७ फागुन, काठमाडौं । मोहन वैद्य नेतत्वको नेकपा माओवादीले ३३ दलीय मोर्चा ब्यूँताउँदै फागुन २५ गते काठमाडौंमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

दोस्रो संविधानसभा निर्वाचनताका बैद्य माओवादीको अगुवाइमा ३३ दलीय मोर्चा बनेको थियो । तर, पछिल्लो समय लगभग छिन्नभिन्न भएको ३३ दलीय मोर्चालाई बैद्य माओवादीले फेरि ब्यूँताएका हुन् ।
बुद्धनगरमा बसेको बैठकमा प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चामा गइसकेका दलहरु भने अनुपस्थित थिए । कुमार लिङदेनको संघीय लिम्बुवान पार्टी नेपाल, सामाजिक लोकतान्त्रिक पार्टी, नेकपा संयुक्त मार्क्र्सवादी लगायत दलहरु अनुपस्थित भएका हुन् ।
आन्दोलन गर्ने निर्णय
३३ दलको बैठकले संविधानसभा विघटन र सर्वपक्षीय राजनीतिक सभा गठन र जनजीविकाका मागहरु राख्दै दबावमूलक आन्दोलन गर्ने निर्णय गरेको छ । जसअनुसार १५ गते अन्तरक्रिया र २५ गते रत्नपार्क शान्तिबाटिकामा प्रदर्शन गर्ने रहेका छन् ।
बैठकपछि माओवादी अध्यक्ष एवं ३३ दलीय राष्ट्रिय मोर्चाका संयोजक मोहन बैद्यद्वारा जारी विज्ञप्तिमा माघ ८ सम्मको परिघटना, जनताको संविधान निर्माण कार्य विफल हुँदै जानु र संविधानभा र संविधानसभा यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरुको हातमा पर्नुले आफूहरुले उठाउँदै आएको नारा पुष्टि हुँदै गएको उल्लेख छ ।
प्रतिक्रिया 4