+
+
Shares

एक घण्टामा ८ करोड व्यापार घाटा

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ५ गते ११:१४

Tato-pani-sadak-6

५ फागुन, काठमाडौं । निर्यातको तुलनामा आयात उच्च दरले बढेपछि वैदेशिक व्यापार घाटाले आकाश छुन थालेको छ । पछिल्लो समय मुलुकलाई एक घण्टामा ७ करोड ७५ लाख रुपैयाँ व्यापार घाटा हुने गरेको छ ।

राष्ट्र बैंकले सर्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । राष्ट्र बैंकका अनुसार ६ महिनाको अवधिमा मुलुकको व्यापार घाटा १६ प्रतिशतले बढेर ३ खर्ब ३४ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । यसलाई घण्टामा रुपान्तरण गर्दा पौने ८ अर्ब व्यापार घाटा भइरहेको देखिएको हो ।

अहिले मुलुकलाई मासिक रुपमा ५५ अर्ब ८० करोड, दैनिक रुपमा १ अर्ब ८६ करोड, एक मिनेटमा १२ लाख रुपैयाँ र एक सेकेन्डमा २१ हजार ५ सय रुपैयाँ व्यापार घाटा भइरहेको छ ।

कुल व्यापार घाटामध्ये भारत, चीन र अन्य मुलुकसँगको व्यापार घाटा क्रमशः १२ प्रतिशत, ४९.३ प्रतिशत र ९.४ प्रतिशतले बढेकोे छ ।
राष्ट्र बैंकका अनुसार ६ महिनामा कुल निर्यात ३.९ प्रतिशतले घटेको छ भने आयात १३.३ प्रतिशतले बढेको छ । यस अवधिमा ४३ अर्ब ३९ करोड रुपैयाँको वस्तुहरु निर्यात हुँदा ३ खर्ब ७८ अर्ब २२ करोड रुपैयाँ बराबरको वस्तुहरु आयात गरिएको छ ।

भारततर्फको निर्यात ८.१ प्रतिशतले घटेपछि कुल वस्तु निर्यात घट्न पुगेको हो । नेपालको कुल आयातमध्ये तीन भागको दुई भागभन्दा बढी भारतसँग मात्र हुने गरेको छ ।

अलैंची, जिंक शीट, तामाको तार, जुटका समाना लगायतका वस्तुहरुको निर्यातमा आएको ह्रासका कारण भारततर्फको निर्यात घट्न गएको हो ।

चीनतर्फको निर्यात भने १६.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा चीनतर्फको निर्यात २.२ प्रतिशतले मात्र बढेको थियो । प्रशोधित छाला, उनी गलैंचा, हस्तकलाका सामान, नुडल्स लगायतका बस्तुहरुको निर्यात चीनतर्फ बढेको छ ।

अन्य मुलुकतर्फको निर्यात वृद्धिदर अघिल्लो वर्षको तुलनामा घटेर ३ प्रतिशतमा सिमित भएको छ । तेस्रो मुलुकमा पस्मिना, तयारी पोशाक, चिया, चाँदीका गर-गहना लगायतका वस्तुहरु निर्यात बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?