Comments Add Comment

कर्मचारीको अनुभव : विमान पन्छाउँदा यस्तो पाठ सिकियो

टेकनाथ सिटौला

२४ फागुन, काठमाडौं । बुधबार बिहान टर्किस एयरको २२४ जना यात्रु बोकेर इस्तानबुलबाट काठमाडौंमा आएको थियो । विमानको निर्धारित अवतरण समय बिहान ६ बजेर ३५ मिनेटमा थियो ।

टेकनाथ सिटौला
टेकनाथ सिटौला

जहाज निर्धारित समयमा विमानस्थल नजिक आइपुगेको थियो । त्यतिबेला भिजिबिलिटी नपुगेर पाइलटले जहाज ल्यान्ड गर्न सक्नुभएन र आकाशमा होल्ड गर्नुभयो । करिव आधाघण्टा होल्ड गरेपछि दोस्रोपटक ल्यान्ड गर्न खोज्दा भिजिबिलिटी अलिकति बढेको थियो । पाइलटलाई विमान ल्यान्डिङ गर्न चाहिने भिजिविलिटी रहेको टावरबाट रिपोर्ट गरिएको थियो ।

त्यसपछि पाइलटले एयर ल्यान्डिङ गर्न ल्याउनुभयो । सायद त्यतिबेला धावन मार्गको छेउमा आइपुग्दासम्म धावनमार्ग देख्न नसक्दा जहाज सेन्ट्रल लाइनमा अवतरण गर्न सकेन ।

जहाजको पछाडिएको एउटा चक्का पश्चिमपट्टी किनाराभन्दा ५/७ मिटर घाँसे भएको ठाउँमा पर्‍यो । सुरुमै रङ ल्यान्डिङ भयो । उहाँहरुले अरु रिपोर्ट केही गर्नुभएको छैन । जहाजको अन्तिम समयसम्म एटीसीसँग कुराकानी भएको देखिन्छ ।

पाइलटलाई तपाईले रन वे देख्नुभयो कि नाई भनेर एटिसीले सोधिरहेको देखिन्छ । पाइलटले रनवे देखिरहेको छैन भनेको पाइएको छ । यसको फाइनल भ्वाइस रेकर्डरबाट थाहा होला । हाम्रो अनुमान जहाज ल्यान्डिङ गर्दा पूरै रन वे नदेखेको हो कि भन्ने छ ।

यो ७ बजेर ४० मिनेटतिरको कुरा हो । पांग्रा बाहिर गएपछि करिव १ किलोमिटर अगाडि जहाज पुगेर दुर्घटनामा पर्‍यो । जहाज घाँसे एरियामा गयो । अगाडिको पाँग्रा भाँचियो । देब्रेतिरको पछाडिको पांग्रा पनि जमीनमा धस्सियो ।

दुर्घटना भएपछि पाइलटले सहयोग मागेको सुनिन आएको छ । अनि तुरुन्त फायर स्टेसनबाट दमकल आएर जहाजमा फोमिङ (फिँज फाल्ने काम) भएको छ । फायरका क्रुहरुले जहाजको ढोका भर्‍याङ हालेर खोलिदिए । अनि यात्रुहरु बाहिर निस्किए ।

यात्रु बाहिर आएपछि नेपाल एयरलाइन्सको र्‍याम बस गएर यात्रुहरुलाई बोकेर बाहिर ल्याउने काम गर्‍यो । यात्रुहरुको ब्यागेज, कार्गो तथा लगेज जहाजमै रहृयो । यात्रुलाई केही भएन, यसलाई ठूलो रुपमा लिनुपर्छ ।

त्यसपछि के के भयो ?

जहाज दुर्घटनामा परेर रन वे छेकेपछि विमानस्थल बन्द हुन पुग्यो । सवा ८ बजेदेखि अन्तर्राष्ट्रिय तथा आन्तरिक सबै उडानहरु बन्द गरियो । नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स, पर्यटन मन्त्रालय, आर्मी, प्रहरी लगायत क्राइसिस म्यानेजमेन्टमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने सबै आइपुग्नुभयो ।

अनि कसरी जहाज पन्छाएर उडान अवतरण सुचारु गर्ने भनेर छलफल भयो । हामीलाई त्यो बेलासम्म यो थाहा थिएन कि, जहाजलाई त्यहाँबाट निकालेर सुरक्षित ठाउँसम्म लैजान ग्राउन्ड हृयान्डलिङको जिम्मेवारी लिएको नेपाल एयरलाइन्ससँग ‘डिसेवल एयरक्राफ्ट रिमुभल किट’ छैन ।

हामीलाई नेपाल एयरलाइन्ससँग रिमुभल किट छ भन्ने विश्वासमा थियौं । उहाँहरुसँग मिटिङ बसेपछि मात्र करिव दुई सय टनको जहाज हटाउन सक्ने रिमुभल किट छैन्ने भन्ने थाहा पायौं ।

अनि हामीले यो जहाज तान्न सक्ने क्षमताको किट कहाँ छ भनेर खोज्न थाल्यौं । खोजविन तथा बुझ्दा एयर इन्डियाको मुम्बई एयरपोर्टमा रिमुभल किट छ भन्ने थाहा भयो । साउथ एशियामा उहाँहरुसँग मात्र दुई सय टनको जहाज तान्ने रिमुभल किट भारतमा मात्र रहेछ ।

रिमभुल किट पाएर मात्र भएन, कसरी ल्याउने भन्ने चिन्ता पर्‍यो । हाम्रो एयरपोर्टमा ५ हजार फिटमात्र धावनमार्ग उडानका लागि खुल्ला थियो । करिव एक बजेतिर बन्द गरेको आन्तरिक उडानलाई ५ हजार फिटको धावन मार्ग उपलब्ध गराएर उडान खुल्ला गरिदियौं ।

हामीले त्यही पाँच हजार फिटको रनवेमा भारतबाट रिमुभल किट र प्राविधिकहरु बोकेर ल्याउन इन्डियन एयरफोर्सको हर्कुलस जहाजको प्रबन्ध गर्नेतर्फ लाग्यौं । प्राधिकरणले तालुक मन्त्रालय पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जहाज ल्याउन पर्यटन मन्त्री, परराष्ट्र मन्त्रालय तथा आर्मीको माथिल्लो तहबाट कुटनीतिक पहल गर्न सुरु गरियो ।

Teknath-2
त्रिभुवन विमानस्थलका प्रबन्धकद्वय पूर्णप्रसाद चुडाल र टेकनाथ सिटाैला ।

रातभरिको पहलपछि रिमुभल किट र प्राविधिक बोकेर हर्कुलस जहाज काठमाडौं आउने निश्चित भयो । वायुयान ल्याउन आर्मीबाट र एयर इन्डियाको रिमुभल किट ल्याउन प्राधिकरणबाट पहल भएको थियो ।

बिहीबार बिहान ८ बजेसम्म रिमुभल किट ल्याएर धावनमार्ग खाली गरी बेलुका पाँच बजेसम्म उडान सुचारु गर्ने हाम्रो योजना थियो । भारतबाट रिमुभल किटसँगै आउने प्राविधिकहरु जुट्न समय लागेपछि दिउँसो १ बजेर ७ मिनेट जाँदा हर्कुलस जहाज दिल्ली हुँदा काठमाडौं विमानस्थलमा अवतरण गर्‍यो ।

उहाँहरुले करिव ३ बजेदेखि काम सुरु गर्नुभएको थियो । जहाज नपन्छाउँदासम्म नियमित खटिनुभयो ।

भारतीय तथा नेपाली प्राविधिक सहित हामी रातभर नसुती काममा खटिरहृयौं । काम सुरु गरेपछि उहाँहरुको पहिलो योजना धस्सिएर रहेको जहाजलाई उचालेर चक्का फेर्ने तथा कन्डिसन हेर्ने भयो ।

पछाडिको चक्का बाहिरै देखिएको थियो । तर, अगाडिको चक्का भने जमिनमा भासिएको थियो, कस्तो अवस्था छ थाहा थिएन । उहाँहरुले पहिला पछाडिको भाग ब्लाडरमा हावा हालेर उचाल्नुभयो र बायाँपट्टीको  चक्का फेर्नुभयो ।

अगाडिको भाग उचालेर हेर्दा नोज ल्यान्डिङ गियर क्षतविक्षत भएको देखियो । उहाँहरुसँग चक्का फेर्नका लागि सम्पूर्ण सिष्टम फेर्न सामाग्री थिएन । त्यसो हुँदा अगाडिको चक्का फेर्न असम्भव भयो ।

अनि साढे ५७ टनभन्दा बढी तौल धान्न सक्ने ट्रकको खोजी भयो । बुझ्दै जाँदा सडक विभागसँग रहेछ । सडक विभागबाट ३० टनको ट्रक ल्याइयो । अनि जहाजलाई चार ठाउँमा ब्लाडर राखेर १५/१६ फिट उठाइयो ।

पछाडि एउटा चक्कामात्र फेरिएको थियो । ब्लाडरले उठाउँदा अन्य चक्काहरु फेर्न उचाइ पुगेन । खाल्डो पारेको ठाउँ पुर्न, रोलरले सम्याउन र कम्प्याक्ट गर्न पनि त्यो उचाइले पुगेको थिएन ।

जहाजले खाल्डो पारेका ठाउँ पनि पुर्नु थियो । यी सबै कामका लागि फेरि चार फिट जहाज उठाउनुपर्ने भयो । अनि उहाँहरुले ब्लाडरको हावा निकाल्नुभयो, तल्लो भागमा ४ फुटको प्लाइ उड राखेर त्यसमाथि ब्लाडर फुलाई २० फिटजति जहाज उठाउनुभयो । ब्लाडरले उठाउँदा उचाइ कम भएको ठाउँमा चक्का फेर्नका लागि जमिन खनियो र चक्का फेर्ने काम भयो ।

ब्लाडर फुलाएर अगाडिको भाग ट्रकमा राखिसकिएको थियो । कम उचाइ भएकाले सबै चक्का फेर्न र जहाज मुनिको भागमा ग्राभेल राखेर रोल गरी कम्प्याक्ट गर्न नसकिएपछि पुनः उचाइ बढाइएको हो ।

उचाइ बढाएपछि बाटो सम्याउन सहज भयो । हामीले पहिला नै जहाजमा रहेको ३४ टन इन्धनमध्ये १७ टन बाहिर निकालिसकेका थियौं । जहाजमा रहेका लगेज तथा कार्गो अहिलेसम्म पनि निकालिएको छैन ।

हामीले यसवीचमा जहाजलाई धावनमार्गमा ल्याउन आवश्यक करिव १०० मिटर बाटोमा पनि ग्राभेल राखेर रोल गरिएको थियो । भारी जहाज गुडाउँदा फेरि भासिन सक्छ भनेर प्राविधिकहरु निकै सतर्क थिए । राम्रोसँग बाटो रोल गरेपछि त्यसमा फलामका पाता राख्दै जहाजलाई धावनमार्गमा ल्याइएको हो ।

शनिबार बिहान साढे ९ बजेतिर प्राविधिकहरुले जहाजलाई अगाडिबाट ट्रकमार्फत धकेल्ने र पछाडिबाट टोइङ मेसिनले तान्ने काम गरेर जहाजलाई धावनमार्गमा ल्याउन सफल भए । दुर्भाग्य धावनमार्गमा ल्याउँदा ट्रकमा राखिएको भाग तानिएको थियो, जहाज धावनमार्गमा सोझाइसकिएको थिएन ।

जहाजलाई बाटोमा नफसोस् भनेर चक्का पर्ने ठाउँमा फलामका पाता राख्दै तानिएको थियो, जसले गर्दा जहाज सहजै धावनमार्गमा आयो ।

फेरि जहाजलाई बेलुनिङ गरेर उठाई ट्रकमा मिलाउनुपर्ने भयो । दिनभरिको प्रयासपछि दिउँसो साढे १ बजेतिर जहाज उठाइयो र सन्तुलन मिलाउने काम गरियो । अनि तान्न सुरु भयो, त्यतिबेला फेरि जहाज र ट्रक बाँधको डोरी चुँडियो र फेरि ढीलो हुन पुग्यो ।

यसबीचमा टर्कीबाट टर्किस एयरका प्राविधिक टोली आइपुगे । ६ जनाको प्राविधिक टोली दिल्ली हुँदै त्यहाँबाट सेसना जहाज चार्टड गरेर सवा ३ बजेतिर विमानस्थलमा आइपुगेका थिए ।

उनीहरुले जहाजलाई हेरे, अनि क्षतिग्रस्त बाँकी चक्काहरु फेरेर ट्रकमा जहाजलाई डोरीले राम्रोसँग बाँधे । उनीहरुको इञ्जिनियरिङ टोलीले सहयोग गरेपछि हामीलाई काम गर्न निकै सहज भयो । उनीहरुको टोली हामीसँग काम गरिरहेको टोलीभन्दा निकै दक्ष थियो ।

उनीहरुको जहाज, उनीहरुको आइडिया बढि पनि भयो । हाम्रो ट्रक ड्राइभर चलाउन डराइरहेका थिए । पछि उनीहरुकै ड्राइभरले हाम्रो ड्राइभरलाई छेउमा राखेर चलाए । उनीहरुले आफ्नो सम्पत्तिको जिम्मा लिएर काम सुरु गरेपछि हामीलाई पनि ढुक्क भयो ।

आफ्नो जहाज भएको हुँदा हाम्रो भन्दा उनीहरुको कन्फिडेन्ट लेभल उच्च भयो । तान्ने क्रममा वीचमा केही समस्या आयो र टर्किस टोलीले नै आधा घण्टा मिलाउने काम गर्‍यो । त्यसपछि त सररै लगेर करिब ६ बजेर ३५ मिनेटमा आन्तरिक टर्मिनल भवनमा लगियो र अन्तर्राष्ट्रिय उडान सुरु गरियो ।

जहाज तान्ने क्रममा आन्तरिक उडानसमेत बन्न गरिएको थियो । जहाज पन्छाएपछि आन्तरिक उडान सुचारु गरिहालियो ।

टिम कोअर्डिनेसन अत्यन्त राम्रो

भारतीय तथा नेपाली प्राविधिक टोलीबीच निकै राम्रो सहकार्य रहृयो । यस्तो संकटका बेलामा जति सकिन्छ, सक्दो सहयोग गर्नुपर्छ भन्ने भावना रहेको पाइयो । सबैको पोजेटिभ भावनाले काम गर्न सहयोग मिल्यो ।

भारतीय प्राविधिकसहित नेपाली सेना, एयरपोर्ट कन्स्ट्रक्सन गरिहेको कम्पनीका लेबर तथा प्राविधिक, नेपाल प्रहरीका जवान, प्राधिकरणका प्राविधिक तथा उच्च अधिकारी, नेपाल एयरलाइन्स, सडक विभाग लगायतबाट निकै ठूलो सहयोग भयो । सबैजना २४ सै घण्टा खटिएका थियौं ।

मन्त्री, सचिव तथा उच्चअधिकारी दिनदिनै आएर हौसला दिने गर्नुभयो । यसले काम गर्न हामीलाई हौसला मिल्थ्यो ।

यात्रुको प्रेसर

हामीलाई सबैभन्दा ठूलो प्रेसर यात्रुबाट भयो । निश्चित काममा हिँडेको मानिस अडि्कँदा उहाँहरुको काम चौपट भएको थियो । विदेशमा काम गर्ने कतिपयको  नेपाली कामदारको भिसा सकिएर बिचल्ली समेत भएको पाइयो ।

हामीले हेल्प डेस्क राखेर यात्रुलाई सम्झाउने काम गर्‍यौं । एयरलाइन्स कम्पनीहरुले पनि यात्रुहरुलाई सम्झाउने तथा व्यवस्थापन गर्ने काम गरे । हामीले यात्रुलाई आफ्नै नम्बर दिएका थियौं ।

हामीलाई आउने अधिकांश फोन गुनासो भरिएका हुन्थे । म यो समयमा यहाँ पुग्नुपर्ने थियो, उहाँ जानु थियो, गाह्रो भयो भनेर गुनासो आइरहृयो । मलाई लण्डन, साउदी, दिल्ली लगायतका देशबाट समेत फोन आउँथ्यो । हामीसँग पैसा छैन, खान बस्न समस्या भयो भनेर गुनासो आउँथ्यो ।

फ्लाइट मिस भयो, काम के भइरहेको छ, कहिलेसम्म खुल्छ, चाँडो खुल्न किन नसकेको हो भन्ने जस्ता जिज्ञासा मेटाउँदैमा हामीलाई फुर्सद भएन । हामीले नरिसाइकन, नझर्किकन उहाँहरुको फोन उठाउने, सम्झाउने काम गर्‍यौं ।

दैनिक मैले ४ सय कलको हाराहारीमा फोन उठाउँथे होला । फोन उठाएर यात्रुको गुनासो सुन्दासुन्दा मेरो प्रेसर समेत बढेको छ । त्यसमाथि मोबाइलमा चार्ज सकिएर समस्या भयो । हामीले खाने, कोअर्डिनेसन गर्ने, काम गर्ने, फोन उठाउने हिँड्दा हिँड्दै गर्‍यौं ।

धेरै पाठ सिकियो

यस्तो ठूलो घटना नेपालमा पहिलोपटक भएको हो । यस घटनाले हामीलाई निकै ठूलो पाठ सिकायो । प्रेसरै प्रेसरमा काम गरियो । यही कारण हाम्रो अन्तर्राष्ट्रसँग हवाइ सम्पर्क विच्छेद भएको थियो ।

हाम्रो उद्देश्य जतिसक्दो चाँडो रनवे खाली गरेर उडान सुचारु गर्ने थियो । हामीले यसबाट केही लेसन पनि सिक्यौं । यसले अनुभव पनि दिलायो । अर्को पटक यस्तो समस्या आएमा कसरी समाधान गर्ने भन्ने सिकियो ।

काम गर्ने क्रममा ठूला साना गरी २० वटा इक्वीपमेन्ट प्रयोग गरिएको थियो । टोइङ बार, ब्लाडर, दमकल, एम्बुलेन्स, रोलर, एक्साभेटर, ट्रेलर, लोडर, गिट्टी खनाउने ट्रकसहितका इक्विपमेन्ट प्रयोगमा आयो ।

टर्किस एयरबाट कुनै डिस्टर्ब भएन । उहाँहरुसँग निकै राम्रो कोअर्डिनेसन भयो । यहाँका प्रतिनिधिहरुले सहयोग गरेका हुन् ।

त्रिभुवन विमानस्थल कार्यालय टर्मिनल व्यवस्थापन विभागका प्रमुख सिटौलासँग सुरेश भुसाल र नविन अर्यालले गरेको कुराकानीको सम्पादित अंश ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment