१४ फागुन, लुम्बिनी । काम लगाइदिने भन्दै नेपाल भारत सीमानाका सुनौली हुँदै भारत लैजान लागिएका पाँच युवतीलाई उद्धार गरिएको छ ।
चेलीबेटी तथा मानव बेचबिखन विरुद्ध कार्यरत संस्था केआई नेपाल रुपन्देहीले सुनौली नाका हुँदै भारततर्फ लैजाँदै गरिएका पाँचजना नेपाली युवतीको बेलहिया सीमा क्षेत्रबाट उद्धार गरेको जनाएको छ । युवतीलाई निजी नम्बरको जिपमा राखेर सिमाना पार गराउन लागिएको थियो ।
आफ्नो घर कोलकता र हाल काठमाडौँमा बस्दै आएको बताउने मनोज सेट्ठीले उनीहरुलाई प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको केआई नेपालकी प्रमुख तारा सापकोटाले बताए ।
उद्धार गरिएका युवतीमध्ये दुई चितवनका, एक दाङका, सिन्धुपाल्चोक र भारत सिक्किम घर भएर लामो समयदेखि काठमाडौँ बस्दै आएका एक/एक जना छन् ।
बेलहिया नाकामा रहेको केआई नेपालको निगरानी केन्द्रमा कार्यरत महिला कर्मचारीले उक्त जिपमा नेपाली युवती देखेपछि रोकेर सोधपुछ गरेपछि यथार्थ कुरा खुल्न आएको प्रमुख सापकोटाले जानकारी दिए ।
भारत लैजाँदै गरेका मनोज भने युवतीलाई सोधपुछ गर्न थालेपछि फरार भएको उनले बताए । रासस
प्रतिक्रिया 4