११ फागुन, काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पहिलो चरणमा तीन करोड ६० लाख ६ हजार कित्ता साधारण सेयर सोमबारदेखि बिक्री खुल्ला गरेको छ ।
परियोजनाबाट प्रभावित स्थानिय बासिन्दा, ऋण सम्झौता हुँदाका खबत कर्मचारी संचय कोषमा रकम जम्मा गर्ने बचतकर्ता, ऋण प्रदान गर्ने संस्थाका कर्मचारी तथा नेपाल विद्युत प्राधिकरणका कर्मचारीहरुका लागि शेयर निष्काशन गरिएको हो ।
कम्पनीले स्थानिय बासिन्दाका लागि एक करोड ५ लाख ९० हजार कित्ता शेयर र कर्मचारी सञ्चयकोषका वचत कर्ताका लागि एक करोड ८२ लाख ९९ हजार ५ सय २० कित्ता शेयर छुट्टाएको छ ।
त्यसैगरि, आयोजनालाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीका लागि ३० लाख ४९ हजार ९ सय २० कित्ता र कम्पनी तथा विद्युत प्राधिकरणका कर्मचारीका लागि ४० लाख ६६ हजार ५ सय ६० कित्ता शेयर छुट्टाएको कम्पनीले जनाएको छ ।
आयोजनाको शेयर निष्काशन तथा बिक्री प्रवन्धकको काम नागरिक लगानी कोषले गरिरहेको छ भने एनसीएम मर्चेन्ट बैकिङ लिमिटेडले सह बिक्री प्रबन्धकको काम गर्ने छ ।
यसरी दिने आवेदन
कर्मचारी संचयकोषमा रकम जम्मा गर्ने बचतकर्ताहरुले नागरिक लगानी कोषको कार्यालय बानेश्वर, एनसिएम मर्चेन्ट बैंकिङ लिमिटेडको कमलपोखरी कार्यालय तथा राष्ट्रिय वाणिज्य बैंकका देशभर रहेका शाखा कार्यालयहरुमा आवेदन बुझाउने व्यवस्था मिलाइएको छ ।
त्यसैगरी, तेह्रथुम, ताप्लेजुङ, रसुवा र सिन्धुपाल्चोकका बचकर्ताले जनता बैंकका शाखाबाट, फिदिम, सल्यान र मुस्ताङका बचतकर्ताले माछापुच्छ्रे बैंकका शाखाबाट, डोल्पा र जाजरकोटका बचतकर्ताले सिटिजन्स बैंक इन्टरनेशनलका शाखाबाट र मनाङका बचकर्ताले सिटी डेभलपमेन्टको शाखाबाट शेयरको आवेदन बुझाउन सक्नेछन् ।
आयोजनाको ऋण सम्झौता भएको (२०६७ साउन १४) बखत संचयकोषमा रकम जम्मा गर्ने बचकर्ताले मात्र साधारण शेयरका लागि आवेदन दिन पाउनेछन् ।
ऋण प्रदान गर्ने संस्थाहरु नेपाल टेलिकम तथा विद्युत प्राधिकरणका कर्मचारीहरुले नागरिक लगानी कोषको कार्यालय नयाँ बानेश्वर, एनसिएम मर्चेन्ट बैंकिङको कार्यालय कमलपोखरीबाट आवेदन बुझाउन सक्नेछन् ।
राजधानीबाहिरका लागि भने बुटवल, भैरहवा, धनगढी र नेपालगञ्जमा सिद्धार्थ डेभलपमेन्ट बैंकका शाखाहरुमा आवेदन दिन सकिनछ । त्यस्तै, विरगंज, पोखरा, हटौंडा, बिर्तामोड, नारायणगढ र चरिकोटका लागि यति डेभलपमेन्ट बैंकको शाखाबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
विराटनगरबाट विराटलक्ष्मी विकास बैंक, जनकपुरबाट सहयोगी विकास बैंक, लाहानबाट सृजना फाइनान्स, दाङबाट वेष्टर्न डेभलपमेन्ट बैंक र धनकुटाबाट काबेली विकास बैंकमार्फत आवेदन फारम बुझाउन सकिने छ ।
आयोजनाबाट प्रभावित क्षेत्र दोलाखाका बासिन्दाहरुका लागि भने चैत १ गतेदेखि मात्र आवेदन फारम संकलन गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीले शेयर बिक्री अवधि छिटोमा फागुन २५ गतेसम्म र ढिलोमा चैत ५ गतेसम्म रहने जानकारी दिएको छ ।
नागरिक लगानी कोषबाट चेकमात्र लिने कम्पनीले स्पष्ट पारेको छ । ऋण दिने संस्थाहरु कर्मचारी संचयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बिमा संस्थानका कर्मचारीहरुको आवेदन फारमहरु एकमुष्ठ बिक्री प्रबन्धकबाट लिने जनाएको छ ।
प्रतिक्रिया 4