जुबैर अहमद
भारतीय जनता पार्टीले गत वर्ष युद्ध जित्यो । तर, आज सानो लडाइ हारेको छ ।आम चुनावमा भारी जितपछि भाजपाले तीनवटा विधानसभाको चुनाव पनि जित्यो । तर, दिल्ली विधानसभामा आम आदमी पार्टीले कडा चुनौती मात्र दिएन, भाजपाले लडाइँ नराम्रोसँग हार्यो ।
संसदको चुनावमा जबरजस्त जितपछि तीनवटा राज्यको विधानसभामा पाएको जितले शायद भाजपाको आत्मविश्वासले आकाश छुन खोजेको थियो । तर, दिल्लीको परिणामपछि उसले टेकेको जमीन भासियो ।
दिल्लीमा भाजपाकी मुख्यमन्त्रीकी उम्मेदवार किरण बेदीले यो नजिता मोदी सरकारमाथि नभएको बताएकी छन् । भाजपाका नेताहरुले पनि चुनावी परिणाम मोदी सरकारको मत नहुने बताउँदै आएका छन् ।
दिल्लीको लज्जास्पद हारपछि भाजपाभित्र किरण बेदीलाई दोषी ठान्नेहरु पनि देखिएका छन् । भाजपा नेताहरुले जे तर्क गरे पनि दिल्ली विधानसभामा जितका लागि पार्टीले सबै दाउमा लगाएको थियो । पार्टीका लागि यो प्रतिष्ठाको लडाइँ पनि थियो, त्यसैले हार सहन निकै गाह्रो हुन सक्छ ।
दिल्लीको चुनावी परिणाम मोदीको ९ महिने प्रधानमन्त्री कार्यालयको म्याण्डेट नभएको भाजपा नेताहरुको तर्कलाई विशेषज्ञहरुले खोक्रो तर्क भनेका छन् । मोदीले आफैं चुनावी र्यालीमा भाजपालाई भोट मागेका थिए भने प्रचारमा वरिष्ठ मन्त्री र सांसदहरु मैदानमा उत्रिएका थिए ।
हारको जिम्मेवार को ?
अर्को तर्क पनि आएको छ कि किरण बेदीलाई पार्टीमा ल्याउनुको कारण हारको सबै जिम्मेवारी उनीमा थुपार्ने र मोदीलाई हारको अभियोगबाट बचाउने हो । तर, सञ्चार माध्यम र जनताले भने हारका लागि मोदी र पार्टी अध्यक्ष अमित शाहलाई जिम्मेवार मानेका छन् ।
किरण बेदीलाई चुनावको केही दिनअघि मात्र पार्टीमा ल्याउनु र मुख्यमन्त्री पदको उम्मेदवार बनाउन गलत सावित भयो ।
बेदीलाई ल्याउने वित्तमन्त्री अरुण जेटली थिए तर, पार्टी अध्यक्ष अमित शाह आफैंले उनको नाम स्वीकृत गरे र चुनावको रणनीतिको बागडोर आफैंले सम्हाले ।
तर, यसमा उनलाई बलीको बोका बनाउन सही हुन्न । उनलाई दिल्ली भाजपा नेताको सहयोग रहेन । उनले न पार्टीमा आफ्नो विश्वसनीयता कायम गर्ने समय पाए, न कार्यकर्तासँग जोडिने समय पाए ।
अमित शाहलाई धक्का
मेरो विचारमा यो हारले पार्टीमा अमित शाह कमजोर हुनेछन् । भाजपा दिल्लीका नेताहरु भन्छन्, अमित शाहलाई धक्का लाग्न आवश्यक थियो । उनीहरुका अनुसार अमितले पार्टीका वरिष्ठ नेताहरुको कुरा सुनेनन्, मोदीसँग मिलेर आफैंले निर्णय गरे ।
किरण बेदीलाई भाजपामा ल्याउन जसले भूमिका खेले पनि उनी केजरीवालभन्दा निकै कमजोर देखिइन् ।
किरण बेदीको कमजोरी
पूर्व प्रहरी अफिसर भएका कारण बेदीको चुनावी र्यालीमा कठोर व्यवहार देखियो, जसलाई जनताले रुचाएनन् ।
आम आदमी पार्टीका प्रवक्ता आशुतोषका अनुसार सुरुमा बेदीको नाम आएपछि उनीहरुलाई चिन्ता लागेको थियो । तर, उनीहरुलाई थाहा थियो कि जसरी उनी टीभीमा प्रस्तुत हुन्छिन् र सभालाई सम्बोधन गर्छिन्, उनका कमजोरीले आपलाई फाइदा हुनेछ ।
भयो पनि त्यस्तै । मोदीबाट प्रेरित बेदीले आफ्ना पूर्व सहकर्मी केजरीवालमाथि व्यक्तिगत आरोप लगाइन्, जुन उनको पार्टीका लागि घातक बन्यो ।
बेदीको यात्रा
अब प्रश्न यो उठ्छ कि किरण बेदी कहाँ जान्छिन् ? भ्रष्टाचारविरुद्ध अन्ना हजारेको अभियानमा केजरीवाल र उनी अगाडिको मोर्चामा हुन्थे ।
केजरीवालले २०१३ मा राजनीतिको बाटो रोजे । तर, बेदी भर्खर राजनीतिमा आएकी छिन् । भाजपाका केही नेताहरुका अनुसार मोदी सरकारले उनलाई दिल्ली वा अन्य कुनै राज्यको राज्यपाल बनाउन सक्नेछ ।
यो हारले किरण बेदीको राजनीतिक यात्रा सुरु हुनासाथ अन्त्य नहोस् ।
प्रतिक्रिया 4