२६ माघ काठमाडौं । सनराइज बैंकले चालू आर्थिक वर्षको पुस मसान्तमा २६ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको यसै अवधिमा बैंकले २० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
व्याज आम्दानी भएको ३ करोड रुपैयाँको वृद्धि र अन्य आम्दानीहरुमा भएको सामान्य वृद्धि नै नाफा वृद्धिको मुख्य स्रोत हो ।
आज प्रकाशित पुस मसान्तको अपरिस्कृत वित्तीय विवरण अनुसार २०७० पुस मसान्तमा ५२ करोड १५ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकले २०७१ पुस मसान्तमा ५५ करोड २६ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ ।
यस अवधिमा बैंकले बैदेशिक मुद्राको कारोबारबाट, फि तथा कमशिनबाट हुने आम्दानी अत्यन्तै न्यून मात्रै बढेको छ । त्यस्तै संभावित जोखिम व्यवस्थाका लागि छुट्याइएको रकम फिर्ता (राइटव्याक पनि बढेको १० लाख रुपैयाँले मात्रै बढेको छ । गत वर्षको पुसमा १४ करोड ४७ लाख रुपैयाँ राइटव्याक गरेको बैंकले यो पुसमा १४ करोड ५७ लाख रुपैयाँ राइटव्याक गरेको छ ।
एक वर्षको अवधिमा बैंकको खराब कर्जा बढेको छ । गत वर्षको पुसमा कूल कर्जाको २.९१ प्रतिशत रहेको खराब कर्जा यो पुसमा १ प्रतिशतले बढेर ३.९७ प्रतिशत पुगेको छ ।
बैंकको कर्जा र निक्षेपबीचको व्याज अन्तर (स्प्रेड दर) भने उल्लेखय घटेको छ । गत वर्षको पुसमा ६.७४ प्रतिशत रहेको स्प्रेड दर यो वर्षको पुसमा ४.७९ प्रतिशतमा झरेको छ । नियामक निकाय नेपाल राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई २०७१ असार मसान्तसम्ममा स्प्रेड दर ५ प्रतिशत कायम गर्नुपर्ने निर्देशन दिएको थियो ।
बैंकको प्रतिसेयर वाषिर्क आम्दानी २३ रुपैयाँ २९ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३८ रुपैयाँ ७८ पैसा रहेको छ । बैंकको चुक्ता पुँजी २ अर्ब ३८ करोड रुपैयाँ र सञ्चित कोष ७२ करोड रुपैयाँ छ ।
यो पुसमा बैंकले २९ अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ करोड ३५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्षको पुसमा २५ अर्ब ३२ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
प्रतिक्रिया 4