+
+
Shares

माथिल्लो तामाकोसी आयोजनालाई डलर भुक्तानीमा समस्या

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन ९ गते १९:४४

९ फागुन, चरीकोट । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालाई विदेशी मुद्रा डलरमा भुक्तानीमा समस्या आएको छ ।

लामाबगरको गोंगरमा निर्माणाधीन आयोजनाले विदेशी कम्पनीलाई विदेशी मुद्रा डलरमा भुक्तानी गर्नुपर्ने भएकाले समस्या आएको जनाएको हो ।

विदेशी मुद्रा भुक्तानीका लागि नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिन १० देखि १५ दिनसम्म लाग्ने बताउँदै समस्या समाधान गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिएको आयोजनाको मासिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।

आयोजनाको मुख्य ठेकेदार विदेशी भएकाले उनीहरूले बोलपत्र पेस गर्दा ७५ प्रतिशत विदेशी र २५ प्रतिशत नेपाली मुद्रामा भुक्तानी लिने अवस्थामा सम्झौता भएबमोजिम भुक्तानी दिनुपर्ने आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए ।

आयोजनाको मुख्य चारवटा चरणका विदेशी ठेकेदार र निर्माण सुपरीभेक्षणसँगको खरिद सम्झौताअनुसार विदेशी मुद्रामा पनि भुक्तानी गर्नुपर्ने उल्लेख गरिएको छ । चरण नं १ ठेकेदार र परामर्शदातालाई हरेक महिना र अन्य ठेकेदारलाई आवधिक रूपमा तीन/चार महिनामा बिलअनुसार भुक्तानी गर्नुपर्ने हुन्छ ।

पटक-पटक भुक्तानीका लागि यसरी भुक्तानी गर्दा विदेशी मुद्राको हकमा प्रत्येक बिलका लागि हरेकपटक नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिनुपर्ने र स्वीकृतिका क्रममा धेरै दिन लाग्ने भएको हुँदा असहज भइरहेको प्रवक्ता न्यौपानेले बताएका छन् ।

आयोजनाले विदेशी मुद्रा भुक्तानीका लागि चौमासिक वा अर्धवाषिर्क रूपमा एकमुष्ट अधिकतम सीमा तोकी स्वीकृति प्रदान गर्नसमेत सम्बन्धित निकायसँग आग्रह गरेको आयोजनाले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?