१० फागुन, मोरङ । मोरङको विराटनगरमा सञ्चालित गजलक्ष्मी सहकारी संस्था लिमिटेडका पदाधिकारीहरुले ग्राहकले बचत गरेको तीन करोड रूपैयाँ लिएर फरार भएका छन् ।
गत तीनदिनदेखि सहकारी संस्थामा ताला बन्द गरी सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ, उपाध्यक्ष दीपेश शाक्य, सचिव नारायण श्रेष्ठलगायतका पदाधिकारीहरु फरार भएको पीडितले जानकारी दिएका छन् ।
पीडित डिल्ली घिमिरेका अनुसार उपाध्यक्ष दीपेश शाक्यले १६ लाख रूपैयाँ, सचिव नारायण श्रेष्ठले २४ लाख रूपैयाँ र अन्य सञ्चालक समितिका पदाधिकारीले संस्थाको सबै रकम लिएर फरार भएको हुन सक्ने बताए।
घिमिरेलगायत एक हजार २०० बचत कर्ताको तीन करोड रूपैयाँ बराबरको रकम लिएर फरार भएको उनीहरुको भनाइ छ । पीडित घिमिरेलगायतका पीडितहरुको टोलीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिइसकेका छन् ।
उता जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले फरार रहेका सञ्चालक समितिका पदाधिकारीहरुको खोजी कार्य भइरहेको जानकारी दिए । रासस
प्रतिक्रिया 4