Comments Add Comment

‘मदन पुरस्कार राजन मुकारुङले पाएको होइन’

मदन पुरस्कार विजेता साहित्यकार राजन मुकारुङ यतिबेला फेसबुकमा निकै चर्चामा छन् । कालीप्रसाद रिजालले लेखेको ‘बिहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस्’ भन्ने गीतको आलोचनामा स्टाटस लेखेपछि कतिपयले मुकारुङलाई मदन पुरस्कार फिर्ता गर्न समेत भनेका छन् ।

Rajan Mukarung1

साहित्यकार मुकारुङले मदन पुरस्कार आफूले नभई दमिनी भीर कृतिले पाएको भन्दै राजन मुकारुङलाई पुरस्कार दिइएको भए फिर्ता गर्ने बताएका छन् ।

आखिर कवि मुकारुङले किन गरे कालीप्रसादको गीतको आलोचना ? किन उनीमाथि फेसबुकमा चर्को प्रहार भइरहेको होला ? यसबारे मदनपुरस्कार विजेता साहित्यकार मुकारुङसँग अनलाइनखबरको स्टुडियोमा गरिएको कुराकानी

फेसबुकमा तपाईमाथि दह्रै आरोपहरु लागेका छन् । धेरै गाली पनि आए, यसबाट आत्तिनु भा’छैन ?

आवेश स्वभाविकरुपमा मानवीय प्रवृत्ति हो । तर, के हुन्छ भने जुन ढंगले आफ्ना विमति वा प्रतिक्रियाहरु आउनुपर्थ्यो भन्ने अपेक्षा गरिएको हुन्छ, त्यो ढंगले नआएर बढी नै उग्र र अश्लील ढंगले आएपछि स्वभाविकरुपमा उत्तेजित गराउँछ ।

फेसबुकमा कालीप्रसाद रिजाललाई किन गाली गर्नुभएको ?

मैले पहिलो स्टाटस लेख्दा कालीप्रसाद रिजाललाई गाली गरेर भनेको होइन । उनको गीत नराम्रो भनिएको होइन । खाली एउटा सानो उदाहरणका रुपमा, बिहान उठ्नेवित्तिकै हिमाल देख्न पाइयोस् भनेको सुन्दर कामना हो । नेपाल हिमालको देश हो । त्यसमा विमति छैन । तर, प्रश्न कहाँ गरिएको हो भने बिहान हिमाल देख्न नपाउनेले बिहान उठ्नै नपाउने ? अथवा त्यसलाई नेपाली नै नमान्ने ? यो आशय थियो । त्यो आशयतिर केन्द्रित भएन र खाली बाहुन भएका कारण गाली गर्‍यो भन्ने ढंगबाट बुझियो । यसलाई अगाडि सारेर अर्को वितण्डा गर्न खोज्यो भन्नेतिर गयो ।

मैले भन्न खोजेको के मात्र हो भने हिजोको हाम्रो सौदर्य मान्यताहरु, चिन्तनहरु छन्, त्यसलाई पुनःब्याख्या गर्नुपर्छ । एउटै ब्याख्याले मात्र जोडिराख्न सक्दैन । यदि त्यसो भएन भने साँच्चिकै कसैले चाहेर पनि, नचाहेर पनि अन्तरद्वन्द्वहरु छरपस्ट हुन्छन् । तर, त्यसलाई व्यवस्थित गर्न हिजोका मान्यताहरु जे छन्, त्यसमा एकपटक प्रश्न गरौं । अनि त्यसले सम्रग हामीलाई बोक्छ बोक्दैन अथवा हाम्रो कुरा भन्छ भन्दैन हेरौं ।

हामी त अझै नि सीमान्तमा परेका, उत्पीडनमा पारिएका, जसका आवाज मूलधारमा आएका छैन । जसको मुद्दाहरुलाई मूलधारमा ल्याउन सकिएको छैन, तिनका कुराहरु ल्याउँ ।

नेपाली समाज विविधता भएको समाज हो । भाषा, संस्कृति, त्यति नै छन् । सबै जातिसँग आ-आफ्ना दर्शन र मान्यताहरु छन् । तिनै मान्यताहरुलाई हामीले नेपाली साहित्यको केन्द्रमा ल्याउन सकियो भने त्यसले नेपाली साहित्यलाई के घाटा गर्छ ?

गीतकार रिजालमाथिको यो टिप्पणी त तपाईको नभएर आहुतीको हो क्यारे ?

खासमा अस्ति काँकडभिट्टामा कार्यक्रम भएको थियो कला सहित्य उत्सव । त्यहाँ आहुती दाइले बोल्नुभएको कुरा हो । के सन्दर्भ थियो भने बिहान उठ्नेबित्तिकै हिमाल देख्न पाइयोस् भन्ने कामना छ, यसले पहाड र मधेसलाई कहाँ सम्बोधन गर्छ ? के उसोभए उनीहरु नेपाली होइनन् त ? भन्ने ढंगबाट नयाँ बहस थाल्न जरुरी छ भनिएको हो । हिजोका यस्ता मान्यताहरु समीक्षा गरौं भन्ने सन्दर्भबाट उठेको हो ।

मैले आहुती दाइले भनेको कुरामा मेरो पनि समर्थन छ र प्रश्न पनि छ, के हो त ? भनेको हो । रडाको गरौं भन्ने थिएन । स्वस्थ बहस होस् भन्ने थियो । तर, अर्कोतिर मोडियो

फेसबुकका मित्रहरुसँग तपाईको खास चित्त दुःखाइ केमा ? आफू गैरबाहुन भएकाले बाहुनमाथि आक्रमण गर्‍यो भन्ने पर्न गएकोमा हो ?

स्वभाविकरुपमा त्यो पर्न गएको छ धेरैलाई । जो जो भिड्नु भएको छ मलाई गाली गर्ने सन्दर्भमा, कमेन्ट गर्नेहरु, शेयर गर्नेहरुको पछाडिको जात पनि हेर्नुस् । स्वभाविक रुपमा देखिन्छ ।

मधेसका साँच्चिकै मधेसीहरुले राजन मुकारुङको त्यो भनाइ मन पराएका छन्, समर्थन गरेका छन् । तर, मधेसमै बस्ने तर क्षेत्री ब्राम्हणसाथीहरुले गाली गर्नुभएको छ । उहाँहरुको दिमागमा सबैभन्दा पहिला परेको के हो भने यो राजन मुकारुङले बाहुनलाई गाली गर्‍यो भन्ने बुझाइ हो ।

मैले पहाडिया राज्य सत्ताले थुपारेको मनोविज्ञान छ, त्यसबाट अलि पर बहस गरौं भनेको हो ।

कालीप्रसादको गीतले पहाडलाई मात्र सम्बोधन गर्‍यो, यो राष्ट्रिय गीतले मधेसलाई पनि सम्बोधन गर्नुपर्छ भन्न खोजिएको हो ?

होइन, होइन । राष्ट्रिय गीत यस्तो हुनुपर्छ भन्ने हुँदै होइन । त्यो गीतको कला पक्षमा म गएको छैन । खाली के गर्न मात्र खोजिएको हो भने हाम्रो मनोविज्ञान पहाडिया छ, पहाडमा उभिएर अनि हिमाल देख्ने चिन्तत छ । पहाडकै बेंसीमा बस्नेले बिहान हिमाल देख्छ र ? देख्दैन ।

साहित्यकारहरुले देशलाई जोड्ने काम गर्नु पर्ने । तर, तपाईका फेसबुक स्टाटस हेर्दा तपाई त समाजलाई फुटाउनेतिर लाग्नुभयो रे नि ?

के छ भने दुईटा मानसिकता अत्यन्त जड भएर रहेको छ हाम्रो समाजमा । एउटा, हामी हिजोको परम्परागत चिन्तनबाट बाहिर निस्कनै सकेका छैनौं । अर्को, परिर्वतनका नाममा, रुपान्तरणका नाममा अत्यन्त उग्र ढंगले अगाडि बढेका छौं ।

यतिबेला संक्रमणको अन्तरद्वन्द्व चलिरहेको हुनाले विचारहरुमा घर्षण हुँदा स्वभाविकरुपमा त्यस्तो छ । तर, हामीले र मैले भन्न खोजेको के हो भने समाजमा यस्ता जडताहरु छन्, जो सानो कुराबाट जकडिएर रहेको छ ।

फेसबुकमा गम्भीर बहस नहुँदोरहेछ हैन ?

केही साथीहरु मेरोविरुद्धमा क्याम्पेनिङ नै गरेर लाग्नुभएको छ । कान्तिपुर आइकन नेपाली राष्ट्रिय क्रिकेट टीमले पाएको थाहा पाउनासाथ मैले खुसी व्यक्त गरेँ । किनभने मलाई पहिलादेखि नै लागेको थियो कि राष्ट्रिय क्रिकेट टीमले पाए मैले पाएकोजस्तै हुनेछ । क्रिकेट टीमले संसारलाई, नेपाललाई चिनाएको छ । सगरमाथा, बुद्धको देश मात्र होइन, क्रिकेटको  देश पनि भनेर चिनाएको छ । तर, मेरो सकारात्मक कुरामा त्यहाँ कमेन्ट लेख्ने एकजना पनि छैन ।

त्यसैले हामी कहाँबाट झगडा थाल्न सक्छौं र कहाँबाट यो मान्छेलाई खुइल्याउन सक्छौं भन्ने चिन्तनमा छौं । यो मनोविज्ञानको खतरा छ ।

मदन पुरस्कार व्यक्तिलाई दिइएको हो भने फिर्ता गर्छुसम्म भन्नुभयो नि, किन ?

मैले बुझेको मदन पुरस्कार व्यक्तिलाई होइन, कृतिलाई दिइने हो । तर, समाजिक सञ्जालहरुमा यसरी बहस चलाइयो कि तिम्रो मदन पुरस्कार फिर्ता गर, यता गर, उता गर । तिमीलाई पहाडिया जातिहरुले दिएको हो, फिर्ता गर भन्ने ढंगको आयो । त्यसैले मैले सबैलाई प्रष्ट होस् भन्नकै लागि मैले बुझेको मदन पुरस्कार दमिनी भीरले पाएको हो, राजन मुकारुङले होइन । यदि मदन पुरस्कार गुठीले व्यक्तिलाई दिएको रहेछ भने फिर्ता गरिदिन्छु भनेर घोषणा गरेको हुँ ।

के नेपालमा सामाजिक सञ्जालको दुरुपयोग भइरहेको छ ?

दुरुपयोगै नभनौं । सदुपयोग पनि होला । जे आवेशमा आएर जसले जे जे प्रतिक्रिया जनाउनुभएको छ, उहाँहरुले रिथिंक गर्नुपर्ने हुन्छ, मैले सही गरेँ कि बेठीक गरेँ । मैले देखिरहेको छु कि राजन मुकारुङको दमिनी भीर जलाउनुपर्छ भनेर लागेका छन् । मैले पनि हेरिरहेको छु । के के भनिरहनुभएको छ ।

यो पुस्ता उमेर र व्यवहारिकताको हिसाबले हामीभन्दा जुनियर छ । त्यो पुस्ता अहिले एग्रेसिभ पुस्ता पनि हो । उसले भोलिका कुरा, मनोविज्ञानका कुरा बुझ्दैन पनि होला र बिस्तारै बुझ्दै जाला । त्यतिबेला ऊ आफैंले रिथिंक गर्लान् ।

जसले तपाईलाई साम्प्रदायिकताको आरोप लगाउँछन्, उनीहरु नै गलत छन् भन्न खोज्नुभएको हो ?

यो स्वभाविक हो । नेपाली राजनीतिमै त्यो देखिन्छ । साहित्यमा त अहिले हामी तारो बन्छौं । तर, नेपाली राजनीतिमा पहिचानको मुद्दालाई जातिवाद लगेर जोडिदिएको छ । मुद्दालाई भ्रष्टीकरण गरेका छन् । संघीयतालाई देश टुक्राउने भनेर भ्रष्टीकरण गरेको छ र दिमागमा भरिदिएको छ ।

Rajan-Mukarungसमस्या कहाँ छ भने धेरै साथीहरु त बाहिर हुनुहुन्छ । म पनि बाहिर गएको छु र देखेको छु कि दुःख गर्नुभएको छ । पैसा पठाउनुभएको छ । नेपाली अर्थतन्त्रलाई टेवा दिनुभएको छ तर, उहाँहरुको मनोविज्ञानमा एउटा ठूलो तुष छ । त्यो के भने यहाँ मेनपावर कम्पनी धाउँदा धाउँदा दुःख पाएको र ऋण परेको छ । देश छोड्नुको पीडा छँदैछ । उहाँ पनि उति नै दुःख गर्नु परेको छ । यी तीनवटा पीडा हिजोको हाम्रो राष्ट्रियताको मनोविज्ञानसँग जोडिएको छ । अनि त्यो विशेष गरेर सामाजिक सञ्जालमा आउँछ ।

मलाई के लाग्छ र म बाहिर जाँदा पनि भन्ने गरेको छु कि तपाईहरुले पठाएको रेमिट्सान्सले देशको अर्थतन्त्रमा ठूलो योगदान छ । तर, व्यवस्थित गर्न सकेका छैनौं । त्यसले समाज फेरि अर्कोतिर गइरहेको छ । हामीले गम्भीर भएर लाग्यौं र नयाँ परिभाषा खोज्यौं भने, अनि हिजोका मान्यताहरुलाई एकचोटि मात्र पुनः यो ठीकै हो त भनेर सोच्यो भने ठीकै हुन्छ ।

जस्तो, हिजोको भानुभक्तको बधुशिक्षालाई आलोचना गर्न थालेको कति नै भयो र ? ०५५ सालमा जब नारीवादी आन्दोलन भनेर २/४ जना साहित्यकारले प्रश्न गर्नुभयो, बधुशिक्षा त छोरी मान्छेलाई कज्याउने शिक्षा रहेछ भन्ने भो । त्यसअघि त महान शिक्षा भनिन्थ्यो । त्यसैले एकपटक प्रश्न त उठ्नुपर्दोहरेछ ।

यसको मतलव अब गीत, साहित्यमा पनि समीक्षा हुनुपर्‍यो ?

स्वभाविक हो । हुनुपर्छ । हिजो हामीले जसरी कतिपय शब्दहरु प्रयोग गर्दा यीनीहरुले गाली मात्र गर्‍यो भन्ने हुन्थ्यो । तर, विस्तारै सामान्य भयो । सुरुमा हामीलाई यस्तो गाली पनि लेख्ने ? भन्ने हुन्थ्यो । के हुँदोरहेछ भने सामाजिक मान्यताभित्र के के अट्छन् ? कुन सहज हुन्छ कुन हुँदैन ? पुन मूल्यांकन गर्न थालेपछि त्यसले साम्प्रदायिक सदभाव भड्काउने भन्दा जोड्ने काम गर्छ ।

फेसबुकमा गाली गर्नेहरुलाई तपाई के भन्नुहुन्छ ?

जसले मलाई सामाजिक सद्भाव भड्काउनेतिर लागे भन्नुभएको छ, उहाँहरुले एकपटक समीक्षा गरौं । विभेद कसलाई भएको छ, शोषण कसलाई भयो भन्ने त शोषितलाई थाहा हुन्छ । विभेद गर्नेलाई कहाँ थाहा हुन्छ ? अचानोको पीर अचानोलाई थाहा हुन्छ, खकुरीलाई हुँदैन भनेर उखानचाहिँ कण्ठ गर्ने, अनि त्यसलाई अरु कुरामा लागू नगर्ने बडो गजब छ । मलाई तँ विभेदमा परेको छैनन्, अन्यायमा परेको छैनस् भनेर क्षेत्री बाहुन साथीहरुले भन्यो भने त्यो न्यायसंगत होइन ।

चिनुवा अचेबेकै म उहादरण दिन्छु, उनलाई गोराहरुले कहाँ अन्याय गरेका छौं, यत्रो सम्मान दिएको छ, चर्चा गरिदिएकै छ भने । तर, अचेबेले सुरु गर्दा नै के भन्छन् भने तिमीले मलाई विदेभ गरेका छैन भनेर भन्ने होइन, तिम्रो काम विभेद कम गर्दै लैजाने हो । शुन्यमा झार्ने हो । विभेद छ र छैन मैले भन्ने हो, किनभने म विभेदमा परेको मान्छे हुँ ।

हामीले त्यही बुझ्ने हो । वर्गीय हिसावले उत्पीडनमा परेका सबै छौं हामी । त्यो एउटा पाटो हो । तर, जातिकै नाममा, वर्णकै नाममा, नश्लकै नाममा विभेद भएको छ । धर्म, भाषा, संस्कृतिको नाममा विभेद भएको छ । एउटा दशैंका लागि राज्यले त्यत्रो खर्च गर्न सक्छ । किरातीको साकेलाका लागि गर्न सक्छ ? एउटा शुभकामना पनि यो देशको राष्ट्रपति र  प्रधानमन्त्रीले दिएको छैन । किन त ? विभेद छ । यो हामी उत्पीडनमा पर्नेहरुलाई थाहा छ ।

यो विवादमा सहभागी हुने मित्रहरुलाई समग्रमा के सन्देश दिनुहुन्छ ?

स्वस्थ बहस गरौं, त्यसका लागि म जहिले पनि तयार हो । आमने-सामने गरौं । तर, अस्वस्थ ढंगले, अत्यन्त घृणित शब्दहरु जो हेर्न सकिँदैन, त्यसलाई हटाइछस् भनेर आयो । मैले आधासम्म स्पष्टीकरण दिएको थिएँ । तर, यति अश्लील गाली आयो कि मेरा पनि त छोरी चेली होलान्, शुभचिन्तक होलान् । उनीहरुलाई हेरिसक्नु हुँदैन भनेर हाइड गरेँ । अवस्थ ढंगले विचार बहस नगरौं ।

सहज र सिर्जजनात्मक ढंगले बहस गरौं । साइबर कानुन छ । मैले लेखेको स्टाटसले मेरो अधिकार हो । त्यसलाई कसैले कपी गर्न मिल्छ कि मिल्दैन ? त्यसलाई लगेर बेचीखान, होहल्ला गर्न मिल्छ कि मिल्दैन ? यसतर्फ पनि ध्यान दिन जरुरी छ । हामी सभ्य समाज निर्माण गर्ने प्रक्रियामा छौं भने त्यसलाई कुन ढंगले बहस गराउनुपर्छ भन्ने तिर सोच्ने भन्दा हामी कसैको स्टाटसलाई ल्याएर आफूलाई बढि एक्सपोज गर्न खोज्दैछौं । यो गलत छ ।

फेसबुकमा तपाईले राजनीतिको कुरा लेख्नुभएको छ, राजनीति गर्न लाग्नुभएको हो र  ?

नेपाली समाजलाई परिर्वतनको यो घडीमा ल्याउनका लागि साहित्यलाई मनोनरञ्जनको साधन मात्र ठान्नेहरुले लेखेको लेखभन्दा सिधै राजनीतिसँग सापेक्ष साहित्यले प्रभाव पारेको छ । पछिल्लो समय त्यही विषयहरु, जुन समाजमा भएका विभेदका कुरा गर्नुस्, उत्पीडनका कुरा गर्नुस्, तिनै कुरा नेपाली साहित्य बहसका विषय बनेका छन् ।

त्यसैले फेसबुकमा जे जस्ता प्रतिक्रिया आएका छन्, त्यसले राजनीति गर्नुपर्छभन्दा सीमान्तकृतले कुन राजनीतिको पक्षमा बोल्यो, कुन राजनीतिले उत्पीडितहरुको पक्ष लिएको छ र संघर्ष गरिरहेको छ, त्यसलाई समर्थन गर्ने त भइहाल्छ ।

तपाईलाई पारिजातसँग तुलना गर्दा हुन्छ ? मदन पुरस्कार पनि पाउनु भो, कम्युनिष्ट आन्दोलनमा पनि लाग्नु भो । राजन मुकारुङलाई पनि अब यस्तै भन्दा हुन्छ ?

म कम्युनिष्ट आन्दोलनसँग त पहिलेदेखि नै नजिक हुँ । आफूलाई जतिसम्म जान्दछु, मार्क्सवाद पढेको छु, पूरा जान्दछु भन्ने होइन । तर, मार्क्र्सवादको विद्यार्थी हुँ । त्यसलाई बुझ्ने प्रयत्न गर्दैछु । त्यसैले मैले जानेको मार्क्र्सवाद के हो भने समाजमा उत्पीडितहरुको पक्षमा बोल । समाजमा द्वन्द्व छ, विभेद छ, तिमी उत्पीडितहरुको पक्षमा बोल, समानताको पक्षमा बोल र न्यायको पक्षमा बोल  । त्यसकारण मैले हिजोदेखि नै उत्पीडित, सीमान्तकृतको पक्षमा बोल्नुपर्छ भनेर नै १५ वर्ष त मैले साहियित्क अभियान नै चलाएँ ।

पारिजातसँग जोड्दा त अहोभाग्यको कुरा हो । तर, के भन्छु भने त्यो कम्युनिष्ट स्कुलिङभित्रबाटै परिर्वतनको पक्षमा लाग्दा कति जड भएर लाग्ने, कति फ्लेग्जिवल भएर लाग्ने भन्ने मात्र हो भन्ने लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment