२ फागुन, काठमाडौं । सरकारले लगानीका लागि पहिचान गरेको पर्यटन क्षेत्रमा लगानी ओइरिन थालेको छ । स्वदेशी तथा विदेशी लगानीकर्ताले पर्यटनका विभिन्न क्षेत्रमा लगानी गर्ने घोषणा गरेका छन् ।
यसमा पनि सबैभन्दा बढी होटल क्षेत्रमा लगानी गर्नेहरु देखिएका छन् । साधारण पर्यटकस्तरीय होटलदेखि पाँचतारे डिलक्स होटलसम्म निर्माण गर्ने होडबाजी यतिबेला देखिन्छ । विदेशी लगानीकर्ताको समेत होटलमा आकर्षण देखिएको छ ।
उद्योग विभागबाट स्वीकृति लिएको विदेशी लगानी प्रस्ताव हेर्दा यो वर्ष पर्यटन क्षेत्रमा उल्लेख्य लगानी भित्रिने संकेत देखिएको छ । साउन देखि माघसम्मको अवधिमा तीन अर्ब एक करोड रुपैयाँ पर्यटनमा लगानी गर्ने प्रस्ताव आएको छ ।
यो प्रस्ताव अघिल्लो वर्षको सोही अवधिको तुलनामा साढे दुई अर्ब रुपैयाँ भन्दा बढी हो । अघिल्लो वर्षको साउन देखि माघसम्म जम्मा ४८ करोड रुपैयाँ मात्र पर्यटन क्षेत्रमा लगानीका लागि प्रस्ताव आएको थियो ।
उद्योग विभागका अनुसार लगानी प्रस्तावमध्ये ८० प्रतिशत भन्दा बढी होटल क्षेत्रमा रहेको छ । रुपन्देहीमा सवा एक अर्ब रुपैयाँ र झापामा ९० करोड रुपैयाँ होटल तथा रेष्टुरेन्टमा लगानी गर्नेगरि स्वीकृति लिएको उद्योग विभागले जनाएको छ ।
पछिल्ला दिनमा विश्वभर प्रख्याती कमाएका होटल चेनहरु नेपाल भित्रिने क्रम बढ्न थालेको छ । यसले पर्यटनका अन्य क्षेत्रहरुमा भन्दा होटल क्षेत्रमा लगानी बढी आउन लागेको देखिएको हो । यसै वर्षमात्र सोल्टीले नेपालगञ्जमा ४० करोड रुपैयाँको होटल निर्माण गरिरहेको छ । जहाँ विदेशी लगानी आउन लागेको हो ।
त्यस्तै, रुपन्देहीको मणिग्राममा हङकङको सिल्भर हेरिटेज ग्रुपले सुविधासम्पन्न रिसोर्ट बनाउन लागेको राजेन्द्र बजगाईंले बताएका छन् । झापामा पनि होटल तथा रिसोर्ट सञ्चालन गर्नेगरी ९० करोड रुपैयाँको प्रस्ताव आएको छ ।
उद्योग विभागका अनुसार पर्यटनमा आएको कुल लगानी प्रस्तावमध्ये ठूला परियोजनामा दुई अर्ब २२ करोड रुपैयाँ, मध्यमस्तरका परियोजनामा ३० करोड र साना परियोजनामा ६९ करोड रुपैयाँ रहेको छ ।
साना ठूला गरि ६४ परियोजना मार्फत भित्रिन लागेको लगानीबाट दुई हजार ४ सय ३२ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।
दश जिल्लामा लगानी गर्ने गरि आएको प्रस्तावमध्ये सबैभन्दा बढी रुपन्देहीमा रहेको छ भने दोस्रोमा झापा रहेको छ । यी दुई जिल्लामा क्रमश एक अर्ब १२ करोड र ९० करोड लगानी प्रस्ताव आएको हो ।
देशगत रुपमा हेर्ने हो भने यो अवधिमा सबैभन्दा बढी बेलायतबाट एक अर्ब १९ करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ भने ब्रिटिस भर्जिन आइल्यान्डबाट ९० करोड रुपैयाँ लगानी प्रस्ताव आएको छ ।
सधै अगाडि रहने भारत चीन भने यस वर्ष पछाडि परेका छन् । यस अवधिमा भारतबाट एक करोड रुपैयाँमात्र पर्यटनमा लगानी गर्ने प्रस्ताव आएको छ भने चीनको मूख्यभूमिबाट ७६ करोड र चीनको हङकङबाट ४ करोड लगानी गर्ने प्रस्ताव आएको छ ।
प्रतिक्रिया 4