६ फागुन काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ५ खर्ब १३ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राख्ने भएको छ । बुधबार बसेको व्यवस्थापिका संसदको अर्थ समितिको बैठकमा अर्थसचिव सुमनप्रसाद शर्माले आगामी वर्षको राजस्वको लक्ष्यबारे सभासदहरुलाई जानकारी गराए ।
राष्ट्रिय योजना आयोगले आर्थिक वर्ष २०७२/०७३ को बजेटको सीमा ७ खर्ब ३५ अर्ब रुपैयाँ तोकेको छ । जसमध्ये ५ खर्ब १३ अर्ब राजस्वबाट उठाउने र १ खर्ब ४७ अर्ब रुपैयाँ वैदेशिक ऋणबाट बजेटको स्रोत जुटाउने सचिव शर्माले जानकारी दिए । त्यसैगरी, ७५ अर्ब रुपैयाँ आन्तरिक ऋणबाट उठाउने उनले बताए ।
राजस्व लक्ष्य चालू अार्थिक वर्षको भन्दा २१ प्रतिशत अर्थात १ खबर् ७ अर्ब रूपैयाँले बढी हो ।
अर्थ समितिले बजेट खर्च हुन नसक्नुको कारण र आगामी बजेट कस्तो बन्दैछ भन्ने विषयमा सरोकारवालाहरुलाई बोलाएर छलफल गरेको थियो । अर्थमन्त्री डा. रामशरण महतलाई बैठकमा बोलाइए पनि उनी उपस्थित भएनन । बैठकमा योजना आयोगका सदस्य डा. स्वणिर्म वाग्ले, अर्थ सचिव सुमन शर्मा, सहसचिव बैकुण्ठ अर्याललगायत उपस्थित थिए ।
सो अवसरमा सचिव शर्माले आवश्यक तयारीबिना बजेटमा कार्यक्रम राख्ने गरेकाले कार्यान्वयन हुन नसकेको बताए ।
‘वातावरणीय प्रभाव मुल्यांकन, संभाव्यता अध्ययन, पुस मसान्तसम्मको तयारी, जग्गा अधिकरणलगायतका काम भएका परियोजनामा मात्रै बजेट छुट्याउने व्यवस्था गरियो भने बजेट खर्च नहुने समस्या आउँदैन ।’ शर्माले भने ।
सभासदहरुले आगामी बजेटको कस्तो आउँदैछ भनेर जिज्ञासा राखेका थिए । सभासद भरतमोहन अधिकारीले बजेट कस्तो बनाइँदैछ भने छलफल तीब्र बनाउने बेला आएको बताए ।
‘यस्तो गंभीर विषयको छलफलमा अर्थमन्त्री र योजना आयोगका उपाध्यक्ष आउनुभएको छैन’ अधिकारीले भने- छलफललाई निरन्तरता दिउँ, आगामी दिनमा उहाहरुलाई पनि छलफलमा अनिवार्य उपस्थित गराऔं । अनि छलफल बढी प्रभावकारी हुन्छ ।’ बैठकमा आधादर्जन सभासदहरुले बोलेका थिए ।
प्रतिक्रिया 4