७ फागुन काठमाडौं । अर्थमन्त्री डा रामशरण महत र नेपाल भ्रमणमा रहेका बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री डेसमण्ड स्वाइनबीच अर्थमन्त्रालयमा बुधबार भेटघाट भएको छ ।
सो अर्थमन्त्री महतले नेपालमा हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका बीच आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य प्रगति हासिल भएको जानकारी दिए ।
‘विगत झण्डै दुई दशकको अवधिमा गरिवी उल्लेख्य मात्रामा घटेको छ । खानेपानीमा पहुँच बढेको छ । पूर्वाधारको राम्रो विकास भएको छ । नेपालीको जीवनस्तरमा सुधार भै औषत आयुमा झण्डै १७ बर्षले बृद्धि भै ६९ बर्ष पुगेको छ । बाल मृत्युदर, मातृ मृत्युदर घटेको छ ।’ महतले भने ।
अहिले फेरि सरकारले संबिधान निर्माणसँगै आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिँदै विकास प्रक्रियाले तिब्रता लिएको बताए ।
मन्त्री महतले लोकतान्त्रिक सरकार भएकाले मित्रराष्ट्रहरुबाट प्राप्त सहयोगको प्रभावकारिता बढेको जानकारी दिए । महतले विभिन्न मुलुकहरुबाट प्राप्त सहयोग नेपालीको वास्तविक चाहना अनुसार हुन सकोस् भनेर नयाँ सहायता नीति अवलम्बन गरिएको र दाताहरुले यसमा असजिलो महसुस गर्न नहुने स्पष्ट पारे ।
‘सहयोगको प्रभावकारिता होस् भनेर नै सहायता नीतिमा सहयोगको सीमा र सहयोग रकम सरकारको जानकारीमा आउने व्यवस्था गरिएको हो ।’ उनले भने ।
हिंसात्मक द्वन्द्व र राजनीतिक अस्थिरताका कारण विगतमा तीब्ररुपमा विकासको रफ्तारमा अगाडि बढ्न नसकेको बताए । जवाफदेही र लोकतान्त्रिक सरकार आएसँगै अर्थतन्त्रमा संरचनागत सुधार गरिएको र यसले अर्थतन्त्रको आकार बढेको जानकारी दिए ।
बेलायतका अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री स्वाइनले आफू नेपालमा बेलायतको सहयोगको उपयोगबारे स्थलगत भ्रमण गरी जानकारी लिन नेपाल आएको बताउँदै बढीभन्दा बढी सहयोग उपयोग हुने वातावरण तयार गर्न अनुरोध गरे । उनले विकास परियोजनाहरुमा कर्मचारीहरुको फेरबदल भैरहँदा काम गर्न असजिलो हुने गरेको डीएफआईडीको अनुभव पनि व्यक्त गरे ।
सो अवसरमा अर्थमन्त्रालयका सहसचिव मधुकुमार मरासिनी तथा मन्त्रालयका अधिकारीहरु र नेपालका लागि बेलायतका राजदूत एण्ड्यु जेम्स स्पार्क तथा दूतावासका अधिकारीहरुको उपस्थिति थियो ।
प्रतिक्रिया 4