१२ फागुन, काठमाडौं । सरकारले नेपाली सेनाको रथीमा राजेन्द्रबहादुर क्षेत्रीलाई बढुवा गरेको छ । क्षेत्रीलाई अब प्रधानसेनापति बन्ने बाटो खुलेको छ ।
मंगलबारको मन्त्रिपरिषद बैठकले रथीमा बढुवा गर्ने निर्णय गरेसँगै क्षेत्रीलाई भावी प्रधानसेनापति बन्ने बाटो खुलेको हो । यसअघि भावी प्रधानसेनापतिको लाइनमा पवनबहादुर पाण्डेको नामसमेत चर्चामा थियो । उनको अवकास पछि क्षेत्री प्रधानसेनापतिको एक्लो दाबेदार बनेका छन् ।
यसैवीच मंगलबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्राविधिक उपरथी योगेन्द्रबहादुर खाँणलाई पनि बढुवा गरी विकास निर्माण स्थपति निर्देशनालयमा पदस्थापन गरेको छ । नरेश बस्नेतले अवकाश पाएपछि सो पद रिक्त थियो ।
गभर्नरका लागि समिति बन्यो
यसैगरी गभर्नर नियुक्ति सिफारिस गर्न अर्थमन्त्री डा. रामशरण महतको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको छ । समितिमा पूर्वगभर्नर हिमालय शमसेर जबरा र अर्थविद पार्थिवेश्वर तिमल्सिना सदस्य छन् ।
हालका गभर्नर युवराज खतिवडाको कार्यकाल चैत्रको पहिलो साता सकिँदैछ । यो पनि पढ्नुहोस-राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको ‘लिगलिगे दौड’
अम्बर गुरुङको उपचार खर्च ब्यहोर्ने
संगितज्ञ अम्बर गुरुङको सबै उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले गुरुङको उपचारमा लाग्ने सबै खर्च व्यहोर्ने निर्णय गरेको हो ।
विभिन्न स्थानमा राजनीतिक नियुक्ति
कानुन सुझाव आयोगको सदस्यमा अधिवक्ताहरु विजया अर्याल, बलबहादुर राई र दूर्गा अर्याल नियुक्त भएका छन् ।
त्यस्तै खुला विश्वविद्यालयको कार्यकारी निर्देशकमा राजेश अग्रवाल नियुक्त भएका छन् । उदयपुर सिमेन्टको महाप्रवन्धकमा सुरेन्द्र पौडेल र उच्चस्तरीय प्रशासन सुधार सुझाव आयोगको अध्यक्षमा काशिराज दाहाल नियुक्त भएका छन् ।
यसअघि आयोगको अध्यक्षमा कृष्णहरि बास्कोटा थिए । उनी हाल सूचना आयोगमा छन् ।
प्रतिक्रिया 4