+
+
Shares

चैतमा समानान्तर केन्द्रीय सरकार बनाउने प्रचण्डको घोषणा (भिडियोसहित)

अनलाइनखबर अनलाइनखबर
२०७१ माघ २९ गते २३:५९

Prachanda

२९ माघ, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्डले चैत १६ पछि केन्द्रमा समानान्तर संघीय सरकार चलाउने घोषणा गरेका छन् ।

फागुन १६ पछि सुरु हुने दोस्रो चरणको आन्दोलनका क्रममा सरकारी कार्यालयहरु ‘जनता’ले कब्जा गर्ने भन्दै उनले त्यसबाट पनि आफूहरुको माग सम्बोधन नभए चैतमा निर्णायक आन्दोलन गर्ने बताए ।

पहिचानवादी युवा शक्ति घोषणा कार्यक्रममा प्रचण्डले भने-‘केन्द्रमा नै समानान्तर संघीय सरकार चलाएर राष्ट्रसंघ लगायत अन्तराष्ट्रिय समुदायलाई अनुरोध गर्नेछौं, कुन सरकार बैधानिक हो ?’

आफूहरु शान्ति सम्झौताको पक्षमा रहेको र कांग्रेस र एमालेले सो सम्झौता तोडेको राष्ट्रसंघलाई भन्ने जानकारी दिँदै प्रचण्डले भने-‘हामी सोध्ने छौं तपाई कतापट्टि हो ?’

छिमेकी मुलुक चीन र भारतलाई पनि कसलाई साथ दिने भनेर सोध्ने बताउँदै प्रचण्डले भने-‘शान्ति सम्झौता तोड्ने बैधानिक कि सम्झौताको पक्षमा रहने बैधानिक सरकार हो ?’

भिडियो हेर्नुस्-

फागुन १६ पछि सरकारी कार्यालय कब्जा

प्रचण्डले अहिले जारी पहिलो चरणको आन्दोलनमा कांग्रेस र एमालेलाई विगतका सहमतिबाट पछि नहट्नुस् भनेर सम्झाउन भएको बताए ।

अहिले पनि आफूहरु सहमतिबाटै अघि बढ्न तयार रहेको भन्दै उनले विगतका सहमतिबाट पछि हटे कांग्रेस र एमालेलाई चर्को मूल्य पर्ने चेतावनी दिए । दोस्रो चरणको आन्दोलनबारे संकेत गर्ने भन्दै उनले फागुन १६ पछि ‘जनता’ले सरकारी कार्यालय कब्जा गर्ने बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले एक पक्ष -कांग्रेस-एमाले)ले शान्ति सम्झौता तोड्छन् भने जनतालाई आफ्नो सरकार चलाउने अधिकार भएको बताए । उनले भने-‘फागुन १६ पछि प्रादेशिक सरकारहरु बनाइने छ, नाकाबन्दी गरिनेछ । तर, जनतालाई दुःख दिइने छैन ।’

लडाकू फर्मेसनको सम्झना

‘जनयुद्ध दिवस’ फागुन १ को अघिल्लो दिन युवा दस्ताहरुको घोषणा कार्यक्रममा सहभागी प्रचण्डले २० वर्षअघि ६० जना युवालाई भेला पारेर जनमुक्ति सेनाको फर्मेसन तयार गरेको स्मरण आफूलाई भएको सुनाए ।

तर, अहिले त्यस्तो युद्ध आवश्यक नभएको भन्दै उनले भने-‘अब त्यो रुपमा हिट एण्ड रन आवश्यक छैन, लाठी नै काफी छ, १०/१५ लाख युवा परिचालन गरेपछि हाम्रो जितलाई कसैले रोक्न सक्दैन ।’

पहिलो चरणमा आफ्नो पार्टी एमाओवादीले १० हजार र ३० दलीय मोर्चाका अन्य दलले १० हजार युवा परिचालन गर्ने उनले बताए ।

एमाओवादी अध्यक्ष प्रचण्डले दोस्रो चरणमा २ लाख र निर्णायक चरणमा १० लाख युवा परिचालन गर्ने योजना सुनाए ।

केपी ओलीलाई कटाक्ष

एमाओवादी अध्यक्ष प्रचण्डले कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीको नाम नलिई दोस्रो जनआन्दोलनमा सहभागी नरहेकाहरु अहिले सत्तामा रहेको बताए । उनले भने- ‘केही नेताहरुले जनआन्दोलनको खिल्ली उडाएका थिए, गोरुगाढा चढेर अमेरिका पुगिँदैन भन्नेहरु अहिले सत्तामा छन् ।’

यसअघिको आन्दोलनले सर्पको टाउकोमा हानेको भन्दै उनले अब पुच्छरमा हान्ने बताए ।

यसको ब्याख्या गर्दै प्रचण्डले भने-‘टाउको भनेको राजा, महाराजा हुन्,पुच्छर भनेको कांग्रेस र एमालेका पुरानै सोच भएका नेताहरु हुन् ।’

प्रचण्डले माओवादी, मधेसी, जनजाति लगायतलाई किनारा लगाएर राजगद्दी चलाउँछु भन्ने दिवा सपना नदेख्नसमेत आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?