होराइजन नेक्स्ट अभियान अन्र्तगत त्यो रफ्तारमा बृद्धि हुन्छ ?

– हामीले हरेक बर्ष नयाँ दुईवटा मोडलका कार नेपाली बजारमा लन्च गर्ने योजना बनाएका छौं । त्यो भनेको एउटै मोडलको बिभिन्न भेरिएन्ट भनिएको हैन, अल न्यू मोडल नै हो । तपाईंले बिश्वभर अरु कार उत्पादक पर्फमेन्स हेर्नुस, त्यसको तुलनामा हाम्रो योजना आक्रामक र महत्वाकांक्षी नै हो । यस्तो अरु कसैले गरेको छैन् । यदि भेरियन्टको कुरा गर्नुहुन्छ भने त हामी बर्षमा चारवटासम्म भेरियन्टका कार नेपाली बजारमा सार्वजनिक गर्छौं ।

टाटा मोटर ह्याचब्याक र सेडानजस्ता मास प्रोडक्टभन्दा पनि युटिलिटी भेहिकलजस्ता क्लास प्रोडक्टमा बढी केन्दि्रत देखिन्छ, तपाईहरुको प्राथमिकता नै त्यस्तो हो ?

– हो, हामी ह्याचब्याक र सेडानजस्ता मास लेभलका प्रोडक्टमाभन्दा युटिलिटी भेहिकलमा धेरै केन्द्रित भयौं । ह्याचब्याक र इन्ट्री लेभल सेडान सेगमेन्टमा हामी जति स्वीकार्य हुनुपर्ने हो, त्यति हुन नसकिरहेका तथ्यप्रति हामी सचेत छौं । त्यसैले त हामीले विगत दुई बर्षदेखियो सेगमेन्टमा आफ्नो प्रस्तुतीलाई सुधार गर्न कोसिस गरिरहेका छौं, जेस्टसहित अब आउने उत्पादन त्यही कोसिसको प्रतिफल हो ।

तपाईहरुले ल्याउनुभएको सस्तो मूल्यको नानो मोटर जति हल्ला भयो त्यति बजारमा चल्न सकेन् । अब नानोको उत्पादन पूरै बन्द गर्नुभएको हो ? के निकट भविष्यमा सुधारिएको नानो देख्न सक्छौं हामीले नेपाली बजारमा ?

Tata Moter's manager from INDIA_400 (6)– हामीले पूर्ण क्षमतामै नानो कारको उत्पादन गरिरहेका छौं, यसलाई बन्द गर्ने कुनै मनसाय र योजना छैन । पछिल्ला बर्षहरुमा हामीले नानोमा धेरै नै सुधार गरेका छौं र अटो मार्केटमा नानोको ब्राण्ड इमेजलाई पुनस्र्थापित गर्ने गर्दैछौं । दुर्भाग्यवस के भइदियो भने नानोको ब्राण्डिङ बिश्वकै सस्तो कारका रुपमा भइदियो, जसमा तपाईहरुजस्ता मिडियाको पनि ठूलो हात छ । त्यही नै उपभोक्ताका लागि ठूलो बाधक बनिदियो ।

किनभने उपभोक्ताले सधैं सस्तो मूल्यको मात्र कार खोजिहरेका हुँदैनन्, त्यसका फिचरलाई महत्व दिन्छन् । सस्तोमात्रै भनिदिँदा त्यसका फिचर र भ्यालु ओझेलमा परे । त्यसैले हामीले नानोलाई रिपोजिसनिङ गर्न कोसिस गरिरहेका छौं, र त्यसमा सफलता मिल्ने हाम्रो विश्वास छ । नयाँ नानो नेपाल आउँछ कि आउँदैन भन्ने अहिले नै निर्णय भइसकेको छैन ।

पछिल्ला वर्षहरुमा टाटा मोटरले आन्तरिक बजारमा आफ्नो हिस्सा गुमाउँदै जानुपरेको छ । निर्यात पनि सन्तोषजनक देखिन्न, तर यो जनवरी महिनामा भने अघिल्लो वर्षको तुलनामा केही सुधार देखिन्छ । बजार हिस्सा बढाउने तपाईका रणनीतिहरु केके हुन् ?

– म फेरि पनि होराइजन नेक्स्ट रणनीतिको कुरा गर्छु । यसमा हामीले चारवटा मुख्य विषयलाई प्राथमिकता दिएका छौं । पहिलोः विश्वस्तरीय उत्पादन, दोस्रो विश्वस्तरीय उत्पादन शैली, उपभोक्ताको क्रय अनुभूतिमा सुधार र चौथो एकनासको उत्पादन तथा सेवा । यी चारै चिज एकैसाथ कार्यान्वयन गर्दा हामीले अन्तराष्ट्रिय बजारमा आफ्नो हिस्सालाई गुणात्मकरुपले बढाउन सक्छौं र उपोभक्तको मन जित्न सक्छौं भन्ने विश्वास छ । अहिले सार्वजनिक गरेको जेस्ट सेडानचाहिँ यो अभियानको पहिलो उत्पादन हो ।

पछिल्ला वर्षमा तपाईहरु प्रविधि सुधारमा पनि केन्द्रित भएको देखिन्छ । आगामी वर्षहरुमा टाटा मोटरमा कस्ताकस्ता नयाँ प्रविधि प्रयोग भएको देख्न पाइन्छ ?

– पहिलो कुरा त हामीले लेबरटन टर्बो इन्जिनको प्रयोग थालेका छौं जुन यो श्रेणीका अन्य कुनै पनि उत्पादन छैन । अटोमेटेड म्यानुअल ट्रान्समिसन, मल्टिड्राइभ मोड, इन्फोटेन्मेन्ट सिस्टम लागयत दर्जनौं नयाँनयाँ फिचर र प्रविधिहरु हामीले यो श्रेणीमा दिन कोसिस गरेका छौं जुन ग्राहकले यसअघि यो श्रेणीमा देख्न सक्नुहुन्थेन ।

पछिल्लो दिनमा नेपालमा सवारी साधनको बजार तिब्ररुपमा बढिरहेको छ । तपाईहरुको नेपालमा हिस्सा पनि निकै ठूलो छ । नेपालमै एसेम्बल वा उत्पादन प्लान्ट राख्ने विषयमा केही सोच्नुभएको छ ?

– तत्कालका लागि हामी त्यस्तो कुनै योजना बनाएका छैनौं । त्यसमा केही खास कारण छन् । पहिलो, यहाँ एसेम्बल प्लान्ट राख्दा केही नीतिगत अस्पस्टता छन् । जस्तो- करको दरका कुराहरु भए । दोस्रो, यहीँ प्लान्ट राख्न स्थानीय बजारको मागमै भर गर्नुपर्छ । तर, नेपालको अटो बजार अहिले नै उत्पादन प्लान्ट वा एसेम्बल प्लान्ट धान्न सक्नेगरी विकास भइसकेको छैन भन्ने हाम्रो बुझाइ छ ।

यो पनि पढ्नुस् 

टाटाको जेस्ट गाडी नेपाल भित्रियो, के के छन विषेशता ?

आइपुग्यो उत्कृष्ट जेष्ट कार (फोटो फिचर)

तामझामकासाथ भित्राइयो टाटाको जेष्ट गाडी (फोटो फिचर)

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment