Comments Add Comment

इन्दिराको आँसु र स्टेज मेडिटेसन

पेशाले गायिका, तर चल्तीका हिरोईन भन्दा कम छैनन् इन्दिरा जोशी । स्वरसँगै उनको सुन्दरताले पनि दर्शकलाई मोहित गर्छ, जसले गर्दा उनी स्टेज क्विनका रुपमा स्थापित भइसकेकी छिन् ।

स्टेजमा बारुले कम्मर हल्लाएर दर्शकलाई जुरुक्कै पार्ने यी ‘नेपाली शाकिरा’लाई हिरोइन बन्ने रहर भने कहिल्यै लागेन । आफ्ना म्युजिक भिडियोमा सधै लिड रोलमा देखिने यी इन्दिरा भन्छिन-‘हरेकले गायक गायिकाले आफ्नो भिडियोमा आफै मोडलिङ गर्नुपर्छ । किनकी अरुले फिलिङ्स दिन सक्दैन ।’

के इन्दिरा कम्मर हल्लाएकै भरमा चलेकी छिन त ? गायकको मुख्य हतियार स्वर नै रहेको बताउँदै इन्दिरा भन्छिन- ‘रुप राम्रो हुनु प्लस पोईन्ट मात्रै हो । स्वर राम्रो भएपछि दर्शकले मन पराउँछन् ।’
indira-joshi
‘नेपाली तारा’बाट बनेकी तारा

पहिलो ‘नेपाली तारा’मा सहभागी भएर उत्कृष्ट पाँचभित्र परेकी इन्दिराका लागि त्यही नै सवैभन्दा ठूलो सांगीतिक खुडकिलो बन्यो । ताज जित्न नसके पनि इन्दिरालाई लाग्छ- ‘नेपाली ताराले सबथोक दियो ।’

नेपाली तारा सुरु हुँदा उनि भर्खर काठमाडौ आएकी थिईन् । त्यतिवेला नेपाली गीत गाउन कठिन थियो उनलाई । नवलपरासीमा जन्मेकी इन्दिराले स्कुल पढ्दासम्म धेरै जसो हिन्दी गीत नै सुनिन् । त्यो भेगका धेरै मान्छेले हिन्दी गीत सुन्थे । उनमा पनि हिन्दी गीतको प्रभाव पर्नु स्वभाविक थियो ।

नेपाली तारामा सहभागी हुँदै गर्दा भर्खरै संगीत सिक्दै थिईन् । उनी कार्यक्रममा जानुअघि हरेक गीत सिकेर मात्रै गाउँथिन् । समय असाध्यै थोरै हुन्थ्यो ।

आफु टप फाईभवाट बाहिरिए पनि यस्ता रियालीटी शो हरेकका लागि क्षमता देखाउने महत्वपूर्ण ठाउँ हो जस्तो लाग्छ उनलाई ‘म त भन्छु आफुलाई रुची हुने युवायुवतिले यस्ता कार्यक्रममा सहभागी हुनुस् करिअर बन्छ ।’ आग्रहको भाषामा भनिन् ।

एक्लै रुँदाको आनन्द

धेरै इमोसनल छिन् इन्दिरा । उनलाई रुन खास कारण चाहिदैन । पहिले-पहिले त कसैले ठूलो स्वर गर्दा पनि पीलपील आँशु झरिहाल्थ्यो । नेपाली ताराको प्रतिस्पर्धामा पनि त्यही पिलपिल आँसु धेरै दर्शकको मन जित्ने हतियार थियो उनका लागि । दुःख पर्दा मात्रै हैन खुसी हुँदा पनि सजिलै रोइदिन्छिन् उनि । भन्दै थिईन ‘नेपाली तारामा त कति रोएँ कति ।’

अहिले पनि उनको आँखावाट झर्ने आँशुको रफ्तार घटेको छैन । तर, अहिले उनी रोएको हत्तपत्ति अरुले थाह पाउँदैनन् । कारण- ढोका थुनेर रुन्छिन् । उनलाई लाग्छ ‘स्टे्रस हटाउन रुनु पनि पर्छ । जीवनमा हाँसो जस्तै महत्व छ रुवाईको पनि ।’

हत्तपत्त खुल्न नसक्नु आफ्नो कमजोरी हो कि जस्तो लाग्छ उनलाई । ‘म अलि इन्ट्रोभर्ट छु हत्तपत्त खुल्न सक्छिन । मेरा साथी पनि थोरै छन् ।’

अहिले पनि उनका साथीहरु थोरै छन् । उनका जति साथी छन् सबै स्कुुलकै । अहिले पनि उनको धेरै भेटघाट पुराना साथीहरुसँगै हुन्छ ।

भिडियो

नारीबादी इन्दिरा !

विश्वका धेरै मुलुक घुमेकी इन्दिरा नेपाली महिलाको जीवनशैलीवाट सन्तुष्ट छैनन् । उनको बुझाईमा आम महिलाको मानसिकता नै कमजोर भएको कारण हाम्रो समाजलाई हरेक कुरामा मेल फिगरले निर्देशन गरिरहेको छ ।

नेपाल मात्रै नभएर सिंगो एशियाकै पुरुष महिलामैत्री नभएको उनको बुझाई छ । महिला अधिकारकर्मीकै भाषामा उनी भन्छिन् ‘हाम्रो स्कुलिङनै पुरुषमैत्री छ । स्कुलमा भर्ना गर्दा देखी नागरिकता बनाउदासम्म बुबा, दाजु, काका को निर्देशन जरुरी मानिन्छ ।

‘महिलाहरुले पढेर मात्रै केही हुँदैन संस्कार सबै भन्दा ठूलो कुरा हो ।’ उनले भनिन् । ‘तपाई आफै भन्नु न कुनै केटीले डब्बल माष्टर्स गरे पनि राती १२ बजे सडकमा एक्लै हिंड्न आँट गर्दैनन् ।’ युवतिहरुको कमजोर मानसिकताको कुरा गरिन् ।

महिलाहरुको विषयमा चाँडै मुल्याङकन गर्ने प्रवृत्ति मन पर्दोरहेनछ उनलाई । कुनै महिलाको वारेमा कुनै टिप्पणी गरिहाल्छन् र पत्याईहाल्छन् । उनको बुझाईमा कुनै पनि पुरुषले महिलाको वारेमा झट्टै टिप्पणी गर्छन् । यतिसम्म कि कसैले युवतिका वारेमा हावादारी कुरा गरे पनि पत्याइहाल्छन् पुरुषहरु ।

यति भन्दैमा समाजप्रति पुरै नकारात्मक छैनन् यी गायिका । हाम्रो समाजमा पारिवारिक जीबनको ठूलो मुल्य छ । जुन कुरा अरु समाजमा भेटिदैन । बुबा आमालाई सम्मान गर्ने परिपाटी, संयुक्त परिवार र बैबाहिक संस्कार नेपाली समाजवाट सिक्न लायक चिज हो रे ।

भ्रष्ट समाज

indira joshi 1भ्रष्टाचारको सुचकांकमा नेपाल हरेक वर्ष उकालो लाग्नुमा हामी सबैले भुमिका छ भन्छिन् इन्दिरा । उनको बुझाईमा हाम्रो बानी ब्यहोरा भ्रष्ट छ । जिम्मेवारीवाट भाग्छौं र अरुलाई दोष लगाउँछौं । सिष्टमको विकास गर्नुपर्छ भन्नेमा राज्यले पहलै गरेन । यसको उपाय पनि छ उनीसँग । माष्टरी शैलीमा भन्छिन ‘हरेक मान्छे इमान्दार भयो भने धेरै समस्या समाधान हुन्छ ।’

सडक विभागले काठमाडौको सडक बिस्तार गरे पनि सडकको समस्या समाधान भए जस्तो लाग्दैन उनलाई । कारण हाम्रोमा रोडको विकास त भयो । तर, संस्कारको विकास भएन ।

आफ्नै चार पाङ्ग्रे सवारी साधनमा हुईंकिने यी गायिकालाई सडकमा बजेको हर्नले सार्‍है दिक्क बनाउँदो रहेछ ।

गाडी किन्नु अघि उनि स्कुटरमा हिंड्थिन् । स्कुटर चलाउदा पनि असाध्यै कम हर्न बजाएको दाबी गर्छिन् । अहिले कतिपय निषेधित क्षेत्रमा समेत ठुलो स्वरमा हर्न बजाएर गाडी कुदिरहेको देख्दा दिक्क लाग्छ उनलाई ।

उनको बुझाईमा हाम्रोमा हेप्नेहरुको पनि र्‍याङकिङ छ । उनले देखेकी छिन् साईकलले बाटोमा हिंड्नलाई हेप्छ, मोटरसाईकलले साईकललाई, कारले मोटरसाईकल र ठुला गाडीले सानालाई ।

राजनीतिले तानेन

राजनीतिवारे राम्रै चासो राख्छिन् । तर, उनले आजसम्म एक जना पनि राजनीतिज्ञ देखेकी छैनन् जसले यो देशका लागि केही गर्न सक्छ ।

ईमान्दार राजनीतिको खडेरी पर्नुमा केबल राजनीतिज्ञलाई मात्रै दोष दिन नहुने उनको बुझाई छ । उनि भन्छिन ‘हामी आफै इमान्दार भयौं भने नेताहरु पनि इमान्दार हुन वाध्य हुन्छन् ।’

राज्यले हामीलाई केही दिएन भन्ने प्रवृत्तिप्रति उनी असहमत छिन् । उनको भनाई अनुसार राज्यले कसैलाई केही दिएको छैन । दिने नै हो भने जहाँ स्कुल छैन, खानेपानी छैन, जसले दिनभरि काम गर्दा पनि दुइछाक खान सक्दैन उसलाई दिनुपर्छ ।

कतिपय दुर्गम गाउँका वालवालिकाले स्कुल जान नपाएको देखेकी इन्दिरा ती भेगमा राज्यको उपस्थिती हुनुपर्ने धारणा राख्छिन् ।

स्टेजमै मेडिटेशन

जीवनमा सबै भन्दा रमाईलो स्टेजमा गाउदा हुन्छ अरे उनलाई । उनि भन्छिन ‘स्टेज मेरा लागि मेडिटेशन हो । सबैभन्दा धेरै आनन्द स्टेजमै लिन्छु ।’

कमाईको केही प्रतिशत रकम समाज सेवाका लागि छुट्याएको दाबी गर्ने इन्दिरा भविष्यमा संगीत क्षेत्रमै काम गर्ने बताउँछिन् । ‘म विषेश त संगीतको क्षेत्रमा आउने नयाँ भाई बहिनीहरुका लागि काम गर्न चाहन्छु । ताकि उनीहरुले त्यहीवाट करिअर बनाउन सकुन् ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment