+
+
Shares

एमाओवादीलाई सभा रोक्न कांग्रेसको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १३ गते १६:५१

१३ फागुन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले फागुन १६ गते एमाओवादी मोर्चाले खुलामन्चमा गर्न लागेको सभालाई रोक्ने पहल गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

NC-Central-Committee-Meeting

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्नेहरुले विपक्षी मोर्चालाई वार्तामा ल्याउने पहल गर्न पनि माग गरे ।

एमाओवादी कार्यकर्ताहरु भाटा लिएर सडकमा प्रदर्शन गर्न सुरु गरिसकेकाले जनतामा आतंकको स्थिति आएको भन्दै कांग्रेस नेताहरुले सभालाई रोक्ने उपाय खोज्न सुझाव दिएका हुन् ।

बैठकपछि कांग्रेस प्रवक्ता दिलेन्द्रप्रसाद बडुले सबैभन्दा ठूलो दल र सरकारको नेतृत्वकर्ताको हैसियतले कांग्रेसले विपक्षीलाई वार्तामा ल्याउन वातावरण बनाउनु पर्नेमा धेरैले जोड दिएको जानकारी गराए ।

‘नेतृत्वलाई देउवा पक्षको सहयोग’

संस्थापन पक्षका नेताहरुले पार्टी सभापति तथा प्रधानमन्त्री सुशील कोइरालालाई शेरबहादुर देउवा पक्षले असहयोग गरेको आरोप समेत लगाएका थिए । सरकार सञ्चालन र संविधान निर्माणमा कांग्रेस नेतृत्वको सरकार असफल भएको आरोप असन्तुष्ट पक्षले लगाइरहेकोबेला संस्थापन पक्षले नेतृत्वको बचाउ गरेको हो ।

‘मन्त्रीमण्डल गठनदेखि हरेक क्षेत्रमा भागबण्डा खोज्ने अनि उल्टै सरकार सञ्चालन र संविधान निर्माणको काममा नेतृत्व असफल भयो भनेर आलोचना गर्नु तर्कसंगत भएन,’ संस्थापन पक्षका नेताले बैठकमा भनेका धारणाबारे जानकारी दिँदै एक नेताले भने, ‘सभापति ज्यूले कहाँ कसरी एकलौटी गर्नभयो, कि त प्रमाण दिन सक्नु पर्‍यो होइन भने त्यसै आरोप लगाउन पाईंदैन ।’

एमाओवादीलाई विश्वासमा लिन सुझाव

बैठकमा धारणा राखेका अधिकांश सदस्यहरुले एकीकृत नेकपा माओवादीको सहमतिबिना दुई तिहाई बहुमतको प्रक्रिया अगाडि बढाउन नहुने बताएका थिए । उनीहरुले शान्ति प्रक्रियाको सहयात्री भएकाले एमाओवादीलाई विश्वासमा लिनका लागि ठूलो पार्टीको नाताले कांग्रेसले नै लचकता अपनाउनुपर्ने बताएका थिए ।

पार्टी सभापति तथा प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको बैठकमा सहभागीहरुले सहमतिको विकल्प खुला राख्न सुझाव दिएको केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए ।

‘सहमतिको पहल जारी राख्नुपर्छ तर, सहमतिका नाममा अनन्तकालसम्म कुर्न नहुने धारणा आएको छ,’ पौडेलले भने ।

तस्वीर : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?