Comments Add Comment

हिमपात भएपछि लोमान्थाङ हिँडेका पर्यटक बाटोबाटै फर्किए

Tourist

८ फागुन, मुस्ताङ । पटक-पटकको हिमपातका कारण बाटो अवरुद्ध भएपछि लोमान्थाङ जाने पर्यटक बिच बाटोबाटै फर्किन बाध्य भएका छन् ।

फागुन महिना सुरु भएसँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रको भ्रमणमा आएका तीन अमेरिकन नागरिक कागबेनी र चैलेको बीच पर्ने बाटोमा हिउँ जमेपछि फर्किएका हुन् । साँघुरो र गल्छी परेको बाटोमा पूरै हिउँ जमेपछि उनीहरु अघि बढ्न नसक्दा फर्किएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मुस्ताङका धनबहादुर गुरुङले जानकारी दिए ।

फागुन महिना सुरु भएसँगै जिल्लामा भित्रिने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । गुरुङका अनुसार उपल्लो मुस्ताङमा जाने चैले, ताब्यालगायत स्थानमा हिउँ जमेकाले पैदलमार्फत अघि बढ्नसक्ने अवस्था छैन । ‘त्यो ठाउँमा बाटो अप्ठ्यारो छ, खाल्डो भएकाले हिउँ निकै पछिसम्म जमेर बस्छू-गुरुङले भन्नुभयो- ‘आफैं पग्लन त समय लाग्छ, डोजर नै प्रयोग गर्नुपर्छ ।’

गत वर्ष पनि उक्त क्षेत्रमा हिउँ जमेकाले थुप्रै पर्यटक बीच बाटोबाटै फर्कनु परेको थियो । अनौठो भू-बनोट, रहनसहन, कलासंस्कृतिको अध्ययन र राजदरबारको अवलोकनका पर्यटकहरु लोमान्थाङ पुग्ने गर्दछन् । सन् २०१४ मा चार हजार १०० पर्यटकले लोमान्थाङ भ्रमण गरेको एक्यापले जनाएको छ । त्यसमा अधिकांश तेस्रो मुलुकका नागरिक थिए ।

उपल्लो मुस्ताङलाई याम सुरु नहुँदै पर्यटक आउँदा फर्किनुपरेको एक्याप मुस्ताङका प्रमुख विदुर कुइँकेलले जानकारी दिए । ‘उपल्लो मुस्ताङ जाने भनेको अलि भिआइपी नै हुन्छन्, खोज अनुसन्धान र प्राकृतिक सुन्दरतामा रमाउन उनीहरु त्यहाँ जान्छन्, चैतपछि बल्ल त्यहाँको वातावरण राम्रो मानिन्छू-प्रमुख कुइँकेलले भन्नुभयो- ‘जिल्ला विकास समितिसँग सहकार्य गरेर बीच बाटोमा रहेको हिउँ हटाउने तयारी गरेका छौँ ।’

केही वर्षअघि सम्म लोमान्थाङ क्षेत्रमा होटल व्यवसायको अभाव हुँदा पर्यटकलाई सास्ती हुने गरेको थियो । तर पछिल्लो समय त्यस क्षेत्रमा पनि सुविधासम्पन्न होटल थपिँदै गएको प्रमुख गुरुङको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment