+
+
Shares

उदयपुरमा सडक अतिक्रमण गरेर व्यापार गर्ने कार्य झनै बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते १०:२४

२९ माघ, गाईघाट । उदयपुरको सदरमुकाम गाईघाट क्षेत्रको मुख्य सडकखण्डमा स्थानीय खुद्रा व्यापारीलगायत सब्जी व्यापारी तथा ठेला सञ्चालकले सडकको भाग अतिक्रमण गरेर व्यापार गर्ने कार्य दिनानुदिन झनै बढ्दै गएको छ ।

मुख्य सडकखण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले पसल सञ्चालन गर्दा यातायातका साधन दैनिकरुपमा सञ्चालन गर्न कठिन हुँदै गएको यातायात व्यवसायीले बताएका छन् ।

खुद्रा व्यापारी तथा सब्जी व्यापारीले दैनिकरुपमा बजारको मुख्य सडकखण्डको भाग मिचेर व्यापार व्यवसाय सञ्चालन गर्न थालेपछि सर्वसाधारणलाई समेत सडक भएर आवतजावत गर्न समेत समस्या हुन थालेको छ ।

गाईघाट बजार क्षेत्रको मुख्य चोकदेखि असारी लाइन हुँदै पूर्वको बेल्टार, बसाहा क्षेत्र जाने सडकखण्डमा दैनिक बिहान बेलुकी व्यापारीले सडक अतिक्रमण गरेको कारण सवारीसाधन सुचारु हुन नसकेर घन्टासम्म जाममा रहनुपर्ने बाध्यता रहेको एक यातायात सञ्चालक हीराकुमार खड्का बताउँछन ।

ँयातायात सञ्चालन गर्ने सडकको दुवै किनारको साइडमा पसल सञ्चालन छन्, एउटा गाडी नै छिर्न मुश्किल भइरहेको बेला अर्को गाडीलाई साइड दिनुपर्दा घन्टा सडक नै जाम हुने गरेको छ ।ू खड्काले भने ।

सडक साँगुरो बन्दै गएको कारण अहिले एउटा सानो सवारीको साधनसमेत सडकमा पार गर्न समस्या हुने गरेको अर्का यातायात व्यवसायी मिलन मगरले बताए ।

सडक क्षेत्रमा व्यापारीले सडकको दुवै भाग मिचेर जबर्जस्ती व्यापार गर्न थालेको कारण लामो समयदेखि नै ट्राफिक व्यवस्थापन गर्न जटिल बन्दै गएको गाईघाटका ट्राफिक प्रहरीको समेत धारणा रहेको छ ।

आफूहरुले हटाएर व्यापारी नहट्ने हुनाले सडक कब्जा गरेर व्यापार गर्ने व्यापारीलाई त्रियुगा नगरपालिकाले हटाउन पर्ने तर्क गाईघाट ट्राफिक प्रहरीको रहेको छ ।

यता सडक कब्जा गरेर व्यापार गर्ने अधिकांश व्यापारी आफूहरुले नगरपालिकालाई दैनिक कर तिर्ने गरेको कारण सडकको छेउमा व्यापार गर्ने अधिकार रहेको बताउँदै आएका छन् ।

लामो समयदेखि गाईघाटको मुख्य चोक तथा सडक अतिक्रमण गरेर व्यापार गर्दै आएका व्यापारीसहित ठेला सञ्चालकलाई यसअघि नै हट्न निर्देशन दिइसकेको त्रियुगा नगरपालिका गाईघाटका कर्मचारी बताउँछन् ।

त्रियुगा नगरपालिकाले व्यापारी तथा ठेला सञ्चालकलाई सडकबाट व्यापार गर्ने कार्य हटाउन निर्देशन दिएको भए तापनि त्यस निर्देशनको अवज्ञा गर्दै अहिलेसम्म झन उल्टै व्यापारी तथा ठेला सञ्चालकले सडक कब्जा गरेर व्यापार गर्ने कार्यलाई निरन्तरता दिँदै आएका छन् ।

एक वर्षअघि नै त्रियुगा नगरपालिका गाईघाटले ठेला सञ्चालकलाई बजार क्षेत्रको माथिल्लो क्षेत्रमा ठेला सञ्चालन गर्न निर्देशन दिएको थियो भने सब्जी तथा खुद्रा व्यापारीलाई बजार क्षेत्रको तल्लो त्रियुगा बसपार्क क्षेत्रको भागमा सर्न सूचनासमेत जारी गरेको नगरपालिकाका कर्मचारी बताउँछन् ।

तर अहिलेसम्म पनि खुद्रा व्यापारी, सब्जी व्यापारी तथा ठेला सञ्चालक भने बजारको मुख्य चोकको सडकखण्डमा सडकनै मिचेर यातायातका साधनसमेत अवरोध गरेर ढुक्कसँग व्यापार गर्दै आएका छन् ।

अहिले गाईघाट बजारको मुख्य चोकदेखि असारी लाइन जाने पूर्व क्षेत्रको झन्डै आधा किलोमिटर सडकखण्डको दुवैपट्टिको भाग अतिक्रमण गरेर व्यापारीले व्यापार व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यस्तै गाईघाट बजारको माथिल्लो बाङ्गे टोलको सडक लाइन र पुरानो बसपार्क क्षेत्रको दुवै सडक लाइन अतिक्रमण गरेर सडकको भागमा खुद्रा व्यापारी तथा ठेला सञ्चालकले पसल तथा ठेला सञ्चालन गर्दै आएको यातायात व्यवसायी तथा ट्राफिक प्रहरी बताउँछन् ।

नगरपालिका तथा उद्योग वाणिज्य सङ्घले सडकको अवरोध हटाउन समस्या भए प्रशासनसँग गुहार माग्न सक्ने र त्यसमा प्रहरी प्रशासनले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी थपलियाले बताए ।

आफूले एक पटक नगरपालिका र उद्योग वाणिज्य सङ्घका प्रतिनिधिलाई बोलाएर यस विषयमा समस्या समाधान गर्न पहल गर्ने पनि प्रजिअ थपलियाले जानकारी दिए ।

लामो समयसम्म पनि नगरपालिका र स्थानीय प्रशासनले सडक अतिक्रमण गरेर व्यापार सञ्चालन गर्ने खुद्रा व्यापारी तथा ठेला सञ्चालकलाई सडकबाट हटाउन प्रयास नगर्दा अहिले यस्ता व्यापारीको सङ्ख्या दिनानुदिन गाईघाटका सडकखण्डमा बढ्दै गइरहेको छ ।

सडक अतिक्रमण हुँदै गएको कारण यातायात सञ्चालन जटिल बन्दै गएको छ भने सवारी दुर्घटना र मानवीय दुर्घटना हुने खतरा पनि बढ्दै गएको पाइन्छ ।

यसतर्फ बेलैमा सम्बन्धित निकायको उचित ध्यान जानुपर्ने सरोकारवालाको धारणा रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?